शरीरलाई कति चाहिन्छ अक्सिजन ?

खबर खुराक
खबर खुराक २८ पुष २०७९, बिहीबार
6 Min Read
Aa

काठमाडौं । ठोस, तरल र वायुमध्ये शरीरमा सबैभन्दा बढी हिस्सा वायुको हुनुपर्छ भनिन्छ । शरीरमा जति धेरै अक्सिजन आपूर्ति हुन्छ, उत्ति नै स्वस्थ हुन्छ । अक्सिजनको कमीकै कारण क्यान्सरलगायत रोग लाग्छन् ।

शरीरमा अक्सिजनको कमीले धेरै रोग निम्त्याउँछ । जब अक्सिजनको स्तर कम हुन्छ, सबैभन्दा प्रारम्भिक र नराम्रो असर हाम्रो प्रतिरोधात्मक क्षमतामा हुन्छ । शरीरमा अक्सिजनको मात्रा कति हुनुपर्छ ? शरीरमा अक्सिजनको आपूर्ति बढाउने विधि के हो ? लगायत विषयमा वरिष्ठ छातीरोग विशेषज्ञ डा. राजु पंगेनीसँग गरिएको कुराकानी :

शरीरमा अक्सिजनको हिस्सा कति हुनुपर्छ ?

औंलामा नाप्ने पल्स अक्सिमिटरले नाप्दा सामान्य मान्छेको शरीरमा अक्सिजनको लेबल ९५ देखि ९८ प्रतिशतसम्म हुनुपर्छ । फोक्सोसम्बन्धी समस्या हुँदा शरीरमा अक्सिजनको मात्रा घट्न सक्छ । समुन्द्री सतहमा बसेको मान्छेको अक्सिजन लेबल ९७ प्रतिशत हुन्छ । अलिकति उचाइ पहाडी क्षेत्रमा बसेको मान्छेको अक्सिजन लेबल ९५ देखि ९८ को रेन्जमा हुन्छ । धेरै उचाइ सगरमाथा वा बेस क्यापमा भएका मान्छेमा अक्सिजनको मात्रा ८५ प्रतिशत जति पनि हुन सक्छ । उचाइले हावामा अक्सिजनको चापले र बिरामीको अवस्थाले शरीरमा अक्सिजनको मात्रा निर्धारण गरेको हुन्छ ।

कसैलाई लामो समयदेखि फोक्सोको समस्या छ भने उनीहरूमा ९० प्रतिशत अक्सिजन छ भने पनि त्यो नर्मल नै हो । तर कसैलाई निमोनिया भएर अक्सिजन घटेको छ भने त्यस्तो व्यक्तिलाई भने अतिरिक्त अक्सिजन नै दिनुपर्ने हुन सक्छ ।

अक्सिजनले के काम गर्छ ? कसरी काम गर्छ ?

अक्सिजन भनेको पावर हाउस जस्तो हो । हाम्रो शरीरको हरेक अंग विभिन्न तन्तु मिलेर बनेको हुन्छ । हाम्रो शरीरमा छाला, हड्डी, रगतको नसा, हड्डीलाई जोड्ने लिगामेन्ट, बोसो सबै तन्तुबाट बनेको हुन्छ । त्यो तन्तुहरू पनि विभिन्न कोषिकाहरु मिलेर बनेको हुन्छ । हाम्रो शरीरको सबै तन्तु र कोषिकालाई काम गर्न अक्सिजन चाहिन्छ । अक्सिजन त्यो कोषिकाहरुमा गइसकेपछि इन्जिनको जस्तो काम गर्छ । अक्सिजन भनेको औषधि जस्तो हो र यसले हाम्रो शरीरलाई चलायमान बनाउँछ ।

हामीले सास फेर्ने जुन हावा हुन्छ त्यसमा धेरै मात्रा नाइट्रोजन हुन्छ र पाँच भागको एक भाग २० प्रतिशत अक्सिजन हुन्छ । हामीले सास फेर्दा त्यो हावा फोक्सोमा जान्छ र फोक्सो हुँदै रक्तसञ्चार प्रणालीमा पुग्छ । त्यो रगतमा घुलेर रातो रक्तकोषमा टाँसिन्छ र शरीरको विभिन्न भागमा त्यो रगतमार्फत पुग्छ । शरीरको विभिन्न अंगमा पुगेपछि कोषिकाहरुमा पनि त्यो जान्छ ।

शरीरमा अक्सिजनको कमी कसरी हुन्छ ?

