पब्जी मोबाइलमा व्यावसायिकता भित्र्याउने डीआरएसको च्याम्पियन

खबर खुराक
खबर खुराक २६ पुष २०७९, मंगलवार
11 Min Read
Aa

२५ पुस, काठमाडौं । विश्वमै उदाउँदो खेल विधा इस्पोर्टसअन्तर्गत सबैभन्दा लोकप्रिय मोबाइल पब्जीमा नेपालको एउटा टिमले ऐतिहासिक सफलता दिएको छ । नेपालको डीआरएस गेमिङ आइतबार सम्पन्न पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी)मा उपविजेता बन्दा विश्वभरका उत्कृष्ट ४९ टिमलाई पछि पारेको हो ।

व्यावसायिक खेलकुद टिमका रुपमा स्थापित भएयता तेस्रोपल्ट पीएमजीसी खेलेर पहिलोपल्ट फाइनलमा पुगेको डीआरएसले यसपल्ट आफूलाई च्याम्पियन शैलीमा प्रस्तुत गर्‍यो । दक्षिण एसियाली छनोट र अन्य क्षेत्रीय विजेताहरुसँग अर्को छनोट पार गरेपछि पीएमजीसीको समूह चरण खेल्न पाइन्छ ।

डीआरएस गेमिङका सुविन भण्डारी (रुल्ज), दीपेश गुरुङ (डेल्टा), साहस भण्डारी (किलर वाईटी) र समीर गुरुङ (ग्यान्टे) सम्मिलित टिमले इण्डोनेसियाको जाकार्तामा भएको फाइनल प्रतिस्पर्धामा सुरुवातदेखि नै शानदार प्रदर्शन गरेका थिए । फाइनल चरणमा पुगेका १६ टिमबीच १८ चरणमा प्रतिस्पर्धा गराइएको थियो । डीआरएसले पहिलो र दशौं चरण जितेर चिकेन डिनर पाएको थियो ।

शुक्रबारदेखि आइतबारसम्म चलेको फाइनलमा एक दिन ६ चरणका खेल हुने गरेको थियो । निर्णायक दिन आइतबार सुरुवाती ३ चरणको समाप्ती अर्थात् १५ चरण सकिँदासम्म डीआरएस चौथो स्थानमा थियो । १६ र १७ औं चरणमा प्रदर्शन सुधार हुँदा दोस्रो स्थानमा पुग्यो । तर, अन्तिम चरणको प्रदर्शन सशक्त बन्न नसक्दा डीआरएस टिम विश्व च्याम्पियन हुन चुकेको हो ।

‘हामीले फाइनल चरणमा पुगिसकेपछि शीर्ष पाँचभित्रको लक्ष्य राखेका थियौं । यो हाम्रा लागि नसोचेको सफलता हो । हामी दक्षिण एसियामै सबैभन्दा सफल टिम भएका छौं,’ डीआरएस गेमिङका सह–संस्थापक तथा सीईओ भिक्टर पौडेलले अनलाइनखबरसँग भने, ‘यसको सबै श्रेय हाम्रा च्याम्पियन खेलाडीहरुलाई जान्छ ।’

यसपल्ट दक्षिण एसियाली छनोट पार गरी पीएसजीसी खेल्ने डीआरएस मात्र एक्लो टिम थिएन । ट्रेन्ड टू किल (टीटूके) र स्काइ लाइट्जले पनि समूह चरण खेलेका थिए । गत नोभेम्बर÷डिसेम्बरमा मलेसियामा सञ्चालित समूह चरणको खेलमा यल्लो समूहमा परेको टीटूके शीर्ष तीनभित्र रहेर सिधै फाइनलका लागि छनोट भएको थियो । शीर्ष तीनभित्र पर्न नसक्दा रेड समूहमा रहेको डीआरएस (छैटौं स्थान) र ग्रीन समूहमा रहेको स्काइ लाइट्ज (नवौं स्थान)ले भने सर्भाइभल चरण खेल्नुपर्‍यो ।

१६ टिम रहेको समूहमा चौथोदेखि ११औं स्थानमा रहने टिमले सर्भाइभल चरण खेल्नुपर्ने थियो । सर्भाइभल चरणमा रहेका २४ टिमबीच शीर्ष १६ टिमलाई लास्ट चान्समा लगियो । यसपल्ट स्काइ लाइट्ज असफल रह्यो भने डीआरएस सातौं हुँदै अर्को चरणमा पुग्यो । लास्ट चान्समा रहेका १६ मध्ये पाँच टिमले फाइनल खेल्न पाउने नियम थियो । डीआरएस चौथो भयो ।

