काठमाडौं : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सहकारी मूल्य शृंखला प्रभावकारी रूपमा उत्रिएको खण्डमा बिचौलियाको अन्त्य हुने बताएका छन्। राष्ट्रिय सहकारी महासंघको ३०औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै सहकारीले सहकारी माटोदेखि मुखसम्म जोडिनुपर्ने बताएका छन्। उत्पादन, ढुवानी, वितरण, उपभोगसम्म जोडिन अत्यावश्यक भइसकेको उनले बताए।
राज्यले सहकारीलाई उचित सम्बोधन गर्नुपर्ने बताए। ‘तीनखम्बे अर्थतन्त्र भन्ने र एउटा खम्बालाई चल्लाको खुट्टाजस्तो अर्को खम्बालाई हात्तीको खुट्टा जस्तो बनाएर अर्थतन्त्र मजबुद हुँदैन’ उनले भने, ‘तीनवटै खम्बा बलियो बनाउने सरकारको नीति तथा कार्यक्रम हुनुपर्छ।’ बजेटमा सहकारीलाई प्राथमिकता दिन कन्जुस्याइँ गर्न नहुने उनले बताए।
गरिबी निवारणका लागि सहकारीको महत्त्वपूर्ण भूमिका हुने भएकाले सरकारले गरिबीको न्यूनीकरणका लागि सहकारीसँग सहकार्य गर्नुपर्ने बताए। उनले सहकारीमा ५६ प्रतिशत महिला सहभागिता भए पनि नेतृत्व तहमा त्यसको प्रभाव नदिएकाले महिलाको सहभागिता वृद्धि गर्नुपर्नेमा जोड दिए।
सहकारी मैत्री कानुन निर्माणका लागि सहयोग गर्न तत्पर भएको उनले प्रतिबद्धता व्यक्त गरे।
संविधानमा तीनखम्बे अर्थतन्त्र भनेर उल्लेख गरिसकेपछि कार्यान्वयन गर्न सबै दलले इमान्दारिता देखाउनुपर्ने उनको भनाइ छ।
पूर्वमन्त्री तथा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडालले स्वायत्तता र स्वतन्त्रता सहकारीको मुटु भएको बताए। राज्यसँग हातेमालो गरेर अभियान अगाडि बढ्ने उनको भनाइ छ। पूर्वराज्यमन्त्री तथा महासंघका पूर्वअध्यक्ष दीपकप्रकाश बाँस्कोटाले नेपालको संविधानमा सार्वजनिक, निजी सरह सहकारीलाई समान अवसर दिएको र विश्वका धेरै देशले अनुसरण गर्न थालेको बताए।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा.दामोदर रेग्मीले मन्त्रालय र सहकारी अभियान एउटा डुंगामा उभिएकाले अभियान सफल हुँदा मन्त्रालय पनि सफल हुने बताए।
‘सहकारी अभियानलाई भरोसायोग्य क्षेत्रका रूपमा रूपान्तरण गर्न हामी सबै लागि पर्छौं। जोखिम न्यूनीकरण गर्दै जानु पर्नेछ’, उनले भने। सम्पत्ति शुद्धीकरण निवारणमा सहकारी अभियानले प्रतिबद्धता व्यक्त गर्ने विश्वास उनले व्यक्त गरे।
सहकारी विभागका रजिस्ट्रार रुद्रप्रसाद पण्डितले सहकारी एकीकरणलाई अभियानका रूपमा अगाडि बढाउनुपर्ने बताए। ‘सहकारीको सुदृढीकरणका लागि केन्द्रीय संघबाट विभागले काम थाल्नेछ’, उनले भने। महासंघका अध्यक्ष मीनराज कँडेलले सहकारी अभियानले दिगो विकासका लक्ष्य प्राप्तिका लागि योगदान गर्ने बताए। उपाध्यक्ष रमेश पोखरेलले विकासवादी अर्थतन्त्रको रूपमा सहकारी अभियान अघि बढेको बताए।
प्रतिक्रिया दिनुहोस्