छोरीको आधा शव भेटिएपछि प्रहरीमा धाइरहेका रत्‍न विक

खबर खुराक
खबर खुराक २८ पुष २०७९, बिहीबार
7 Min Read
Aa

कालीकोटको खाँडाचक्र नगरपालिकाका–६ का रत्न विक झण्डै डेढ वर्षयता प्रशासन र प्रहरीमा धाइरहेका छन्। त्यसयता अहिलेसम्म आफू कतिपटक जिल्ला सदरमुकाममा रहेका प्रशासनहरूमा पुगेँ भन्ने समेत बिर्सिसके। थोरै भए पो सम्झिनु।

२०७८ भदौ ७ गते रत्नकी छोरी १६ वर्षीय निरु विक घर नजिकैको मकै बारीमा मृत फेला परेकी थिइन्। निरुलाई हत्या गरेर कसैले मकैबारीमा फालिदिएको उनी बताउँछन्। उनै छोरीमाथि भएको घटनाको यकिन तथ्य र पीडकलाई कारबाहीको खबर सुन्न उनी बारम्बार प्रहरी कार्यालयमा धाउन थालेको १६ महिना भयो।

निरुको न्याय माग्न अरूले नै दबाबमूलक कार्यक्रम गरे उनी २०० रुपैयाँ अटोको भाडा तिरेर सदरमुकाम पुग्छन्। अहिलेसम्म सदरमुकाम र घर आवतजावत गर्दा, सदरमुकाम बस्दा भएको खर्चको उनले लेखाजोखा राख्न पनि चाहेका छैनन्।

रत्नको ध्याउन्न भनेकै छोरीको घटनामाथि छ, पीडकको खोजीमा छ, प्रहरीको कामकारबाहीमा छ।

अनुसन्धान गरिरहेको प्रहरी प्रशासनले रत्नलाई कहिले घटनाको तथ्य र पीडकलाई पक्राउ गरेको खबर कहिले भन्छ पत्तो छैन। प्रहरीले पनि सबै आयामहरूबाट घटनाको अध्ययन, अनुसन्धान गरिरहेकै छ।

‘अहिलेसम्म छोरीलाई कसले त्यसरी मारेर फाल्यो भन्ने कुरा पत्ता लागेको छैन, प्रहरीले त लगातार काम गरिरहेको छ। म पनि बारम्बार प्रहरीसम्म पुगेको छु,’ उनले सेतोपाटीसँग भने, ‘कहिले उहाँहरूले बोलाउँदा जान्छु, कहिले आफैं पनि मनले नमानेर प्रहरीसँग जान्छु, अहिलेसम्म कतिपटक गएँ गन्ती गरेर साध्य छैन।’

खाँडाचक्र–६ गोरालवाडा उनको घर हो। घटना २०७८ भदौ महिनाको हो।

२०७७ चैतमा रत्नका भाइको मृत्यु भयो। मृत्युपछि भाइको घरमा परिवारका अरू सदस्यलाई सघाउन रत्नको परिवार पनि त्यतै सर्‍यो। उनका भाइको घर लेकतर्फ पर्छ। चैतदेखि असारसम्म उनका सपरिवार बुहारीलाई सघाउन मृतक भाइको घरमा बसे। साउनमा वेशीमा रहेको आफ्नै घर फर्किए।

‘भाइको घर लेकतर्फ पर्छ, हाम्रो घर अलि तल बेशीमा छ,’ उनले भने, ‘गाउँमा असारदेखि खेतबारीको काम बढ्छ, मैले छोरीलाई ‘अन्टीका बच्चाबच्ची साना छन्, सहयोग गर्नुपर्छ, तिमी यहीँ बस भनेर’ छोडेँ, अरू परिवारलाई लिएर आफ्नो घर बेशीतर्फ गएँ।’

निरुसँगै उनका दाइ र भाइलाई पनि त्यतै सहयोग गर्न रत्नले छोडेका थिए।

रत्नले छोरी निरूको सुरक्षा होस् भनेर काकीसँगै भित्री कोठामा सुत्ने व्यवस्था मिलाइदिएका थिए।

