फिल्ड सर्भेका लागि चिनियाँ प्राविधिक र रेल्वे विभागको टोली पुग्यो रसुवागढी

खबर खुराक
खबर खुराक २६ पुष २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौँ — केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययनका लागि आएको चिनियाँ प्राविधिक टोली ‘फिल्ड सर्भे’का लागि रसुवागढी पुगेको छ । चीनबाट आएको टोली रेल्वे विभागका महानिर्देशक रोहित बिसुरालसहितको संयुक्त टोली सर्भेका लागि रसुवागढी पुगेको हो ।

विभागका महानिर्देशक बिसुरालका अनुसार टोलीले स्याफ्रुबेसी, धुन्चे र रसुवागढीलगायतका ठाउँमा सर्भे गर्नेछ । टोलीमा विभागका सूचना अधिकारीसमेत रहेका सिनियर डिभिजनल इन्जिनियर अमन चित्रकारलगायतका अधिकारी पनि सहभागी छन् ।

पुस १२ गते सम्भाव्यता अध्ययनका लागि काठमाडौं आएको टोलीले पहिलो चरणमा फिल्ड सर्भेको काम गर्ने रेल विभागले जनाएको छ । टोलीले तीन हप्तासम्म नेपाल बसेर फिल्ड सर्भे गर्ने छ । त्यसपछि करिब डेढ महिनाका लागि चीन फर्कने छ ।

चीन र नेपालको संयुक्त टोलीले फिल्ड सर्भे गरेर आएपछि सम्भाव्यता अध्ययन प्रक्रिया अगाडि बढाउने सम्बन्धमा छलफल गरिने महानिर्देशक बिसुरालको भनाइ छ । ‘चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युट ग्रुपको ६ जना प्राविधिक टोली सर्भेका लागि आएको हो । प्रारम्भिक अध्ययन अनुसार यसको सम्भाव्यता अध्ययन सक्न ४२ महिना लाग्ने छ’ उनले भने ।

यसअघि गरिएको पूर्वसम्भाव्यता अध्ययनमा प्रारम्भिक विषय मात्र आएकाले अब हुने सम्भाव्यता अध्ययनबाट रेलमार्गको वास्तविक दूरी, लागत, सुरुङ, पुलको उचाइ, स्टेसनलगायत विषय टुंगिने छ । २०७८ चैतमा काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन गर्न दुई देशबीच औपचारिक सहमति भएको थियो । चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका बेला दुई देशका उच्च अधिकारीबीच छिट्टै अध्ययन गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।

त्यसपछि अध्ययनका लागि चिनियाँ टोली आएन । २०७६ असोजमा चीनका राष्ट्रपति सी चिनफिङले गरेको नेपाल भ्रमणका क्रममा सम्भाव्यता अध्ययन सुरु गर्नेबारे सहमति जुटेको थियो । उक्त समयमा रेलमार्गको काम चाँडै सुरु गर्नेबारे दुवै देशका उच्च अधिकारी तयार थिए ।

प्रारम्भिक अध्ययनअनुसार रसुवागढीदेखि काठमाडौंसम्म ७२ किलोमिटर दूरी रहने रेलमार्गमा ९८ प्रतिशत पहाड पर्ने छ । जसलाई छेडेर रेलमार्ग बनाइनेछ । यसको अध्ययन चीनले आफ्नै खर्चले गर्ने छ । उक्त रेलमार्ग निर्माण गर्न २ खर्ब ७१ अर्ब ३६ करोड ८० लाख रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्