सीईओ पौडेलका अनुसार समूह चरणमा शीर्ष तीनभित्र नपर्नु डीआरएसका लागि फाइदा भयो । खेलाडीहरुले पर्याप्त म्याच एक्स्पोजर पाएपछि फाइनल चरणमा खेल्दा एकअर्कालाई बुझ्न सजिलो भएको उनको भनाइ छ ।

‘हामी टिम अनुभवी भए पनि चारैजना खेलाडीसँग यसअघि पीएमजीसी खेलेको अनुभव थिएन । समूह चरणपछि सर्भाइभल र लास्ट चान्स गरी हामीले धेरै खेल खेल्न पायौं,’ पौडेल भन्छन्, ‘तपाईंले रिजल्ट हेर्नुभयो भने पनि सिधै फाइनलमा पुग्ने टिमको प्रदर्शन खस्किएको देखिन्छ ।’

उपविजेता बनेसँगै डीआरएसले २ लाख ९२ हजार अमेरिकी डलर कुल पुरस्कार पाएको छ । यो प्रतियोगिताको कुल पुरस्कार राशी नै ४० लाख डलरको थियोे ।

फाइनल चरणमा राम्रो प्रदर्शन गर्न चुकेको नेपालको अर्को टिम टीटूके पीएमजीसीमा १३औं भयो । उसले कुल १ लाख ३२ हजार ५०० अमेरिकी डलर पुरस्कार पाएको छ । यो टिमका एक प्रमुख खेलाडी सन्देश प्रधानले ग्रिनेट मास्टरको व्यक्तिगत अवार्ड पाए । प्रतिस्पर्धामा धेरै ग्रिनेट प्रयोग गरेर पाइने यो व्यक्तिगत अवार्डका लागि नगद पुरस्कार भने थिएन ।

व्यावसायिकताको सुरुवात

द रियल सोल्जर्स (डीआरएस) । सन् २०१८ मा मोबाइल पब्जी खेल सार्वजनिक भएलगत्तै हङकङमा बस्ने अशेष राईले आफ्नो साथी सर्कलका खेलाडीहरु जम्मा पारेर प्रतियोगिता खेल्न लाग्दा जुरेको नाम हो– डीआरएस ।

सन् २०२० को अगष्टमा डीआरएस गेमिङको नामबाट संस्था दर्ता गर्दा सहसंस्थापकका रुपमा अशेषसँगै भिक्टर पौडेल थपिए । उनी कम्पनीको सीईओको पनि भूमिकामा छन् । संगीन भट्टराई व्यवस्थापकका रुपमा सुरुदेखि नै टिमसँगै छन् ।

नेपालको पब्जीमा व्यावसायिक सुरुवात गर्ने श्रेय पाएको डीआरएसको उडान त्यतिबेलैदेखि सुरु भयो । आइतबार इण्डोनेसियाको जाकार्तामा सम्पन्न पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप (पीएमजीसी)मा नेपालको डीआरएस टिम उपविजेता बन्यो । विश्वस्तरमा यति ठूलो सफलता र लोभलाग्दो पुरस्कार राशीले यतिबेला धेरैको ध्यान तानेको छ । तर, मोबाइल पब्जीका जानकारहरुका लागि भने डीआरएसको सफलता अपेक्षित नै थियो ।

व्यावसायिक रुपमा संस्था दर्ता भएलगत्तै दुईवटा क्षेत्रीय छनोट पार गरी डीआरएसले सन् २०२० मा पहिलोपल्ट पीएमजीसी खेलेको थियो । सन् २०२१ को संस्करणमा पनि नेपालबाट प्रतिनिधित्व गर्ने डीआरएस एक्लो टिम थियो । दुवै संस्करणमा नेपालको यो टिमले समूह चरण पार गर्न सकेन ।

पीएमजीसीका यो संस्करणमा डीआरएससहित नेपालबाट ११ टिमले दक्षिण एसियाली क्षेत्रीय छनोट खेलेका थिए । डीआरएस दक्षिण एसियामा पाँचौं भए पनि दक्षिण एसिया, मंगोलिया र पाकिस्तानी क्षेत्रबीचको प्रो च्याम्पियनसिपमा दोस्रो भएपछि उसले पीएमजीसीका लागि छनोट पाएको हो ।

