सभामुखमा माओवादीको साथ खोज्दै कांग्रेस

खबर खुराक
खबर खुराक २९ पुष २०७९, शुक्रबार
7 Min Read
Aa

काठमाडौं : प्रधानमन्त्रीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएको कांग्रेसले सभामुखमा माओवादीको साथ खोजेको छ। प्रतिनिधिसभा सभामुखका लागि माघ ५ गते चुनाव हुँदैछ। कांग्रेससँगको गठबन्धन तोडेर माओवादी केन्द्रले एमालेसँग सत्ता समीकरण गरेको थियो। तर, कांग्रेसले प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई विश्वासको मत दिएको थियो।

प्रधानमन्त्रीमा सघाएका कारण कांग्रेसले सभामुखमा माओवादीको साथ खोजेको हो। त्यस विषयमा कुराकानी गर्ने जिम्मा कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ। पार्टीभित्रै बाट पनि विश्वासको मत दिएको विषयमा विरोधका स्वर सुनिन थालेपछि बिहीबार पार्टी सभापति शेरबहादुर देउवाले पदाधीकारी बैठक बोलाए। पदाधीकारी बैठकबाट स्पष्ट रूपमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचनका विषयमा अन्य दलहरूसँग छलफल गर्ने निर्र्णय कांग्रेसले गरेको हो। बैठकले अन्य दलहरूसँग छलफल र समन्वयन गर्ने जिम्मेवारी भने पार्टीसभापति देउवालाई नै दिएको छ।

सभापति देउवा निवास धुम्बाराहीमा बसेको बैठकले सभामुख र उपसभामुख निर्वाचनबारे अन्य दलसँग छलफल गर्ने निर्णय गरेको पार्टी सहमहामन्त्री बद्री पाण्डेले बताए। पाण्डेका अनुसार सभामुख र उपसभामुख निर्वाचनबारे संसद्मा प्रतिनिधित्व गर्ने अन्य दलहरूसँग छलफल गर्ने निर्णय भएको छ। बैठकबारे जानकारी दिँदै पाण्डेले भने, ‘सभामुख र उपसभामुखमा उम्मेदवारीबारे दलहरूसँग छलफल गरेर निर्णयमा पुग्छौं। प्रदेशको सन्र्दभमा भने प्रदेश कार्य समितिले निर्णय गर्नेछ।’ सरकारलाई विश्वासको मत दिएर विवादमा आएको कांग्रेस लगत्तैको सभामुख र उपसभामुखको निर्वाचनमा माओवादी केन्द्रको साथ चाहेको छ।

बैठकपछि सहमहामन्त्री बद्री पाण्डेले सभामुख र उपसभामुख निर्वाचनमा दलहरूबीच छलफल गर्नेबारे पदाधिकारीबीचमा अनौपचारिक छलफल भएको बताए। ‘सभामुख र उपसभामुखको निर्वाचनमा हामी एक्लैले जित्ने अवस्था छैन। त्यसैले ती पदमा हामीले जित्ने अवस्था बनाउन अन्य दलसँग सहकार्य गर्नु आवश्यक हुन्छ। हामी सत्ता पक्ष र विपक्षमा रहेका दलहरूसँग पनि छलफल गरेरमात्रै निर्णयमा पुग्छौं,’ सहमहामन्त्री पाण्डेले भने। कांग्रेसका अर्का एक पदाधिकारीले भने, ‘हामीले विश्वासको मत दियौं बाँकी सहमति छलफल सभापतिजीले प्रधानमन्त्रीलगायत अन्य दलसँग गर्नहुन्छ। ‘अब राष्ट्रपति, सभामुख र उपसभामुखको निर्वाचनमा कसरी अघि बढ्ने ? सहकार्य गरौं भनेर कुरा राख्ने आधार बनेको छ। यो सबैको जिम्मेवारी हामीले पार्टी सभापतिलाई दिएका छौं। हामीले दिएको विश्वासको मतलाई माओवादीको साथ मिल्नेमा हामी विश्वस्त छौं।’

कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले बिहीबार विराटनगरमा सञ्चारकर्मीहरूसँग राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई विचार गरेर आफूहरूले सरकारलाई विश्वासको मत दिएको बताएका छन्।

कोइरालाले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा देशभरका सबै सांसदहरूले मत हाल्न पाउने र उम्मेदवार पनि हुन पाउने अधिकार भएकाले आफूहरूले पनि उम्मेदवारी दिने बताए। कोइरालाले भने, ‘विश्वासको मत सबै कुरालाई विचार गरेरै दिइएको हो। अरू निर्वाचनहरू बाँकी नै छन्। सभामुख, उपसभामुखको निर्वाचनबाहेकका निर्वाचनमा पनि हामी उम्मेदवारी दिन्छौं।’ कोइरालाले थपे, ‘राष्ट्रपति उपराष्ट्रपतिको निर्वाचनमा देशभरका सांसदले भोट हाल्नुहुन्छ। यो सबैलाई विचार गरेर हामीले सरकारलाई विश्वासको मत दिएका हौं।’

कांग्रेसले सरकारको गुण र दोषका आधारमा प्रश्न उठाउने र समर्थन गर्ने भन्दै सशक्त प्रतिपक्षको भूमिका निभाउने बताए। उनले भने, ‘प्रतिपक्षको बेन्चमा बस्छौं। गुण र दोषको आधारमा सरकारको समर्थन र विरोध गर्छौं तर सरकारमा जाँदैनौं।’ यद्यपि, सरकारमा जाने विषयमा कांग्रेसले बार्गेनिङ गरेको भन्ने हल्लाका विषयमा भने आफुलाई कुनै जानकारी नभएको बताए।