‘भाइको घरमा भित्रपट्टिको कोठामा छोरी र उसकी अन्टीलाई सुत्ने, बाहिर मेरा दुई भाइ छोरा र कोही पाहुना आएपछि सुताउने भनेर कोठाहरू छुट्याएर आएको थिएँ,’ उनले भने।

भदौ ३ गतेसम्म निरु काकीको घरमा भएको खबर बेलाबखत निरुका बाबाआमाले पाइरहेकै थिए।

भदौ ५ गते बिहानदेखि निरुको बारेमा बाबाआमालाई फरक खबर आउन थाल्यो। उनी काकीको घरबाट गायब भएको खबर रत्नको परिवारले पाए। परिवारले छोरीको अप्रिय घटना होला भन्नेतर्फ सोच्न लागेनन्। बरु कसैले बिहेका लागि भगायो कि भन्नेमा उनीहरूको ध्यान गयो।

‘भदौ ४ गते रातीदेखि छोरी गायब भइछ, ५ गते बिहान हामीलाई खबर आएपछि हामीले छोरीको खबर बुझ्न थाल्यौं,’ उनले भने, ‘पाँच गते बिहानै बुहारी भैंसीलाई घाँस काट्न लेकतिर गएकी रहिछन्, हामीले पनि छोरी अन्टीसँगै गइहोली भन्ने सोच्यौं। खासै मतलब गरेनौं। पाँच गते बिहान ११ बजेसम्म छोरी घर आउँछे होला भनेर पर्खियौं।’

गाउँघरमा सानै उमेरमा विवाह गर्ने चलन नहटेकाले परिवारको ध्यान त्यतातिर गएको उनले बताए। त्यही कुरा सोध्न परिवारले निरुलाई सहयोगीका रूपमा राखेकी काकीलाई फोन गरे। सुरूका केही घण्टा काकीको पनि फोन लागेन। पछि फोन लागेपछि काकीले निरु आफूसँग लेक नगएको खबर दिइन्।

‘६ गते हामीले पूर्णिमाको अवसरमा देउता मान्यौं, त्यो बेलासम्म पनि छोरीलाई कसैले भगाएर लगेछ भने खबर आइहाल्ला भनेर कुर्‍यौं,’ रत्नले भने, ‘त्यसबेलासम्म पनि खबर नआएपछि मैले गाउँ-गाउँमा छोराहरूलाई खोज्न पठाएँ, छोराहरूले पनि निरु भेटिएको खबर ल्याएनन्। नाता पर्ने एक जनामाथि भगाएको शंका पनि थियो।’

परिवारले यता खबर कुर्दासम्म निरुको मृत्यु भइसकेको रहेछ।

बुवा रत्नका अनुसार ५ गते नै एक जना गाउँकै ठकुरी समुदायका युवाले मकैबारीभित्र शव फेला पारेका रहेछन्। तर उनले परिवारलाई प्रत्यक्ष खबर गरेनछन्।

७ गते गाउँकी एक जना महिला घाँस काट्न त्यही मकैबारीमा गएकी रहिछन्। उनले पनि शव देखिछन्, तर परिवारलाई नभनेर एक जना पसलेलाई खबर छोडिछन्। ती पसलेले रत्नसँग गएर हतासमा त्यो खबर सुनाएछन्।

‘सुरूमा देखेका मानिसले खबर गरिदिएको भए सग्लै शव पाउँथ्यौं कि! उनले एक जना गाउँका शिक्षकसँग त्यो खबर छोडेर गएछन्, ती शिक्षकले शव देखेका व्यक्तिलाई वडाध्यक्षलाई खबर गरिदेऊ भनेका रहेछन्। त्यो पनि गरेनछन्,’ रत्नले भने, ‘घाँस काट्न गएकी महिलाले गाउँका पसलेलाई भनेपछि उहाँ आएर मसँग छोरीको खबर केही आयो कि भनेर भन्नुभयो, त्यसपछि बारीमा शव भएको खबर आफूले पाएको भन्नुभयो।’