‘फुटबल/क्रिकेटजस्ता खेललाई अहिलेसम्म मनोरञ्जनकै रुपमा हेर्ने जमात धेरै छ भने इस्पोर्टसलाई स्थापित गर्न त धेरै समय लाग्छ ।’

चुस्त व्यवस्थापन र खेलाडीकेन्द्रित सुविधा

नेपालमा व्यावसायिक इस्पोर्टसको सुत्रधार मानिएको डीआरएसले यसबीचमा केहि उतारचढाव पनि व्यहोर्नुपरेको थियो । विदेशी व्यवस्थापनका अन्य केहि टिमले आफ्ना खेलाडीहरु लगिदिँदा केहि अप्ठेरो परेको थियो ।

व्यवस्थापनको चतुर निर्णय र डीआरएसप्रतिको क्रेजका कारण क्षमतावान खेलाडी भेट्टाउन उनीहरुलाई कठिन भएन । डीआरएसको ब्यानरबाट पीएमजीसी खेल्दा र उपविजेतासम्मको सफलताले डीआरएसलाई नेपालमा एउटा सफल गेमिङ कम्पनीका रुपमा उभ्याएको छ ।

पछिल्लो तीन वर्षदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा नियमित जितिरहेको डीआरएसका खेलाडीले वार्षिक लाखौंको आम्दानी गर्ने गरेका छन् । खेलाडीको सुविधाका लागि मासिक ५ देखि ६ लाख रुपैयाँसम्म खर्च हुने गरेको सीईओ पौडेलले जानकारी दिए ।

‘हामीले खेलाडीको सुविधालाई नै केन्द्रमा राखेका छौं । उनीहरुलाई एउटा छुट्टै घर लिएर बुटक्याम्पमा राखेका छौं । खाने, बस्ने, डाइट सबै व्यवस्थापन चुस्त गरेका छौं,’ पौडेलका अनुसार डीआरएसको बुटक्याम्प ललितपुरको भंैसेपाटीमा छ ।

कम्पनीले विश्व च्याम्पियनसिपको उपविजेता टिमको पारिश्रमिक दोब्बर बनाउने निर्णय गरेको पौडेलले जनाएका छन् । त्यसबाहेक खेलाडीले हरेक अन्तर्राष्ट्रिय तथा स्थानीय प्रतियोगितामा जितेको पुरस्कार रकमको ४० देखि ५० प्रतिशत पाउने सम्झौता गरिएको छ ।

‘राज्यको प्राथमिकता भएन’

बालेन साह काठमाडौं महानगरपालिका प्रमुखमा निर्वाचित भएपछिको पहिलो बजेटमा इस्पोर्टसका लागि १ करोड रुपैयाँ छुट्याउँदा जनस्तरबाट ठूलो विरोध सुनियो । इस्पोर्टसको भविष्य र खर्च बुझेका बालेनले त्यसको औचित्य सबैलाई बुझाउन सकेनन् ।

मार्शल आर्ट, फुटबल र क्रिकेटलाई मात्र खेलका रुपमा देख्ने आम बुझाइमा इस्पोर्टसलाई खेलकुदको मुख्य विधाका रुपमा स्थापित हुन धेरै कठिन छ । तर, डीआरएसको यो सफलता र अन्य टिमहरुको साहसले इस्पोर्टस्को संस्कृति स्थापित गर्न सहज हुने पौडेलको विश्वास छ ।

‘अहिले सामाजिक सञ्जाल हेर्दा इस्पोर्टसलाई चासो नराख्ने समुदायले पनि हामीलाई बधाई दिइरहेका छन् । मोबइल पब्जीको नामबाट इस्पोर्टसले गति लिन खोजेको छ । यो समयमा नेपाल सरकार र निजी क्षेत्रले सहयोग गर्ने हो भने हामीले अझै राम्रो प्रदर्शन गर्नसक्छौं,’ उनले भने ।

डीआरएसका सीईओ पौडेल पीएमजीसीको फाइनल चरणका लागि इण्डोनेसिया पुगेका थिए । त्यहाँ इण्डोनेसियाको सरकारले इस्पोर्टसका लागि गरेको लगानी देख्दा आफ्नो सम्झेर दुःख लागेको उनले सुनाए । पीएमजीसीको उपाधि विजेता एसटूजीलाई पनि टर्की सरकारले ठूलो प्राथमिकतामा राखेको छ । अर्को वर्ष पीएमजीसीको आयोजना त्यहीँ हुँदैछ ।

