मह बेचेर वर्षिक ३५ लाख आम्दानी

खबर खुराक
खबर खुराक २४ पुष २०७९, आईतवार
3 Min Read
Aa

पर्वत ।  घर वरिपरि मौरीका घारैघार । घरअघि ठूलो सुन्तलाको बगैँचा छ । बिहानै उठेदेखि साँझ नपरुन्जेल तीनै मौरीका घारको हेरचाह गर्ने मोदी–२ देउपुरस्थित कोरुङ्गाका टीकाराम तिमिल्सिनाको दिनचर्या हो ।

परिश्रम र मेहेनत गर्ने हो भने गाउँमै बसेर पनि लाखौँ रुपैयाँ आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण उनले देखाएका छन् । विगत दुई दशकदेखि व्यावसायिकरूपमा मौरीपालन व्यावसाय गर्दै आएका कृषक तिमिल्सिनाले मह उत्पादन गरेर वार्षिक रु ३५ लाखसम्म आम्दानी गर्दै आएको छ । उनको घरमा अहिले एक सयभन्दा बढी  मौरीका घार छन् भने ‘सिजन’मा यसको सङ्ख्या अझै थपिने गर्दछ ।

उनले ‘एपि सेरेना’ जातको मौरी पालनबाट मनग्य कमाइ गर्न सफल भएको बताए । सुरुका केही वर्ष चिसोका कारण ५० प्रतिशत घाटा व्यहोरेका किसान तिमिल्सिनाले पछिल्ला वर्ष सोचेजति नै आम्दानी हुने गरेको जानकारी दिए । उनले वर्षमा दुईपटक मह निकाल्ने गरेका छन् । विसं २०५७ बाट व्यावसायिक माहुरीपालन गर्न थालेका कृषक तिमिल्सिनाको मुख्य आम्दानी यही नै हो ।

उनले उत्पादन गरेको मह धेरै मात्रामा घरबाटै बिक्री हुने गरेको छ भने काठमाडौँ, चितवन, बुटवललगायत बजारमा ब्रान्ड बनिसकेको छ । तिमिल्सिना जिल्लाकै नमूना मौरीपालक किसान हुन् । उनले गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुन्छ । उनले भने, “कुश्माबजार, बागलुङ, काठमाडौँ, पोखरा र बुटवललगायतका क्षेत्रबाट पनि व्यवसायी घरमै आएर लैजाने गरेका छन् ।”

विभिन्न संस्थाको सहयोगमा तालिम लिएपछि तिमिल्सिना मौरीपालनमा हौसिनुभएको थियो । उनले महमात्र बिक्री गर्नुहुँदैन मौरीको घार र गोलासमेत बिक्री गर्ने गर्छन्। मौरीसहितको घार बिक्रीबाट बर्सेनि रु २० लाखभन्दा बढी आम्दानी हुन्छ उनले भने । उनको व्यवसायमा श्रीमती र छोराछोरीले समेत सहयोग गर्ने गरेका छन् । उनले वर्षमा  तीन सय घारसम्म बिक्री गर्ने गरेका छन् । मौरीसहितका घार प्रतिगोटा रु नौ हजार र मह प्रतिकिलो रु एक हजारमा बिक्री गर्दै आएको उनले बताए । विभिन्न पालिकाले अनुदानमा वितरण गर्ने घार र मौरीको स्रोतसमेत तिमिल्सिनाको फार्म बनेको छ । उनले एक सिजनामा सात क्विन्टलभन्दा बढी मह काढ्दै आएको अनुभव सुनाए ।

प्रतिक्रिया दिनुहोस्