‘विमानस्थलप्रति नकारात्मक नबनौं, प्राथमिकतामा बहस गरौं’

खबर खुराक
खबर खुराक २६ पुष २०७९, मंगलवार
6 Min Read
Aa

नेपालमा बढ्दै गइरहेका आन्तरिक विमानस्थलप्रति हामी ज्यादा नकारात्मक हुनुपर्ने आवश्यकता छैन । तर, प्राथमिकताका बारेमा भने बहस गर्न सकिन्छ । पर्याप्त तयारीका साथ मात्रै विमानस्थल बनाउनुपर्छ ।

विमानस्थल बनाउने क्रममा राजनीतिक स्वार्थ, भोट बैंकको अवस्था हेरिनु नौलो कुरा होइन । सडक जस्तै सांसदहरूलाई सबैभन्दा सजिलो रूपमा काम देखाउने पूर्वाधार विमानस्थल पनि हो । देशका विभिन्न ठाउँमा विमानस्थलहरू बनेकोमा मलाई त्यति धेरै चिन्ता छैन । धेरैजसो पहाडी क्षेत्रमा आन्तरिक विमानस्थल बनाउने गरिएको छ ।

नेपाली पनि पहिलेजस्तो हवाईजहाज चढ्नै नसक्ने छैनन् । अहिले नेपालीको जीवनस्तरमा आएको परिवर्तनले आन्तरिक हवाई यात्रुको संख्या बढ्दो छ । भारतमा पनि १२/१५ वर्ष अघिसम्म आन्तरिक यात्रुको संख्या निकै कम थियो, अहिले बढेको छ ।

नेपालमा पनि त्यस्तै अवस्था छ । सडकबाट यात्रा गर्दाको तुलनामा केही बढी खर्च गर्दा हवाईयात्रा गर्न सहज हुने भए पनि मानिसहरूले त्यही विकल्प छान्न थाले । अर्कोतर्फ प्रतिस्पर्धाका कारण भाडादर पनि सस्तो भयो ।

नेपालको दुर्गम क्षेत्रमा विमानस्थल बनेर पनि चल्न सकेका छैनन् । विमानस्थल त बनायो, तर यात्रुहरूको चाप भएन भने विमान कम्पनीहरूले हवाईजहाज उडाउँदैनन् । सरकारले दुर्गम क्षेत्रमा सुविधा पुर्‍याउन धेरै सहुलियत दिएको थियो । पछि दुर्गमलाई सहुलियत दिइरहने नीतिमा सरकार अडिन सकेन ।

नेपालका कैयौं सेक्टर पर्यटकले धानेको देखिन्छ, पर्यटकबाट राम्रो आर्जन हुने भएकाले नेपाली यात्रुहरूले पनि त्यसबाट लाभ पाउँछन् । पर्यटक नजाने दुर्गम क्षेत्रहरूमा सरकारले सहुलियत दिन छाडेपछि विमानहरू जान छाडे ।

आन्तरिक गन्तव्यहरूमा अकुपेन्सी (यात्रुको चाप) धेरै भए पनि विमान कम्पनीहरूलाई ज्यादा नाफा छैन । पर्वतीय उडान (माउन्टेन फ्लाइट) का कारण नेपालका कैयौं विमान कम्पनी ‘सर्भाइभ’ भएका छन् । कतिपय अवस्थामा राजनीतिक नेतृत्वले हवाई भाडा घटाउने भनी सस्तो लोकप्रियताका अभिव्यक्ति दिए पनि त्यो सम्भव छैन । किनभने कुनै पनि विमान कम्पनीका सञ्चालकहरूले खल्तीबाट पैसा हालेर सेवा सञ्चालन गर्दैनन् ।

नेपालमा आन्तरिक विमानस्थल बनिरहेका छन् । कतिपय फेरि चल्न नसकेर बन्द भएका छन् । बन्द भएका कैयौं विमानस्थल फेरि चलेका छन् । झापाको चन्द्रगढी विमानस्थल कुनै समय बन्द थियो, दाङको विमानस्थल पनि बन्द थियो । झापाको चन्द्रगढी अहिले राम्रो चलेको छ, व्यस्त विमानस्थल बनेको छ ।

भरतपुर काठमाडौंबाट निकै नजिक पर्छ । काठमाडौंबाट जुनसुकै बेला जहिले पनि चितवन जाने गाडी पाइन्छ । तर भरतपुरको विमानस्थल चलिरहेको छ । त्यो क्षेत्रमा गन्तव्य बनाउने मानिसहरूको समय जोगिने रहेछ र त्यसका लागि यात्रुहरू खर्च गर्न तयार हुँदारहेछन् । त्यही कारणले भरतपुर विमानस्थल व्यस्त रूपमा चलिरहेको छ ।

