काठमाडौं । प्रदेश नम्बर–१ मा नेकपा (एमाले) नेतृत्वको सरकार बन्ने निश्चितजस्तै देखिएको छ । केन्द्रीय गठबन्धनजस्तै त्यहाँ एमाले, नेकपा (माओवादी केन्द्र)लगायत दलहरू मिलेर सरकार बनाउन लागेका हुन् ।
प्रदेश–१ सभामा एमाले सबैभन्दा ठूलो शक्ति हो । एमालेका ४० प्रदेशसभा सदस्य छन् । त्यहाँ कांग्रेस दोस्रो दल हो । कांग्रेसका २९ सांसद छन् ।
प्रदेश–१ मा माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ६, नेकपा (एकीकृत समाजवादी)का चार र जनता समाजवादी पार्टी (जसपा)का एक प्रदेशसभा सदस्य छन् ।
९३ सदस्यीय प्रदेशसभामा बहुमतको सरकार बनाउन ४७ सांसद आवश्यक पर्छ । त्यहाँ एमाले नेतृत्वको गठबन्धनमा ६० सांसद देखिन्छ ।
मुख्यमन्त्रीका लागि दलहरूको आ–आफ्नै दाबी थियो । तर, केन्द्रको निर्देशानुसार एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको स्रोतले जानकारी दियो । कार्की एमाले स्थायी कमिटी सदस्य समेत हुन् ।
माओवादी केन्द्रबाट मुख्यमन्त्रीका दाबेदार रहेका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले एमाले नेतृत्वमा सरकार बन्ने बताए । “मोटामोटी सहमति एमालेको नेतृत्वमा सरकार बन्ने भएको छ । माथिबाट लिखित गर्न मात्र बाँकी छ,” उनले बाह्रखरीसँग भने ।
प्रदेश–१ मा आज बेलुका ५ बजेभित्र सरकार गठनका लागि दाबी पेस गर्न दलहरूलाई समय तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस्