भ्रष्टाचारी र अपराधी जोगाउन दबाब नदिनूहोला : रवि लामिछाने

खबर खुराक
खबर खुराक २५ पुष २०७९, सोमबार
5 Min Read
Aa

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मुलुकमा कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारबारे सरकार निर्मम ढंगले प्रस्तुत हुने बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले भ्रष्टाचार र आपराधिक गतिविधिमा संलग्नहरुलाई छुटाउनका लागि कुनै पनि दबाब र प्रभाव पार्नेगरी दबाब नदिन पनि आग्रह गरे ।

उनले आफू र आफ्नो दलमा सम्वद्ध सांसदहरुले भ्रष्टाचारलगायतका नागरिकहरुलाई दुःख दिने कुनै पनि काम नगर्ने र गरिहाले उनीहरुमाथि कडा कारबाही गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

वर्तमान सरकारको आफ्नो कार्यकाल सफल हुने र त्यसलाई सफल बनाउनका लागि आफू र आफ्नो पार्टीले इमान्दारिताका साथ योगदान पुर्‍याउने दावीसमेत गरे  ।

उपप्रधानमन्त्री लामिछानेले आफू र आफ्नो दलले गल्ती गरे पदमा टाँसिएर बसिरहने पक्षमा नरहेको पनि पटकपटक दोहोर्‍याए ।

सरकार गठनका बेला सत्तासाझेदार एमाले र माओवादी नेतृत्वबाट आएको प्रतिवद्धताबाट आफूहरु हौसिएको उल्लेख त्यसलाई पालना गरेर सर्वसाधारणको जीवनमा परिवर्तन ल्याउन नसकिए सरकारबाट आफ्नो पार्टी बाहिरिने उनको भनाई थियो ।

उपप्रधानमन्त्री लामिछानेले आफ्नो पार्टीले आम नागरिकको आशाको दियोलाई निभ्न नदिने दृढता समेत व्यक्त गरे ।

“सरकारका प्राथमिकताहरुलाई मध्यनजर गर्दै आफूले सम्हालेको मन्त्रालयमा केही कामहरुको सुरुवात भइसकेका छन् । जसले आम जनजीवनलाई सकारात्मक प्रभाव पार्नेछ,” उनले भने, “यस सम्मानित संसदमा गृह मन्त्रालय सम्हालेको एक जिम्मेवार मन्त्रीको रुपमा पनि र सांसदको रुपमा पनि र जनप्रतिनिधिको रुपमा पनि एउटा कुरा मैले भन्नै पर्ने हुन्छ कि हामी जनप्रतिनिधिहरु यदि जिम्मेवार हुन सक्यौँ भने सरकारलाई आफ्नो न्यूनतम साझा कार्यक्रम पूरा गर्न निकै ठूलो मद्दत पुग्नेछ । हामीले सुन्नुपर्ने आम सर्वसाधारणको गुनासो हो । हामीले थाहा पाउनुपर्ने आम सर्वसाधारणको पीरमर्का हो । हामीले हल गर्नुपर्ने समस्या आम सर्वसाधारणके  हो । तर आमी आफ्नै समस्याहरुमा, पीरमर्काहरुमा अल्झियौं, आफ्नै तानातानीमा अल्झियौ र ठूलो संख्यामा नागरिकहरु त्यसबाट छुटने अवस्था नहोस भन्नका लागि यहाँहरुमाझ म आग्रह गर्न चाहन्छु–कुनै पनि भ्रष्टाचारको विषयमा भएको छानवीन वा अनुसन्धानमा यहाँहरुले प्रभाव नपारी दिनुहोला । कुनै पनि अपराधिक गतिविधिमा यदि छानवीन भईरहेको छ भने त्यसलाई प्रभाव पार्नको निमित्त आफ्ना मान्छेहरु छुटाउनु प¥यो भन्ने किसिमका दवाव सृजना नगरिदिनु होला । यदि जे हो त्यही गर्ने, नीति, नियमलाई पालना गर्ने, ल एण्ड अर्डरलाई पालना गर्ने हो भने त्यसको सूरुवात यो गरिमामय संसदमा उपस्थित हामी सबैबाट हुनु पर्दछ । र, म छातीमा हात राखेर यो गरिमामय संसदमा भन्न चाहन्छु–म र म सम्वद्ध दलका कुनै पनि प्रतिनिधिहरुबाट, सांसदहरुबाट कुनै पनि किसिमको अनियमितता हुने छैन ।”