राजनीतिक नेतृत्व र इच्छाशक्तिका कारण मात्रै सम्भावना नभएका ठाउँमा बन्ने विमानस्थललाई यदाकदा ‘पोलिटिकल एयरपोर्ट’ (राजनीतिक विमानस्थल) भनी टीकाटिप्पणी र व्यंग्य गरिन्छ । तीमध्ये पनि कैयौं विमानस्थल चलिरहेका छन् । नेताहरूले देखिने काम भएकाले सडक, खानेपानी र विमानस्थलमा जाँदा अग्रसर हुन्छन् । जनताले खोज्ने पनि यस्तै कुरा हो । कतिपयले अलि बढी नै हस्तक्षेप गर्लान्, त्यो बेग्लै कुरा हो ।

पहाडमा बन्ने साना विमानस्थलहरूमा लगानी धेरै हुँदैन । ४००/५०० मिटर लम्बाइमा धावनमार्ग तयार हुन्छन् । ठूलो टर्मिनल पनि आवश्यक पर्दैन । दुर्गमको पहाडका टुप्पाहरूमा धावनमार्ग बनाउँदा के नै फरक पर्छ र ? प्रकोपको बेलामा त्यस्ता ठूला ठाउँहरू उपयोगमा पनि आउँछन् । डाँडाको खुला ठाउँमा विमानस्थल बनाउँदा के नै नोक्सानी हुन्छ र ? कतिपयले त्यहाँ आन्तरिक विमानस्थल बनाउने बजेटले ५/७ किलोमिटर बढी सडक बन्नेथियो भन्ने तर्क पनि गर्छन् । तर यसमा चिन्ता गर्नुपर्ने कुरा केही देखिंदैन ।

हेलिकप्टर नै ल्याण्ड गर्नुपर्‍यो भने पनि त्यस्तो विमानस्थल सुरक्षित र भरपर्दो हुन्छ । सामान भण्डारणका लागि अनुकूल हुन्छ । कुनै पनि दृष्टिकोणले औचित्ययुक्त छैन, विमान चल्नै सक्दैन र अनावश्यक रहर हो भने त्यस्तो प्रस्तावलाई अस्वीकार गरेर बजेट अन्यत्र लगानी गर्नुपर्छ । विमानस्थल बन्ने सम्भावना नभए केवल राजनीतिक दबावका आधारमा मात्रै अघि बढाउनुहुँदैन ।

दुर्गममा सञ्चालन हुने विमानस्थलहरूको सञ्चालन खर्च निकै कम हुन्छ । सामान्य तालिमप्राप्त ‘एयर ट्राफिक कन्ट्रोलर’ र सुरक्षाकर्मीबाट विमानस्थल सञ्चालन हुनसक्छ । सरकारी निकायहरूले कम खर्चमा यस्ता विमानस्थल चलाउँदा ठूलो समस्या हुँदैन ।

नेपालमा पछिल्ला केही दशकमा शहरहरू बढ्दै गएका छन् । शहरमा मान्छेको भीड मात्रै हुँदैन, खर्च गर्न सक्ने क्षमता भएका मानिस पनि बस्छन् । उनीहरूको अनुकूलताका लागि पहिले ठिकठिकै चलेका विमानस्थल अहिले राम्ररी चलेका छन्, कतिपय त क्षेत्रीय विमानस्थल बनेका छन् ।

कुल ‘उड्डयन’ खर्चमा आन्तरिक विमानस्थलको सञ्चालन खर्च निकै नगन्य छ । भैरहवा, पोखरा, विराटनगर, नेपालगञ्जलगायत ६/७ वटा बाहेकका विमानस्थलहरू नाफामा छैनन् । दुर्गमका विमानस्थलहरूले सञ्चालन खर्च उठाउन सक्दैनन्, नगन्य नोक्सानमा छन् । राजस्व उठाउने काममा सक्रियता नदेखाएका कारण पनि उनीहरूको आम्दानी खुम्चिएको हो ।

विमानस्थल भनेको व्यावसायिक केन्द्र पनि हो । विकसित मुलुकमा पनि ‘एरोनटिकल’ भन्दा पनि ‘नन–एरोनटिकल’ आम्दानी बढी हुन्छ । विमानको ल्याण्डिङ चार्ज, ह्याण्डलिङ भन्दा पनि व्यावसायिक आम्दानी ज्यादा हुन्छ । त्यसतर्फ ध्यान पुग्न सकेको छैन । सुगमका विमानस्थललाई सहुलियत दिन आवश्यक पनि छैन ।

अमेरिका र क्यानडाका दुर्गमतिर पनि उडान हुन्छन् । झाडी भएको विमानस्थलमा अवतरण गरिने भएकाले ‘बस–फ्लाइङ’ भन्ने चलन पनि छ । सञ्चारका उपकरण र सामान्य कर्मचारी भए विमानस्थल चल्न सक्छ । नेपालमा बढ्दै गइरहेको आन्तरिक विमानस्थलप्रति हामी ज्यादा नकारात्मक हुनुपर्ने आवश्यकता छैन । तर, प्राथमिकताका बारेमा भने बहस गर्न सकिन्छ । पर्याप्त तयारीका साथ मात्रै विमानस्थल बनाउनुपर्छ ।

-अनलाइन खबरबाट…..

प्रतिक्रिया दिनुहोस्