माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदरबारमा जारी

खबर खुराक
खबर खुराक २५ पुष २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं : नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ। सोमबार दिउँसो प्रतिनिधि सभाको पहिलो बैठक बस्नु अगाडि संसदीय दलको बैठक बसेको हो।

एमालेसहितका दलको सहयोगमा माओवादी केन्द्र संसदीय दलको नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रधानमन्त्री बनेका छन्। माओवादीले संसदीय दलको नेता उपनेता चयन गर्न बाँकी रहेको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको समर्थनमा तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन्। नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम मंगलबार प्रचण्डले विश्वासको मत लिँदैछन्।

२ सय ७५ रहेको प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ चाहिन्छ। प्रचण्डलाई १६९ भन्दा बढी सांसदको समर्थन रहेको छ। नयाँ सत्ता गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका छन्।

 नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज दिउँसो १ बजे प्रतिनिधिसभाको पहिलो अधिवेशनको पहिलो बैठक बस्न लागेको हो। बैठकमा संघीय संसद्को अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाइनेछ। त्यसैगरी शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची छ।

प्रतिक्रिया दिनुहोस्