के हुन्छ विपश्यनामा ?

खबर खुराक
खबर खुराक २७ पुष २०७९, बुधबार
5 Min Read
Aa

काठमाडौं । व्यस्त जीवनशैलीसँगै मानिसमा तनाव पनि बढ्दो छ । तनावबाट छुटकारा पाउन मानिस विभिन्न उपायको खोजी गरिरहन्छन् ।

प्राचीनकालमा तनावबाट मुक्ति पाउन ध्यान तपस्या गर्ने गरेको हामीले सुन्दै, पढ्दै आएका छौं । तर पछि मानिसहरु यसबाट विमुख हुँदै गए । पछिल्लो समय फेरि योग र ध्यानलाई पछ्याइन थालिएको छ ।

ध्यानका प्रकारमध्ये प्रचलित ध्यान विधि विपश्यनामा अहिले धेरैले रुचि देखाएका छन् । विपश्यना भनेको के हो ? कसरी गरिन्छ भन्ने जिज्ञासा धेरैलाई होला । त्यसैले केही समयअघि विपश्यना ध्यान गरेर फर्किएकी अभिनेत्री बेनिशा हमाल यो ध्यानको बारेमा आफ्नो अनुभव यसरी साट्छिन्-

विपश्यनामा जाने कुरा मेरो लागि एउटा ठूलो चुनौती नै थियो । त्यहाँ गएर १० दिन बिताउने पर्ने हुनाले समय मिलाउन पनि गाह्रो भइरहेको थियो । व्यस्त जीवनशैलीबाट टाढा गएर आफ्नो मन र दिमागलाई एकाग्र बनाएर हामी आधा घण्टा त बस्न सक्दैनौं, त्यो त १० दिनको कुरा थियो । तर मैले १० दिन आफ्नो लागि समय छुटाएर पुगे, बुढानीलकण्ठको धम्मशृङ्ग विपश्यना ध्यान केन्द्र ।

त्यहाँको माहोल कस्तो छ होला ? के के हुन्छ होला भन्ने धेरै प्रश्न मनमा थिए । ध्यान कतै पनि नजाओस् भन्न मोबाइल, पत्रपत्रिका, रेडियो, पढ्ने लेख्ने, अन्य पूजापाठ, ध्यान, योग आदि सबै वर्जित हुन्छ ।

त्यहाँ १० दिनको शिविरमा सामेल हुनुपर्छ । बाहिरी सम्पर्कबाट अलग हुनुपर्छ । पटक-पटक गरी दिनमा १० घण्टा बसेर ध्यान गर्नुपर्छ । एकअर्कासँग कुराकानी गर्न पाइँदैन । १० दिने मौन ध्यान आफ्नै श्वासको आवागमनबारे सचेत हुनुबाट सुरु हुन्छ ।

साधक १० दिनसम्म शिविर स्थलमै रहनुपर्छ । बीचमा शिविर छाडेर जानुहुँदैन । त्यस्तै नयाँ साधकहरूले पञ्चशील (हिंसा, चोरी, नशालु पदार्थ सेवन नगर्नु, ब्रह्मचार्य पालना गर्नु, झुटो नबोल्नु)को पूर्ण पालना गर्नुपर्ने हुन्छ । यी नियम पालना गर्न सजिलो भने छैन । त्यसैले म गर्न सक्छु भन्ने भएपछि मात्र जानु ठीक हुन्छ ।

के हो विपश्यना ? 

विपश्यना एक ध्यान विधि हो, जसले मानिसलाई वर्तमानमा रहन वा जिउन सिकाउँछ । आजभन्दा लगभग २५-२६ सय वर्षअघि गौतम बुद्धले अनुसन्धान गरी आमरूपमा स्थापित गराउनुभएको हो । आफ्नो श्वासप्रश्वासको निरीक्षण गर्दै शरीर र चित्तमा उत्पन्न हुने परिवर्तनशील घटनालाई तटस्थ भावले निरीक्षण गर्दै चित्तशुद्धि र सद्गुण बुद्धिको अभ्यास विपश्यनामा गरिन्छ ।

विपश्यना राग, द्वेष र मोहबाट विकृत भएको चित्तलाई निर्मल बनाउने साधना हो । दैनिक जीवनको समस्या र तनावग्रस्त चित्तलाई तनावमुक्त गर्ने एक सक्रिय अभ्यास हो ।

ध्यानको रुटिन कस्तो हुन्छ ?

बिहान ४ बजे उठेर फ्रेस हुन घण्टी लाग्छ, साढे ४ मा ध्यान गर्ने हलमा आइपुग्नुपर्छ । समयमा नआउनेको कोठा-कोठामा गई स्वयंसेवक ढोका ढकढक्याउन आइपुग्छन् । दुई घण्टा ध्यान, अनि साढे एक घण्टा खाजा र आराम, अनि तीन घण्टा ध्यान, दुई घण्टा खाना र आराम, चार घण्टा ध्यान, एक घण्टा नास्ता र आराम, साढे एक घण्टा ध्यान साढे एक घण्टा प्रवचन सुन्दा ९ बजेको घण्टी बजेपछि सुत्ने समय हो । फेरि भोलिपल्ट ४ बजेबाट त्यही रुटिन पछ्याउनुपर्छ ।

खानपान र कपडा

विपश्यनामा जाँदा बाहिरबाट खानेकुरा लैजान पाइँदैन । त्यहाँ नै खानाको व्यवस्था हुन्छ । पहिलो पटक विपश्यनामा गएकालाई बिहानको ७ बजेतिर खाजा, १२ बजेतिर बिहानको खाना र साँझ ५ बजे फेरि खाजा गरेर तीन पटक खानाको व्यवस्था हुन्छ । त्यसअघि पनि विपश्यनामा गएकाहरूलाई साँझको ५ खाजाको व्यवस्था हुँदैन । साँझ पाँच बजेपछि बिहान ६ बजेसम्म केही खान पाइँदैन, त्यही पनि भोक लागेको अनुभव हुँदैन । त्यहाँ उपलब्ध गराइने खाना शुद्ध शाकाहारी हुन्छ ।

कपडा भने आफैंले बोकेर जानुपर्ने हुन्छ । त्यहाँ बस्ने कोठा र शौचालयको राम्रो व्यवस्था हुन्छ । पलेंटी कसेर ध्यान गर्नुपर्ने भएकाले पलेंटी कसेर बस्न सजिलो हुने हलुका खाले लुगा लैजाँदा राम्रो हुन्छ ।

ध्यानपछिको परिवर्तन

१० दिनसम्म त्यहाँ बसेपछि एघारौं दिनको बिहान केही समय ध्यान र अन्तिम प्रवचन सुनेपछि शिविर समाप्त हुन्छ र घर फर्किन पाइन्छ । त्यहाँबाट बाहिर निस्किएपछि भने बानी व्यवहार, अरूलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउँछ । घर फर्किने बेलामा खुसी र तनावमुक्त भइन्छ ।

आफूभित्र शान्ति अनुभव गर्न सक्ने योग्यता विपश्यनाले प्रदान गर्छ । यो ध्यान विधिको प्रयोगले सबै दुःखबाट छुटकारा पाउन सकिन्छ । ज-जसले यसको अभ्यास गर्छन्, उनीहरूमा बिस्तारै परिवर्तन आउँदै जान्छ । दुःखको कारण के हो र निराकरण कसरी गर्न सकिन्छ भन्ने कुरा बुझ्दै गइन्छ ।

प्रतिक्रिया दिनुहोस्