नेपाली गल्फ प्रशिक्षक विश्वकै उत्कृष्ट ५० मा

खबर खुराक
खबर खुराक २२ पुष २०७९, शुक्रबार
2 Min Read
Aa

काठमाडौं । नेपालका व्यवसायिक गल्फर सचिनप्रसाद भट्टराईलाई विश्व गल्फ टिचर्स महासंघ (डब्लूजीटीएफ) ले २०२२/२३ को उत्कृष्ट गल्फ प्रशिक्षकको सूचीमा राखेको छ ।

डब्लूजीटीएफले व्यवसायिक रुपमा गल्फ सिकाउनेहरूको सुचिकृत गरेको हो । उनीहरूको शिक्षण कौशल र उपलब्धिहरूका आधारमा सुचिकृत गरिएको डब्लूजीटीएफले जनाएको छ । संयुक्त राज्य अमेरिकाको गल्फ टिचिङ फेडेरेसनबाट मास्टर सर्टिफिकेट हासिल गरेका भट्टराई सन् २०२०/२१ को सूचीमा शीर्ष १०० भित्र पर्न सफल भएका थिए ।

लामोसमय गल्फमा बिताएका उनले ठूलो सफलता हात पार्न सफल भएका छन् । उनको सफलताको पछाडी धेरै ठूलो संघर्ष भने जोडिएको छ । सानो उमेरमा नै गल्फसँग जोडिएका भट्टराईको पहिलो भूमिका भने फरक थियो । उनी सिधै गल्फ खेल्न भनेर गल्फसँग जोडिएका भने होइनन् । गल्फप्रतिको उनको नाता ‘ब्राउन ब्वाई’का रुपमा जोडिएको थियो ।

‘ब्राउन ब्वाइ’का रुपमा सुरु भएको भट्टराईको गल्फ करियर हाल विश्व गल्फ टिचर महासंघको सन् २०२२/२०२३ को शीर्ष ५० गल्फ प्रशिक्षकको सूचीमा समावेश छन् ।

भट्टराईको ‘ब्राउन ब्वाइ’को भूमिका एक वर्षमै परिवर्तन भयो । उनी क्याडी अर्थात् गल्फ खेलाडीको सहयोगीको रुपमा उसका खेल सामग्री बोकेर सघाउने काममा जोडिन पुगे । ‘ब्राउन ब्वाइ’को भूमिकामा भन्दा क्याडीको भूमिका केही फरक छ । क्याडीहरु खेलाडी र खेलको नजिक हुन्छन् । उनीहरुलाई खेलको विषयमा धेरै जानकारी हुन्छ ।

त्यसले गर्दा भट्टराईको गल्फप्रतिको आकर्षण झनै बढ्दै गएको थियो । उनलाई बल प्रहार गर्ने तरिकादेखि लिएर खेल्ने नियमहरूको पनि राम्रो जानकारी हुन थाल्यो । त्यसपछि गल्फतिर नै आफ्नो भविष्य देख्न थालेका थिए ।

क्याडीको रुपमा काम गरेको केही समयपछि भट्टराईले गल्फ खेल्न थाले । क्याडीहरूको प्रतियोगितामा सहभागी भए । प्रतियोगितामा भट्टराई उत्कृष्ट ठहरिए । उनले सन् १९९८ देखि एमेच्योर खेलाडीका रुपमा गल्फ खेल्न थाले ।

त्यसपछि विस्तारै भट्टराईको नजर व्यावसायिक खेलमा गयो । उनी सन् १९९९ देखि व्यावसायिक खेलाडीका रुपमा खेल्न थाले । भट्टराईले सन् २०१४ मा टिचिङ फेडेरेसनबाट मास्टर्स उपाधि हासिल गरेका छन् । भट्टराईको प्रशिक्षणमा हुर्किएकी प्रतिमा शेर्पा सफलता सबैका सामु छर्लङ्ग छ । प्रतिमा सन् २०२० मा फोर्ब्स म्यागेजिनको ३० वर्षमुनिका एसियाका प्रभावशालीहरुको सूचीमा पर्न सफल भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्