उनले अगाडि भने, ‘मसँग आएर उहाँले ‘छोरी त कसले मारेर फालिदिएछ, शव मकैबारीमा छ भन्ने सुनेको छु, अब के गरौं’ भनेर भने, मेरो एक जना भाइ पर्ने राजनीतिमा छन्, उनले प्रहरीलाई फोन गरे। प्रहरी आए। म पनि प्रहरीसँग गएर बल्ल शव देखेँ।’

त्यतिबेलासम्म निरुको शवको कम्मरमुनिको भाग र अनुहारको भाग जनावरले छियाछिया पारिसकेको थियो। अनुहार पनि चिन्न सकिने अवस्था थिएन। बुवा रत्नले छोरीले लगाएको चप्पल र कपडाबाट निरुकै शव भएको ठम्याए।

यसरी निरुको शव भेटिएको १६ महिना बितिसकेको छ। अहिलेसम्म पनि त्यो घटनाको यकिन तथ्य आइसकेको छैन। हत्या भएको भए पनि हत्यारा फेला परेका छैनन्।

‘छोरीको शव भेटिएको १६ महिना भइसक्यो, गाउँका मानिस कोही मुखै खोल्दैनन्, प्रहरीले पनि मैंले शंका गरेका जति मानिसलाई सोधिराखेको छ,’ उनले भने, ‘हामी बाबाआमा पढेलेखेका छैनौं, छोरी फर्केर आउने कुरा भएन, मार्ने मान्छेलाई सजाय भईदिएको भए पनि मनलाई शान्त पार्न हुन्थ्यो।’

जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार निरुको हत्या भएको देखिएको छ।

‘घाँटीमा सल कसेको छ, पोष्टमार्टम रिपोर्ट पनि आएको छ, यसका आधारमा हेर्दा मर्डर नै हो,’ कालीकोटका प्रहरी प्रमुख जयश्वर रिमालले भने, ‘अहिले पनि अनुसन्धनकै प्रक्रियामा छ, म जिल्लाको प्रमुख भएर आएदेखि मैंले पनि यो घटनालाई प्राथमिकतामा राखेर काम गरिरहेको छु।’

प्रहरी नायव उपरीक्षक रिमालले १६ महिना अघिको यो घटनालाई अनुसन्धान गर्ने निकायले सबै आयामबाट हेरिरहेको बताए। उनका अनुसार प्रदेश प्रहरी, सम्बन्धित जिल्ला प्रहरी र अनुसन्धानको टोलीले संयुक्त रुपमै घटनाको अनुसन्धान गरिरहेका छन्।

‘अहिलेसम्म त हामीले ३ दर्जनसम्म मानिसलाई ल्याएर सोधपुछ गरिसकेका छौं। उनीहरूले कुनै पनि नयाँ सूचना आउने कुरा बताएका छैनन्। नुसन्धानका क्रममा गर्नुपर्ने धेरै काम गरिसकिएको छ,’ डिएसपी रिमालले भने, ‘घटनाको बारेमा भदौ ७ गते जाहेरी दर्ता भएको रहेछ, ३ गतेको घटना ७ गते मात्र प्रहरीलाई खबर भएकाले पनि अनुसन्धानमा केही समस्या छ।’

प्रहरीलाई खबर हुँदासम्म शवको कम्मरमुनिको भाग जनावरले खाईसकेकाले पनि अनुसन्धानमा केही चुनौती भएको उनले बताए।

पीडित किशोरीको हत्यारा पक्राउ गरी परिवारलाई न्याय दिन भन्दै जिल्लास्थित विभिन्न नागरिक समाज, राजनीतिक दलका युवा संगठनहरुले पनि बेलाबेला प्रशासनको ध्यानाकर्षण गराईरहेका छन्।

उनीहरुले कालीकोटदेखि काठमाडौंसम्म ध्यानाकर्षणका कार्यक्रम गर्दै न्यायको माग गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्