‘ब्रेन डेथ’पछि कुन कुन अंग गर्न मिल्छ ‘ट्रान्सप्लान्ट’ ?

खबर खुराक
खबर खुराक २८ पुष २०७९, बिहीबार
5 Min Read
Aa

‘ब्रेन डेथ’ अर्थात् मस्तिष्क मृत्यु भएका एक जना व्यक्तिबाट ८ जनालाई बचाउन सकिन्छ । दुई वटा मिर्गौला, दुई वटा फोक्सो, मुटु, कलेजो, प्यानक्रियाज र सानो आन्द्रा अरुमा प्रत्यारोपण गर्न सकिन्छ ।
आखिर मृत्युपछि मानिसको शरीर खरानी हुने हो ।

धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक तथा वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा पुकारचन्द्र श्रेष्ठले ब्रेन डेथबारे जनचेतनाको अभाव रहेको सुनाउँछन् । ब्रेन डेथ के हो, ब्रेन डेथ हुँदा त्यसको अवस्था कस्तो हुन्छ ? ब्रेन डेथको प्रमाणित कसरी गर्ने, ब्रेन डेथपछि शरीरका कुन कुन अंगले काम गर्छन् ? कुन अंग ट्रान्सप्लान्ट अर्थात् प्रत्यारोपण गर्न मिल्छ ? धेरैको मनमा जिज्ञासा हुन्छ ।

ब्रेन डेथ अर्थात् मस्तिष्क मृत्युबारे डा. श्रेष्ठले यस्तो जानकारी दिन्छन् –

puskar shreth

के हो मस्तिष्क मृत्यु ?

मस्तिष्कले गर्ने सम्पूर्ण काम बन्द भई रिसिभ अनि रेस्पोन्स गर्न छाडेपछि पनि शरीरका अन्य अंगले केही समय काम गरिरहेको हुुन्छ । मस्तिष्कले काम नगरेको अवस्थामा अन्य अंगले काम गरिरहेको अवस्थालाई मस्तिष्क मृत्यु भनिन्छ । सडक दुर्घटनामा परेर, रुखबाट लडेर या कुनै कारणले टाउकोमा गम्भीर चोट लागेमा मस्तिष्कको मृत्यु हुन सक्छ । यस्तै, मस्तिष्कघात ‘स्ट्रोक’ हुँदापनि मस्तिष्क मृत्यु हुन्छ ।

जस्तै, ब्लडप्रेसर हाइ भई रगतको नसा फुटेर मस्तिष्कघात हुँदा, मस्तिष्कमा चोट लागेर यसको कार्य क्षमतामा ह्रास आउँदा, औषधि उपचार असफल भई मस्तिष्कले गर्ने कार्य सम्पूर्ण बन्द भई कहिल्यै पनि नफर्किने गरी कार्य क्षमता बन्द हुनुलाई साधारण भाषामा मस्तिष्क मृत्यु भनिन्छ ।

कसरी प्रमाणित गर्ने ?

मस्तिष्क मृत्यु भनेर प्रमाणित गर्नका लागि ब्रेन डेथपछि अंग प्रत्यारोपणसम्बन्धि गाइडलाइनमा उल्लेखित बुँदा पुरा गरेर मात्रै प्रमाणित गर्न सकिन्छ । यसका लागि चिकित्सकीय जाँच आवश्यक पर्छ ।

ब्रेन डेथको शंका लागेका व्यक्तिलाई दुईजना वरिष्ठ चिकित्सकले धेरै खालका परीक्षण गरेर अब मस्तिष्कले पूर्ण रुपमा काम गर्न सक्दैन भनेर एकीन गर्नुपर्छ । वरिष्ठ चिकित्सकमा एकजना एनस्थेसिया हुनैपर्छ । ती विशेषज्ञले शंका गरिएको ६ घण्टाको फरकमा दुई पटक जाँच्नुपर्छ ।

सम्पूर्ण कुरा परीक्षण गरेपछि कुनै पनि हालतमा यो मस्तिष्क फर्किन सक्दैन भनेर विशेषज्ञ चिकित्सकहरुले एकीन गरेर मात्रै मस्तिष्क मृत्यु भनेर प्रमाणित गरिन्छ ।