त्यस्तै, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएकोमा पार्टीभित्र कुनै विवाद र विरोध नभएको स्पष्ट पारे। ‘पार्टीमा कुनै विरोध छैन। पार्टीबाट निर्णय गरेर नै सरकारलाई विश्वासको मत दिएका हौं। विश्वासको मत दिँदैमा हाम्रो प्रतिपक्ष दलको हैसियत गुम्दैन’, उनले भने, ‘महामन्त्री द्वयलगायतले केही फरक मत राखे पनि पार्टीको निर्णय उहाँहरूले पनि मानेको अवस्था हो।’

कांग्रेसका अर्का नेता एनपी साउदले कांग्रेसले बार्गेनिङको उद्देश्य राखेर विश्वासको मत दिएको भन्नु नै गलत भएको बताए। देशलाई तत्काल मध्यावधी निर्वाचनमा जानबाट बचाउनलाई विश्वासको मत दिएको उनको भनाइ छ। उनले भने, ‘एमाले अध्यक्ष केपी शर्मा ओली सबै गुमाउन तयार हुनुहुन्थ्यो। उहाँको एक मात्र उद्देश्य गठबन्धन भत्काउनेमा थियो। विगतमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बन्न नदिन अनेकौं षड्यन्त्र गर्ने नेताले किन एकाएक प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार हुनुभयो ?’, साउदले भने, ‘संसद्मा कांग्रेस विपक्षी मोर्चामै रहनेछ। सरकार अस्थिर नहोस्, मुलुक फेरि मध्यावधितिर नजाओस्, जनताको मतको कदर होस् भनेर मात्रै कांग्रेसले सरकारलाई समर्थन गरेको हो।’

सात दलको समर्थनमा गत पुस १० मा प्रचण्ड प्रधानमन्त्री नियुक्त भए। प्रधानमन्त्री नियुक्त हुने बेला प्रचण्डसँग केही स्वतन्त्रसमेत गरी १६९ जना सांसदको समर्थन थियो। त्यसैमा कांग्रेसको ७९ मत पनि थप भयो। यो कत्तिको आवश्यक थियो या थिएन भन्ने विषयमा प्रतिक्रिया दिँदै कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले भने, ‘अहिले २०५१ सालमा मनमोहन अधिकारीलाई समर्थन गर्दाको समय जस्तै गरी कांग्रेसले उही कुरा दोहो¥यायो भनिन्छ। तर,  त्यतिबेला देश फेरि मध्यावधि चुनावमा नजाओस् भनेर कांग्रेसले एमाले नेता अधिकारी नेतृत्वको सरकारका पक्षमा विश्वासको मत दियो। अहिले प्रचण्ड नेतृत्वमा रहेको सरकारलाई स्पष्ट बहुमत हुँदाहुँदै कांग्रेसले विश्वासको मत दिएको छ। कुनै पनि हालतमा तुलना गर्न मिल्दैन।’

रिजालले कांग्रेसले प्रमुख प्रतिपक्षीका रूपमा नबस्दा र बहुमत भएका प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदा यसको असर भावी दिनमा संसदीय राजनीति, सरकार र कांग्रेसमा पर्ने पनि बताए। पछिल्लो गतिविधि हेर्दा कांग्रेस प्रतिपक्षमा बस्न मानसिक रूपमा तयार भएको नदेखिने भन्दै रिजालले भने, ‘कांग्रेसले अहिले संगठन निर्माणतर्फ ध्यान दिएर स्पष्ट बहुमतको सरकार बनाउनेतर्फ कांग्रेसको ध्यान जानुपर्छ। बन्द कोठाभित्र यदि लेनदेनका सहमति भएका छन् भने त्यो गल्ति हुन दिनुहुँदैन। अहिले कांग्रेसको २०७४ को चुनावभन्दा पनि मताधिकार खुम्चिएको छ। त्यसतर्पm गम्भीर भएर लाग्ने बेला हो। यतिबेला कांग्रेसको दृष्टिकोण सत्ता बाहिर पार्टी सुधारमा हुनुपर्छ।’

यसैगरी कांग्रेसका अर्का नेता भुपेन्द्रजंग शाहीले बारम्बार कांग्रेसको विश्वासमाथि लात हानेका अस्थिर र अनैतिक राजनीतिका चतुर खेलाडी प्रचण्डलाई कांग्रेसले लत्रिएर विश्वासको मत दिनु भनेको कांग्रेसले सत्ताको आगाडि शिर झुकाउनु र लोकतान्त्रिक मूल्य मान्यताको अबमुल्यन गर्नु जत्तिकै भएको बताए। उनले भने, ‘कांग्रेससँग गठबन्धन गरेर चुनाव जित्ने अनि आफैंले प्रतिगामीका मतियार भनेका केपी ओलीसँग घाँटी जोडेर कुर्चीका लागि सबैकुरालाई तिलाञ्जली दिएको भन्दै उनलाई प्रचण्डमा छेपारो प्रवृत्ति रहेको प्रष्ट देखिन्छ।’ प्रचण्डलाई सजाय दिनुको साटो झन् मलजल गर्ने कुरा कांग्रेसी कार्यकर्ताको भावनाविपरीत रहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्