लुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसायी संघको साधारण सभा : सामुहिक कृषि र व्यवसायिकतामा जोड

खबर खुराक
खबर खुराक २५ पुष २०७९, सोमबार
5 Min Read
Aa

बुटवल । लुम्बिनी फलफुल तथा तरकारी थोक व्यवसायी संघ रुपन्देहीको १६ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन बुटवलमा भएको छ । साधारण सभाको शुभारम्भ गर्दै प्रमुख बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले कृषि क्षेत्रको विकास विना आर्थिक विकास सम्भव नभएको भन्दै अव सामुहिक कृषि खेती आवश्यक रहेको बताए । उनले कृषि क्षेत्रमा लाग्ने युवा पुस्ताको अभाव विस्तारै कमी हुदै गएको भन्दै अव सामुहिक, सामुदायिक व्यवसायी चक्लाबन्दीमा कृषि प्रणाली अबलम्बन गर्नुको विकल्प नभएको बताए ।

बुटवल उपमहानगरपालिकाले कृषि क्षेत्रलाई प्राथमीकिरण गरेर अगाडि बढेको बताउँदै नगर प्रमुख पाण्डेयले सामुहिक कृषि कर्म, व्यवसायिक कृषि योजानमा नगरपालिकाले जहिलेपनि हातेमालो गर्ने बताए । उनले यसको लागि प्रदेश सरकार वा संघीय सरकारसंगको सहकार्यका लागि पहल गर्न नगरपालिका जहिले पनि तयार रहेको बताएका थिए । बुटवल उपमहानगरपालिकाको पहलमा बुटवल कृषि उपज थोक बजार केन्द्र स्थापना गरी व्यवसायी, नगरपालिका र संघीय सरकारको सह लगानीमा स्थापना भएको बजारको आवश्यकता भन्दा सानो भएको भन्दै उनले नगरको पहलमा बुटवल उपमहानगरपालिका वडा नम्बर १५ कर्साघाट क्षेत्रमा बहुउदेश्यीय कृषि बजार स्थापना अन्तिम चरणको रहेको उनले बताए । यसको लागि स्थानीय तह वडा कार्यालय लगायतबाट समन्वय भई वन क्षेत्रको जग्गा पर्ने भएको कारण विभागीय निर्णयको लागि संघीय सरकारमा पहल भैरहेको नगर प्रमुख पाण्डेयको भनाई रहेको छ । अहिले सञ्चालनमा रहेको बुटवल कृषि उपज थोक बजार केन्द्र बजारमाग भन्दा सानो भएको भन्दै उनले बैकल्पिक व्यवस्था नभएसम्मको लागि व्यवसायीहरु यहाँबाट विस्तापित हुन नपर्ने समेत प्रतिवद्धता जनाए । ‘मेरो कार्यकाल भरीमा बैंकल्पिक व्यवस्था नभएसम्मको लागि यहाँबाट व्यवसायीहरु विस्तापित हुनु पर्दैन, मेरो प्रतिवद्धता भयो’– प्रमुख पाण्डेयले भने ।

बुटवलमा पछिल्लो समयमा ठेला व्यवस्थापन, अव्यवस्थित रुपमा रहेका ई–रिक्सा व्यवस्थापनको काम अहिले पनि जारी रहेको भन्दै उनले सफा, सुन्दर र देशकै नमुना नगर बनाउनको लागि सबैले अभियानलाई साथ दिनुपर्ने बताएका थिए । कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कर्मसका लुम्बिनी प्रदेश अध्यक्ष टंक प्रसाद पराजुलीले व्यवसायिक हितका लागि व्यवसायिक संघ संस्थाको विचमा सहकार्य जरुरी रहेको बताए । उनले लुम्बिनी फलफुल तरकारी थोक व्यवसायी संघले व्यवसायिक हितका साथै सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहेको भन्दै उनले सामाजिक क्षेत्रमा समेत व्यवसायिक संघ संस्थाले गरेको कार्य उत्कृष्ट रहेको बताएका थिए । बुटवल उद्योग बाणिज्य संघका महासचिव विमलाराज भट्टराईले पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाको नीतिगत व्यवस्थाको कारण व्यवसायीहरु आजित भैरहेको बताए । उनले यसको लागि संघीय सरकार, प्रदेश सरकार स्थानीय तहले समेत विशेष ख्याल गर्नुपर्ने बताएका थिए ।

बुटवल उपमहानगरपालिका वडा नम्बर ६ का अध्यक्ष लोकराज न्यौपाने, उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष समुन्द्र जिसी, बुटवल कृषि उपज थोक बजार सञ्चालक समितिका अध्यक्ष तथा संघका संस्थापक अध्यक्ष गोपाल भुषाल, संघका निर्वतनमा अध्यक्ष केशव कुँवर, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, बुटवल थोक बजारका व्यवस्थापक राम बहादुर खत्री, लुम्बिनी च्याउ उत्पादक किसान संघका ऋषव पोखरेल, लुम्बिनी सामाजिक संस्था नेपालका संयोजक राकेश पाण्डे लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा संस्थाले गरेको बार्षिक कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गर्दै संघका अध्यक्ष बाबुराम भुषालले कृषि क्षेत्रको विकासका लागि व्यवसायीहरुले नै कृषि क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताएका थिए । कोभिड पश्चात अर्थतन्त्रमा आएको मन्दीको सिकार व्यवसायी उद्योगीहरु भएको भन्दै उनले आर्थिक क्षेत्र चलायमान बनाउनको लागि संघ, प्रदेश र स्थानीय तहको पहल जरुरी रहेको बताएका थिए । संघका महासचिव मेघनाथ पौडेलले महासचिवको प्रतिवेदन प्रस्तुत गर्दै विभिन्न संघ संस्थाको संमन्वयबाट संस्थाले काम गरिरहेको बताउँदै आगामी दिनमा पनि सामाजिक क्षेत्रमा संस्था क्रियाशिल हुनुपर्ने धारणा राखेका थिए ।

साधारण सभा तथा अधिवेसनको अवसरमा विभिन्न किसानहरुलाई फलफुलको विरुवा समेत वितरण गरिएको थियो । मदनपोखरा कृषक समुहका हिमलाल पोखरेल, गैडहवा कृषक समुहका रामलखन लोध, बुटवल जैविक का गोपाल पौडेल, सिद्धबाबा कृषक समुहका सावित्रा रेग्मीलाई फलफुलको विरुवा वितरण गरिएको हो ।

पत्रकार खनालसहित विभिन्न व्यक्तीहरु सम्मानित

संघका प्रेस सल्लहकार तथा बुटवल टुडे दैनिकका उप सम्पादक कृष्ण खनाल, कानूनी सल्लाहकार कृष्ण प्रसाद पाण्डे सहित मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी सहित विभिन्न व्याक्तित्वलाई सम्मान गरिएको थियो । संस्थाले गरेको आर्थिक गतिविधीको विषयमा कोषाध्यक्ष मनिष कुमार वर्णवालले प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभा तथा अधवेसनबाट नयाँ नेतृत्व समेत चयन हुदै छ ।

प्रतिक्रिया दिनुहोस्