उनी भन्छन्, ‘कुनै पनि हालतमा सो मस्तिष्क फर्किदैन भनेर एकीन उनीहरुले गर्छन् भने त्यो भनेको मस्तिष्क मृत्यु हुनु हो । मस्तिष्कको कार्य क्षमता पूर्ण रुपमा फेरि नफर्किने गरी बन्द हुनु मस्तिष्क मृत्यु हो ।’

प्रत्यारोपण गर्न नमिल्ने अवस्था

ब्रेन डेथ भनेर चिकित्सकले प्रमाणित गरे पनि कतिपय अवस्थामा अंग प्रत्यारोपण गर्न मिल्दैन । ब्रेन डेथ भएको व्यक्तिले दुर्घटना हुनुभन्दा अघि कुनै लठ्ठ पार्ने औषधि प्रयोग गरेको खण्डमा प्रत्यारोपण गर्न मिल्दैन ।
यद्यपि कहिलेकाही लठ्ठ पार्ने औषधिले मस्तिष्क मृत्यु भनेर झुक्याउन पनि सक्छ । यस्तो अवस्थामा राम्रोसँग जाँच पड्ताल गर्नुपर्छ । यस्तै, शरीर एकदमै चिसो भएको अवस्था हुनु हँुदैन ।

कुनैपनि औषधि तथा नशालु पदार्थ सेवन गरेको हुनु हुँदैन । मांसपेशी लठ्ठ्याउने औषधि सेवन गरेको हुनु हुँदैन । शरीरमा एसिड एण्ड इलोक्ट्रोलाइट विग्रिएको हुनुहुँदैन । ब्लडप्रेसर एकदमै कम भएमा पनि ब्रेन डेथ भएको अवस्थामा अंग प्रत्यारोपण गर्न मिल्दैन ।

कुन कुन अंगले काम गर्छ ?

चिकित्सकले ब्रेन डेथ भनेर घोषणा गर्दा अन्य अंगहरु चलिरहेको हुन्छ । मुटु चलिरहेको हुन्छ, ब्लड प्रेसर पनि भइरहेको हुन्छ, फोक्सो पनि भेन्टिलेटरमा राखेर  चलिरहेको हुँदा त्यस समयमा बिरामीको श्वासप्रश्वास प्रक्रिया पनि चलिरहेको हुन्छ ।

त्यस्तै, मिर्गौला, फोक्सो, कलेजो, प्यानक्रियाज, सानो आन्द्रासँगै अन्य अंगहरु चलिरहेको हुन्छ । मस्तिष्क मृत्यु भएपनि अरु अंगहरु मृत्यु भइ नसकेको अवस्था हो । मस्तिष्क मृत्युपछि तत्काल झिकेर प्रत्यारोपण गर्न मिल्छ । यद्यपि मस्तिष्क मृत्युपछि अन्य अंगहरु विस्तारै काम गर्ने र क्षमतामा ह्रास आइ क्षति हुन्छ ।

त्यसैले, मस्तिष्क मृत्यु हुने र अन्य अंगहरु सामान्य क्षति भएको अवस्थामा निकाल्नु नै सबैभन्दा उपयुक्त हो । ढिला गरेमा ती अंग काम लाग्दैन ।

विश्वमा ट्रान्सप्लान्टको टेन्ड बढ्दै

ब्रेन डेथ भएको एक जना व्यक्तिबाट आठ जनाले पुनर्जीवन प्राप्त गर्छन् । दुई वटा मिर्गौला, दुई वटा फोक्सो, मुटु, कलेजो, प्यानक्रियाज र सानो आन्द्राले काम गर्छ । त्यस्तै, अन्य अंगहरु आँखाले ज्योति दिने, अनुहारको ट्रान्सप्लान्ट गर्ने, पाठेघरको ट्रेन्सप्लान्ट गरेर बच्चा पनि जन्माउन सकिन्छ ।

पछिल्लो समय विश्वमा अंगहरुको ट्रान्सप्लान्ट गराउने दायरा बढ्दै गएको छ । पहिले आठ अंग मात्रै प्रत्यारोपण गराउन सीमित थियो । पछिल्लो समयमा प्रत्यारोपण गराउने अंगहरुको दर पनि बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्