आगन बहुउद्देश्यीय सहकारीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

मिलन विश्वकर्मा
मिलन विश्वकर्मा २३ पुष २०७९, शनिबार
3 Min Read
Aa

पाल्पा, २३ पुस । आगन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तानसेन पाल्पाको तेस्रो वार्षिक साधारणसभा शनिबार तानसेनमा सम्पन्न भएको छ ।

सभामा प्रमुख अतिथि जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भूपति पाण्डेले छोटो समयमा आगन बहुउद्देश्यीय सहकारी संस्थाले प्रगति गरेको भन्दै प्रशंसा गर्नुभयो । यस सहकारीले शेयर सदस्यको हितलाई मध्यनजर गरेर काम गरेको छ । बजारको भीडमा सुपथ पसल सञ्चालन गरेर गुणस्तरीय सामग्री सस्तो मुल्यमा उपभोक्तालाई उपलब्ध गराउँदै आएको छ । यो उदाहरणीय काम भएको उहाँले बताउनुभयो । नाफामुखी नभइ सेवामुखी काम गर्दै आएका यस्ता सहरकारीलाई सरकारले आवश्यकताअनुसार सहयोग गर्नुपर्छ । जिल्ला सहकारीले सक्दो सहयोग गर्ने पाण्डेले बताउनुभयो ।

विशिष्ट अतिथि तानसेन नगरपालिकाका वरिष्ठ अधिकृत भरत आचार्यले सहकारीले न्यूनस्तरका परिवारलाई लगानी गरेर आर्थिकोपार्जनमा सहयोग गर्नुपर्ने बताउनुभयो । यस सहकारीसँग विगत वर्षमा नगरपालिकाले सहकार्य गरेका भन्दै उहाँले आगामी दिनमा पनि सहयोग र सहकार्यलाई निरन्तरता दिनेबारे आफूले पहल गर्ने उहाँले बताउनुभयो ।

विशिष्ट अतिथि टीकाराम बस्यालले जनताको हित हुने गरी सहकारीले काम गर्नुपर्ने बताउनुभयो । आगन सहकारी कम आयस्तर भएका मानिसका लागि घरकै आगनजस्तो छ । उनीहरुको जीवनस्तर उकास्नेगरी व्यवहारमै प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्न उहाँले सुझाउनु भयो । सहकारीबाट लगेको ऋणको सही सदुपयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

सहकारीका अध्यक्ष भीमलाल भट्टराईले आगन सहकारीले शेयर सदस्यको सुझाव सल्लाह लिएर नै गतिविधि सञ्चालन गरिरहेको बताउनुभयो । यसमा आवद्ध शेयर सदस्यलाई स्वरोजगार बनाउनेगरी ऋण लगानी गर्ने योजना बनाएर अगाडि बढेको उहाँले बताउनुभयो ।

उपाध्यक्ष गोपाल प्रसाद बस्यालले सहकारीले शेयर सदस्यको हित विपरित काम नगर्ने बताउनुभयो । सहकारीले सञ्चालन गरेको सुपथ पसललाई थप व्यवस्थित गरी आगामी दिनमा सबै शेयर सदस्यको मागअनुसार खाद्यवस्तु घरघरमै पु¥याउने योजना बनाएर अगाडि बढेको उहाँले बताउनुभयो ।

संस्थाका अध्यक्ष भीमलाल भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधिमा निर्वाचित हुनुभएका यस संस्थाका सह–सचिव लक्ष्मी पाण्डे, सदस्य रामप्रसाद भट्टराई, शेयर सदस्य सुनिता श्रेष्ठलाई सम्मान गरिएको थियो ।

उपाध्यक्ष गोपाल प्रसाद बस्यालले स्वागत गर्नुभएको कार्यक्रममा सचिव मिलन विश्वकर्माले सञ्चालन गर्नुभएको थियो ।

यसैबीच आजै सम्पन्न बन्दसत्रको बैठकले अध्यक्ष भीमलाल भट्टराईले पेस गर्नुभएको वार्षिक प्रगति प्रतिवेदन, कोषाध्यक्ष अम्बिका पाण्डेले पेस गर्नुभएको आर्थिक प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक भविन्द्र गौतमले पेस गर्नुभएको आन्तरिक लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ ।

बन्दसत्र अध्यक्ष मण्डलका अध्यक्ष तथा यस संस्थाका कानुनी सल्लाहकार घनस्याम भट्टराईको अध्यक्षता र शेयर सदस्य भरत आचार्यको सहजीकरणमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्