डीआरएसका सीईओ भिक्टरले राज्य र नेपालको निजी क्षेत्रबाट बैलैमा चासो नभए भविष्यमा विश्वमञ्चमा आफ्नो उपस्थितिका लागि विदेशी कम्पनीहरुसँग सहयोग लिनुपर्ने स्थिति नआओस भन्ने आफूले चाहेको बताए ।

‘यो स्तरमा पुगिसकेपछि हामीलाई पनि कम्पनी सञ्चालन गर्न कठिन हुन्छ । लगानी र खर्च बढ्दै जाँदा अन्तर्राष्ट्रिय एक्स्पोजरका लागि पनि बजेट बढाउनुपर्ने हुन्छ,’ भिक्टरले भने, ‘हामीले अहिले नै केहि विदेशी कम्पनीले सहकार्यको प्रस्ताव गरिसकेका छन् । तर, हामी नेपाल सरकार र नेपालकै निजी कम्पनीहरुको यस्तो प्रस्ताव कुरिरहेका छौं ।’

नेपालको इस्पोर्टसमा यो सफलताको अर्थ ठूलो छ : इस्पोर्टस संघ

नेपालमा खेलिने इस्पोर्टसका विधाहरुमध्ये मोबाइल पब्जी र फ्रिफायर सबैभन्दा लोकप्रिय हुन् । राष्ट्रिय प्रतियोगितामा पनि सयौंको संख्यामा टिमहरु सहभागी हुने गरेका छन् ।

डीआरएसको सफलताले नेपालमा इस्पोर्टस र पब्जीप्रति आम नजरलाई परिवर्तन गर्न सहयोग पुग्ने अपेक्षा नेपाल इस्पोर्टस संघले लिएको छ ।

‘संस्कृति भन्ने कुरा आजको भोलि परिवर्तन हुँदैन । यस्तै सफलताले हामीप्रतिको नजर सकारात्मक बनाउन सहयोग पुग्नेछ,’ नेपाल इस्पोर्टस संघका अध्यक्ष सुरज डंगोलले अनलाइनखबरसँग भने, ‘फुटबल/क्रिकेटजस्ता खेललाई अहिलेसम्म मनोरञ्जनकै रुपमा हेर्ने जमात धेरै छ भने इस्पोर्टसलाई स्थापित गर्न त धेरै समय लाग्छ ।’

आफूहरुले खेलाडीको सुरक्षा र इस्पोर्टसको विस्तारका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने रणनीति सुरु गरेको पनि डंगोलको भनाइ छ । उनले डीआरएसको सफलतालाई विश्वमाझ नेपालको गर्विलो उपस्थितिका रुपमा अर्थ्याए ।

‘यो जितले नेपालका लागिमात्र होइन । समग्र दक्षिण एसियाली क्षेत्रमै ठूलो अर्थ राख्छ । इस्पोर्टसको विकास र विस्तारमा हामीले विश्वमाझ एउटा उपस्थिति देखाउन खोजेका थियौं,’ अध्यक्ष डंगोलले थपे, ‘हाम्रो लक्ष्य पूरा भएजस्तो लागेको छ । इस्पोर्टसका सरोकारवालाबाट धेरै बधाई आइरहेको छ ।’

नेपालमा मोबाइल पब्जी खेल्नेको संख्या ठूलो छ । यसको यकिन तथ्यांक संघसँग पनि छैन । यद्यपी गत साउनमा एसियाली खेलकुदका लागि राष्ट्रिय टिम छनोट हुँदा ९०० टिमले सहभागिता जनाएका थिए । आउँदो भदौमा चीनमा हुने एसियाली खेलकुदका लागि भएको छनोट प्रतियोगिता डीआरएसले नै जितेको थियो ।

‘एसियाली खेलकुदको छनोटमा हामीले अप्रत्यासित रुपमा त्यति धेरै खेलाडीहरु देख्न पाएका थियौं । राष्ट्रिय प्रतियोगिताहरुमा पनि नियमित रुपमा १०० हाराहारीमा टिमको सहभागिता रहने गरेको छ,’ डंगोलले भने ।

सामान्यता नेपालमा दर्जन टिमहरुले व्यावसायिक रुपमा नियमित अभ्यास गर्ने गरेका छन् । प्रतियोगिताको समयमा खेलाडीहरु आफूआफू मिलेर प्रतियोगितामा सहभागी हुने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्