सेन्चुरी प्रभु बैंकमा समाहित, आजबाट एकीकृत कारोबार

खबर खुराक
खबर खुराक २६ पुष २०७९, मंगलवार
4 Min Read
Aa

काठमाडौं । सबैभन्दा कान्छो वाणिज्य बैंकका रूपमा चिनिदै आएको सेन्चुरी कमर्सियल बैंक आज (पुस २६ गते)देखि प्रभु बैंक लिमिटेडमा समाहित भएको छ ।

यो बैंक १ः१ स्वाप रेसियोमा प्रभुसँग समाहित भएको हो । सेन्चुरीलाई प्राप्ति गरेपछि प्रभु बैंकको नामबाट आजदेखि एकीकृत कारोबार शुभारम्भ भएको हो ।

यी दुई बैंक एक भएपछि प्रभु बैंकको चुक्तापुँजी २३ अर्ब रुपैयाँ पुगेको छ ।

त्यस्तै बैंकको कुल सम्पत्ति तीन खर्ब ४० अर्ब पुगेको छ । कुल ऋण प्रवाह दुई खर्ब ४५ अर्ब रुपैयाँ पुगेको छ ।

त्यस्तै कुल निक्षेप संकलन दुई खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी प्रभुमा सेन्चुरी गाभिएपछि शाखा संख्या ३६५ पुगेको छ ।
यसअघि सेन्चुरी कमर्सियल बैंकका शाखा कार्यालय १४८ थिए भने प्रभु बैंकका २१७ शाखा कार्यालय थिए । बैंकका अनुसार एटीएम सञ्जाल ३०९ पुगेको छ भने एक्स्टेन्सन काउन्टर ७२ पुगेका छन् ।

कुल ग्राहक संख्या ३० लाख नागेको बैंकले जानकारी दिएको छ ।

प्रभु बैंकमा कार्यरत कर्मचारी र सेन्चुरी कमर्सियल बैंकमा कार्यरत कार्मचारी गरी कुल कर्मचारी संख्या तीन हजार ५३८ पुगेको छ ।

दुई बैंक एक भएसँगै अवसर र चुनौती थपिएको प्रभु बैंकका पूर्व अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य देविप्रकाश भट्टचनले बताए ।

मर्जर गर्न गरिएको लामो संघर्ष आज सार्थक भएको भन्दै उनले कुनै पनि बाहाना गरेर अब छुटिने कसैलाई पनि छुट नभएको बताए ।

“मर्जर भनेको विवाह जस्तै हो । विवाह गरेपछि कुनै कुरामा चित्त नबुझे छुटिन मिल्छ । तर, मर्जर भएपछि छुट्टिने कसैलाई पनि छुट छैन,” उनले भने, “दुई बैंक एक भएपछि चुनौती त थपिएको छ । तर, त्यसलाई सबैले मिलेर समाधान गर्नुपर्छ र देशकै उक नम्बर बैंकको रूपमा सबल सेवा दिनु पर्छ ।”

बैंक ठूलो हुँदै गर्दै ग्राहकका आवश्यकता र देशको आर्थिक समृद्धिलाई विशेष ख्याल गर्नुपर्ने भट्टचनको भनाइ छ ।

त्यसैगरी सेन्चुरी कमर्सियल बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले यी दुई बैंकको मर्जरले देशको दीगो आर्थिक वृद्धिमा सहयोग पुग्ने बताए ।

कुनै पनि आयोजना निर्माण गर्दा धेरै बैंकबाट स्रोत जुटाउनु पर्ने बाध्यता भएकोले बैंकहरूको पुँजी बढ्दै गएपछि यस्ता समस्य केही हदसम्म समाधान हुने श्रेष्ठको भनाइ छ ।

“कुनै पनि आयोजना निर्माणका लागि स्रोत जुटाउन धेरै बैंक गुहार्नुपर्ने अवस्था हुन्थ्यो । अब यस्ता आयोजना एउटै बैंकको लगानीमा बनाउन सक्नेछन्,” उनले भने, “समयको मागसँगै हामी एक भएका हौं । यसले देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ ।”

अनगिन्ती सम्भावनाहरूलाई सार्थकता प्रदान गर्दै सेन्चुरी कमर्सियल बैंकलाई प्रभुमा समाहित गरिएको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले बताए ।

प्रभु बैंक अझ बृहत् र परिस्कृत स्वरूपमा सेयरधनी र सेवाग्राहीको उन्नति, प्रगति, सफलता र समृद्धिको साक्षी बन्ने शेरचनले बताए ।
सेन्चुरी कमर्सियल बैंकलाई प्राप्ति गरेपछि प्रभु बैंकको नयाँ सञ्चालक समितिमा सदस्यहरू लिलाप्रकाश सिटौंला, रमेशसिंह खड्का, मनबहादुर राई, शंकरप्रसाद कालिकोटा, प्रा. डा. गीता प्रधान, रामेश्वर सापकोटा र अभिषेक बज्राचार्य रहेका छन् । बैंकको अध्यक्ष भने यी नै सदस्यहरूबाट छनोट हुनेछ ।
आज एकीकृत कारोबार शुभारम्भ कार्यक्रमको अध्यक्षता लिलाप्रकाश सिटौलाले गरेका थिए । उनले बैंकको पूँजी बढ्दै गएकाले चुनौती थपिएको र त्यसलाई सञ्चालक समिति र व्यावस्थापन टिमले मिलेर काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्