वायुमण्डलमा अक्सिजनको कमी भयो भने वा विभिन्न स्वास्थ्य समस्यामा शरीरमा अक्सिजनको कमी हुन सक्छ । हामी धेरै उचाइमा गयौं भने त वायुमण्डलमा नै अक्सिजनको कमी हुन्छ र शरीरमा पनि कमी हुन्छ ।

झ्याल ढोका बन्द गरेर ग्यास गिजर वा हिटर बाल्दा तिनीहरूको कोठामा अक्सिजनको कमी गराउँछ र शरीरमा पनि अक्सिजन कम हुन्छ ।

अक्सिजन छिर्ने फोक्सोमा समस्या भयो भने पनि शरीरमा अक्सिजनको कमी हुन्छ । फोक्सोको दीर्घकालीन रोगहरू निमोनिया, दम रोगमा पनि शरीरमा अक्सिजनको मात्रा घट्ने भयो । फोक्सोको बाथरोग भएर अक्सिजन रगतमा पुग्न नपाउँदा वा मुटुरोग भएकाहरूमा पनि अक्सिजनको कमी हुन सक्छ ।

शरीरमा अक्सिजनको कमी हुँदा के के लक्षण देखिन्छन् ?

अक्सिजनको कमी भएमा रिंगटा लाग्ने, छाती भारी हुने, मुटुको चाल बढ्ने, हातखुट्टा सुन्निने, बेहोस हुने जस्ता समस्या देखिन्छन् ।

शरीरमा अक्सिजनको आपूर्ति बढाउने विधि के हो ?

शरीरमा अक्सिजनको कमी हुनु भनेको इमरजेन्सी अवस्था हो । त्यसैले अस्पताल पुग्नुभन्दा अघि घरमै केही प्राकृतिक विधिबाट शरीरमा अक्सिजन आपूर्ति गर्न सकिन्छ । घरमा अक्सिजनको मात्रा बढाउन झ्याल ढोका र भेन्टिलेटर खुल्ला छोड्नुपर्छ । हिटर, गिजर चलाएको छ भने बन्द गर्नुपर्छ । घरमा अक्सिजनको मात्रा बढाउने स्नेक प्लान्ट, मनी प्लान्ट जस्ता बिरुवाहरू रोप्नुपर्छ ।

छातीमा खकार जमेर श्वासप्रश्वासमा समस्या भएको छ भने खोकेर त्यो खकार बाहिर निकाल्ने प्रयास गर्नुपर्छ । लामो लामो सास फेर्नुपर्छ । शरीरमा अक्सिजनको कमी भयो भने कोरोना संक्रमणको बेलामा एकदमै प्रचलित विधि घोप्टो परेर सुत्ने त्यो पनि गर्न सकिन्छ  । घोप्टो परेर सुत्दा शरीरमा अक्सिजन बढाउन मद्दत गर्छ ।

कसैलाई दम रोग छ र शरीरमा अक्सिजनको कमी भएको छ भने ‘नेबुलाइजर’ बाफ लिने मेसिन र तान्ने औषधिको प्रयोग गरेर पनि शरीरमा अक्सिजन बढाउन सकिन्छ । यी औषधिले श्वासनलीलाई  फुलाउँछ र अक्सिजन शरीरमा पुग्छ ।

यी सबै अस्थायी विधि हुन कुनै रोगको कारण शरीरमा अक्सिजन कमी भएको हो भने त्यो रोग पत्ता लगाएर त्यसको उपचार गर्नुपर्छ ।

कुनै तनाव र भयको स्थितिमा लामो सास लिंदा केही सहज महसुस हुन्छ, किन ?

कुनै तनावको स्थितिमा, भयको स्थितिमा शरीरमा अक्सिजनको कमी भएर सास फेर्न गाह्रो भए जस्तो हुने होइन । दौडिंदा पनि हामीलाई स्याँस्याँ भएर सास फेर्न गाह्रो भएको जस्तो हुन्छ, त्यो बेला पनि शरीरमा अक्सिजन घटेको हुँदैन ।

तनाव हुँदा वा दौडिंदा शरीरको तन्तुलाई अक्सिजनको मात्र बढी चाहिन्छ । शरीरलाई अक्सिजनको मात्रा बढी चाहिएको बेला गहिरो सास फेर्दा सहज महसुस हुने हो ।

हाम्रो श्वासप्रश्वास प्रणालीलाई नियन्त्रण गर्ने केन्द्र हाम्रो मस्तिष्कमा हुन्छ । हाम्रो शरीरलाई अक्सिजन बढी चाहियो भने शरीरका अंगले त्यो कुरा मस्तिष्कको श्वासप्रश्वास केन्द्रमा पुर्‍याउँछन् । श्वासप्रश्वास केन्द्रले फोक्सोमा त्यो सन्देश पुर्‍याउँछ, छिटो वा गहिरो सास फेर्नुपर्‍यो भनेर र लामो गहिरो सास फेर्दा सहज महसुस हुन्छ ।

प्रतिक्रिया दिनुहोस्