निक्षेपको अधिकतम ब्याजदर ११ प्रतिशत

खबर खुराक
खबर खुराक २८ पुष २०७९, बिहीबार
2 Min Read
Aa

 काठमाडौं : वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाउने भद्र सहमति गरेका छन्। नयाँ ब्याजदर माघ १ गतेदेखि कार्यान्वयनमा आउनेछ। संघको नयाँ नेतृत्वको पहिलो बैठकले राष्ट्र बैंकको सीमामा रहेर निक्षेपको ब्याजदर घटाउने निर्णय गरेको हो।

संघका नवनिर्वाचित अध्यक्ष सुनील केसीका अनुसार निक्षेपमा सुधार हुँदै गएपछि बैंकहरूबीच ब्याजदर घटाउने सहमति भएको हो। ‘यसबीचमा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि सहज स्थितिमा आएको महसुस भएको छ,’ केसीले अन्नपूर्ण पोस्ट्सँग भने, ‘तरलतामा पनि सकारात्मक संकेत पाएपछि हामीले ब्याजदर घटाउने सहमति गरेका छौं। राष्ट्र बैंकको सीमामा रहेर ब्याजदर घट्नेछ।’ हाल वाणिज्य बैंकमा निक्षेपको औसत अधिकतम ब्याजदर १२.१३ प्रतिशत छ। केन्द्रीय बैंकको सीमामा रहँदा अधिकतम ब्याजदर १०.९२ प्रतिशत कायम हुनेछ। केसीका अनुसार सहमतिनुसार वाणिज्य बैंकले निक्षेपको ब्याजदर अधिकतम ११ प्रतिशतको हाराहारीमा कायम हुनेछ।

एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत सुनील केसी नेपाल बैंकर्स संघको विशेष साधारणसभाले केसीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो।  निवर्तमान अध्यक्ष अनिलकुमार उपाध्यायको कृषि विकास बैंकमा कार्यकाल सकिएर बिदा भएसँगै केसी कायममुकायम अध्यक्ष थिए। बुधबार सम्पन्न संघको विशेष साधारणसभाले केसीलाई निर्विरोध अध्यक्ष निर्वाचित गरेको हो।

संघको नयाँ कार्यसमितिमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला उपाध्यक्ष बनेका छन्। संघको कार्यसमिति सदस्यमा अजयविक्रम शाह, दीपककुमार द्वे, कृष्णबहादुर अधिकारी, रोशनकुमार न्यौपाने, सुदेश खालिङ र सुमन शर्मा रहेका छन्।

बैंकको ब्याजदर महँगो भयो भन्दै निजी क्षेत्रले घटाउन लबिङ गर्दै आएका थिए। नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालयलगायत सरकारसँग ब्याजदर घटाउन लबिङ गर्दै आएका थिए। निक्षेपको ब्याजदर घटेसँगै अर्को महिनाबाट कर्जाको ब्याजदर घट्ने भएको छ।

प्रतिक्रिया दिनुहोस्