सेयर बजारमा ४१ अंकको करेक्सन,१२ समूहको सूचक रात्तै,५ अर्बको कारोबार

खबर खुराक
खबर खुराक २८ पुष २०७९, बिहीबार
2 Min Read
Aa
Frustrated business man looking at the falling graph of a stock market struck in financial crisis

काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन बिहीबार दोहोरो अंकको करेक्सन आएर  बजार बन्द भएको छ। यसदिन ४१.०२ अंकले सेयर बजार ओरालो लागेको हो।

साताको पहिलो र दोस्रो कारोबार दिन बढेको सेयर बजार मंगलबारदेखि ओरालो लागेको हो।

पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २०.६९अंकले बढेको थियो। सो दिन ५ अर्ब ४५ करोडको सेयर किनबेच भएको थियो। सोमबार परिसूचक ४७.७६ अंकले बढेर २२११.३८ विन्दुमा पुग्यो। सो दिन ५ अर्ब ३१ करोडको सेयर कारोबार भएको थियो।

दुई दिन निरन्तर बढेको बजार मंगलबार दोहोरो अंकको करेक्सन आयो। सूचक २१.३४ अंकले घटेर २१९०.४२ विन्दुमा झरेको थियो। सो दिन नेप्से घटेपनि ७ अर्ब माथिको सेयर कारोबार भएको थियो। बुधबार सार्वजनिक बिदा परेकाले कारोबार भएन।

सेयर कारोबारको अन्तिम दिन आज बिहीबार नेप्से परिसूचक नेप्से परिसूचक ४१.०२ अंकले ओरालो लागेको छ। यसदिन नेप्से २१९४.४१ विन्दुमा अडिएको छ। आज २५२ कम्पनीको १ करोड ४४ लाख ८२ हजार ९५९ कित्ता सेयर  ५ अर्ब ४७ करोड ७६ लाख २४ हजार ७२४ रुपैयाँमा खरिदबिक्री भयो। आज ८३ हजार ११३ पटक सेयर कारोबार भयो।

कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को मूल्य घट्यो भने १ को मात्रै बढ्‍यो। फाइनान्स र  इन्भेस्टमेन्ट समूहको सूचक ३ प्रतिशत बढिले घट्यो। १२ समूहको सूचक ओरालो लाग्दा ट्रेडिङ समूहको सूचक ०.६६ प्रतिशतले बढ्यो।

तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो। कुमारी धनवृद्धि योजना,सिंगटी हाइड्रो इनर्जी र बराही हाइड्रो पावर पब्लिकको सेयर मूल्य १० प्रतिशतले बढेको हो।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको २२ करोड २० लाख मूल्यको सेयर खरिदबिक्री भयो। यस्तै रिद्धी पावरको १७ करोड र नगदी ग्रुपको १६ करोड मूल्य बढीको सेयर कारोबार भयो।

प्रतिक्रिया दिनुहोस्