विश्वासको मत नदिन कांग्रेसभित्रै दबाब

खबर खुराक
खबर खुराक २६ पुष २०७९, मंगलवार
2 Min Read
Aa

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारलाई विश्वासको मत दिने निर्णय गर्न लागेपछि युवा नेताहरूले विरोध गरेका छन् । देउवा पक्षकै नेताहरूले पनि पार्टी अहिलेको राजनीतिक परिवेशबमोजिम प्रमुख प्रतिपक्षको भूमिकामा रहनु उपयुक्त हुने दाबी गरेका छन् ।

शीर्ष तहमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विश्वासको मत दिन नहुने अडान लिएका छन् भने केन्द्रीय समिति र केन्द्रीय समितिबाहिर रहेका युवा नेताहरूले पनि विश्वासको मत नदिन दबाब बनाएका छन् ।

युवा नेताहरूको दबाबकै कारण मंगलबार बिहान शीर्ष नेताहरूका बीचमा छलफल गरेर संसदीय दलबाट निर्णय गरेर सरकारलाई विश्वासको मत दिने तयारीमा रहेका सभापति देउवाले शीर्ष नेताहरूमाझ सहमति जुटाउन सकेनन् । शीर्ष तहमा सहमति नभएपछि केहीबेरपछि आकस्मिकरुपमा केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ ।

बिहान बसेको पदाधिकारीसहित शीर्ष नेताहरूको बैठकमा सभापति देउवा र उनीपक्षीय पदाधिकारीहरू, नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंहले पनि विश्वासको मत दिनुपर्ने पक्षमा बोलेका थिए । तर बैठकमा महामन्त्री थापा र शर्माले पनि विश्वासको मत दिन नहुने पक्षमा अडान लिए ।

बैठकपछि महामन्त्री शर्माले पार्टीमा विभिन्न विचार हुने कुरा सामान्य भएको बताए । ‘पार्टीमा विभिन्न विचार हुने कुरा स्वाभाविक छ । अहिलेको परिस्थितिमा कुन निर्णय गर्दा पार्टी र देशको अधिकतम हित हुन्छ, हामी त्यहीअनुसार अघि बढ्छौँ,’ उनले भने ।

प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार साँझ सभापति देउवालाई भेट‍ेर विश्वासको मत दिन आग्रह गरेका थिए । त्यसलगत्तै देउवाले विश्वासको मत दिन नेताहरूसँग परामर्श गरेका थिए ।

देउवाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन सकारात्मक रहेको सन्देश दिएलगत्तै कांग्रेसमा त्यसको चर्को विरोध भइरहेको छ । देउवा पक्षकै नेताहरूले त्यसको आलोचना गरिररहेका छन् ।

देउवानिकट केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसले अहिले माओवादी अध्यक्ष दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिनु महाभुल हुने बताए । ‘निर्वाचनअघि मैले ‘गठबन्धन भुल हुन्छ’ भनेको थिएँ । अहिले फेरि भन्दै छु, सरकारलाई कांग्रेसले समर्थन गर्नु महाभुल हुनेछ । संवैधानिक व्यवस्थाभित्र पक्ष र प्रतिपक्षको संवैधानिक प्रावधानको समेत सम्मान गर्नुपर्छ ।’

युवा नेता भुपेन्द्रजंग शाहीले अहिले कांग्रेसले दाहाल सरकारलाई विश्वासको मत दिनु लाचारी र आत्मसमर्पण हुने बताएका छन् । ‘आफ्नो निहित स्वार्थको लागि कांग्रेसको इतिहासलाई प्रचण्डको पाउमा चढाउन खोज्ने लोभी, पापी र ढोंगी नेताहरूको यो फोहोरी राजनीति खेदजनक छ । वर्तमानमा कांग्रेसले सरकारतिर फर्किएर र्‍याल चुहाउनेभन्दा पनि गाउँतिर फर्किएर जनताको सुख-दुःखमा साथ दिनु उपयुक्त हुन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्