राजनीतिक दलहरुले अर्को राजनीतिक दललाई गरेको विश्वासको रुपमा मात्र होइन, सरकार बनाउनका लागि जोडिएको हिसाबमात्रै होइन, यो हिसाव नेपाली जनताले खोज्ने बताए ।

“शीर्ष नेताज्यूहरुबाट जुन वचनवद्धता आएको छ । यो बचनवद्धताले काम गर्नेछ । र, नेपाली नागरिकले महसुस गर्न सक्नेगरी सरकार अगाडि बढन सक्नेछ,” उनले भने, “यस अर्थमा सरकारमा हाम्रो सहभागिता त्यस अर्थमा रहेको छ । हाम्रो तर्फबाट यो प्रतिवद्धतामा कुनै कमीकमजोरी आएको खण्डमा सरकारमा, लोभमा वा पदमा टाँसिरहने छैनौं । यो बाचा पनि म सम्माननीय प्रधानमन्त्रीज्यूलाई यही रोष्टमबाट गराउन चाहन्छु । हामी आफ्नो कर्तव्य पूरा गर्ने शिलशिलामा कहीँकतै चुक्यौ भने पद र कुर्सीको लोभमा झुण्डिने छैनौं । यसमा यहाँहरु निर्धक्क हुनुहोला । सत्ता साझेदार दलहरुलाई म यो बाचा पनि गर्न चाहन्छु । अन्त्यमा, गरिमामय यो संसदमा आउनुको पछाडि आम सर्वसाधारण नागरिकहरुको अपेक्षा छ, माया छ । विश्वास छ । त्यो विश्वासको दियोलाई हामी कहिल्यै निभ्न दिने छैनौं, चाहे जतिसुकै ठूलो आँधिहुरी आओस् । त्यो दियोलाई बाली राख्ने छौं । जोगाई राख्नेछौं ।”

उपप्रधानमन्त्री लामिछानेले जनमतलाई सम्मान गरेर आफ्नो पार्टी सरकारमा सहभागी भएको बताए ।

जनमत अनुसार सरकार बनेको र जनताको अपेक्षाअनुसार काम हुने गरी सरकारले केही दिनमै साझा न्यूनतम कार्यक्रम ल्याउने तयारी गरिरहेको उनको भनाई थियो ।

उपप्रधानमन्त्री लामिछानेले जनमतको सम्मान गर्दै आफूहरु सरकारमा गएको र उनीहरुसँग गरिएको बाचा पूरा गर्न लागिपर्ने समेत बताए ।

उनले भने, “पार्टीको रुपमा एउटा नयाँ पार्टीको उदय नेपालको राजनीतिक इतिहासमा त्यति ठूलो कुरा होइन होला । तर जुन समयावधिभित्र हामीले विश्वास प्राप्त गरेका छौं । त्यो विश्वास एउटा दललाई अथवा त्यस दलका कुनै उमेदवारलाई कसैले दिएको मत मात्रै होइन । अब यो मुलुकमा परिवर्तन आवश्यक छ भन्ने र नेपाली जनताहरुले ब्यूँताएका घण्टीको ध्वनि हो । यो ध्वनिलाई सम्मानित संसदले सुन्ने छ, सिंगो देशले सुन्नेछ ।”

लामिछानेले जनताको चाहना अनुसार सरकारलाई अघि बढाउन रचनात्मक सुझाव दिन प्रतिपक्ष दलहरुलाई पनि आग्रह गरे ।

उनले जनताको अपेक्षाअनुसार काम नभए मुलुकमा निराशा छाउने भएकाले त्यसो हुन नदिन संसद र सबै राजनीतिक दलहरु सचेत रहनुपर्ने बताए ।

उपप्रधानमन्त्री लामिछानेले नेपाली जनताले विगतमा भएको बेथितिबाट मुक्ति चाहेकाले सरकार त्यसको अन्त्य गर्न लागि परेको बताए ।

प्रतिक्रिया दिनुहोस्