कालीगण्डकी गाउँपालिकाको १२औं गाउँसभा सम्पन्न

मिलन विश्वकर्मा
मिलन विश्वकर्मा २९ पुष २०७९, शुक्रबार
4 Min Read
Aa

पाल्पा, २९ पुस । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको १२औं गाउँसभा शुक्रबार सम्पन्न भएको छ ।

सभाले चालु आर्थिक वर्षका लागि ६५ करोड ६५ लाख ७२ हजार ५५४ रुपैयाँ ९८ पैसा बराबरको संशोधित बजेट पारित गरेको छ। यसअघिको ५६ करोड, ९३ लाख ५० हजार बजेट थियो। करिब ९ करोड थप बजेटसहित संशोधित बजेट पारित गरिएको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । बजेट तथा कार्यक्रमलाई प्रभावकारी कार्यान्वय गर्न गाउँसभा सदस्यलाई आग्रह गर्नुभयो । बजेट जति नै राम्रो भएपनि कार्यान्वयन पक्ष प्रभावकारी नभए यसले कुनै अर्थ राख्दैन् । इमानदार भएर जनताको हित र गाउँपालिकाको विकासमा बजेट कार्यान्वयमा लैजान उहाँले निर्देशन दिनुभयो ।

यसैगरी ५ वटा विधेयक समेत पारित गरिएको छ । ३ वटा नयाँ विधेयक र २ वटा संशोधित विधेयक गाउँसभामा पेस भएका थिए । अध्यक्ष थापाले पेस गर्नुभएका संशोधित बजेट र ती विधेयक सर्वसम्म पारित भएका हुन् । बालबालिका सम्बन्धी ऐन २०७९, भूमि विधेयक २०७९, स्थानीय साझेदारी ऐन २०७९, स्थानीय कृषि व्यवसाय ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक, स्थानीय स्वास्थ्य तथा सरसफाई ऐन, २०७४ संशोधन गर्न बनेको विधेयक पारित गरिएको छ ।

पालिकाको लोगो र झण्डा सार्वजनिक

गाउँसभाका अवसरमा पालिकाको लोगो र झण्डा सार्वजनिक गरिएको छ । अध्यक्ष खिमबहादुर थापा, उपाध्यक्ष सावित्रा कोइराला र प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले संयुक्त रुपमा सार्वजनिक गर्नुभएको हो । पालिका गान भने यस अघिनै सार्वजनिक भइसकेको छ ।

गाउँपालिका भित्रको कला, संस्कृति र महत्वपूर्ण स्थानको पहिचान झल्कने गरी लोगो र झण्डा निर्माण भएको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई लोगोमा समावेश गरिएको छ । पालिका भित्र रहेका धार्मिक तथा ऐतिहासिक महत्व बोकेका मन्दिर तथा स्थललाई लोगोमा सचित्र राखिएको उहाँले बताउनुभयो । झण्डा र लोगोले यहाँको मौलिकतालाई प्रवद्र्धन गर्ने विश्वास गरिएको छ । पालिका गान, लोगो र झण्डाले गाउँपालिकाको विकास र समृद्धिका लागि निकै ठूलो महत्व राख्ने थापाले बताउनुभयो ।

लोगो र झण्डा बनाउनका लागि खुला प्रतिस्पर्धानै आव्हान गरिएको थियो । गाउँपालिकाको कार्यालयमा प्राप्त लोगो मध्ये कालीगण्डकी गाउँपालिका–५ की रितिजा श्रेष्ठले निर्माण गरेको लोगोको डिजाइनलाई छनोट गरिएको छ । श्रेष्ठ आइटी इन्जिनियर हुनुहुन्छ । यस्तै सोही गाउँपालिका वडा नम्बर ७ का मदन भट्टराइले बनाएको झण्डा छनोटमा परेको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले बताउनुभयो । अब गाउँपालिकाले यीनै डिजाइनका लोगो र झण्डा प्रयोग गर्नेछ ।

लोगोमा सूर्योदयसहितको निलो आकाश, पहाडी क्षेत्र, आलमदेवी मन्दिर, आँधिमुहानदेखि सेतीवेनीसम्म सञ्चालन हुने जलयातायात अर्थात् स्टिमर, कालीगण्डकी जलविद्युत एक परियोजना, यहाँको मुख्य कृषि बालीका रुपमा रहेको धान र गहुँका बाला, सयपत्री फूल, ड्रागन फ्रुट खेती, तीनमुखे पुल, शीला शालिग्राम समेटिएको छ । यस्तै झण्डामा रातो, खैरो र निलो रंगले सजाइएको छ। दुइ हातभित्र एकता, सहकार्य र सद्भावको सन्देश दिन खोजिएको सचित्र उल्लेख छ। सातवटा प्रतिक छन् । उज्यालो, प्रगति, वीरता र पवित्र तीर्थस्थल मुक्ति क्षेत्रलाई समेटिएको पाण्डेले बताउनुभयो ।

पालिका गान भने केही वर्ष पहिले सार्वजनिक गरिसकिएको छ । पालिका गानमा यहाँका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुने खालका शब्द संयोजन गरिएको छ । पलिका गान यहाँका विद्यालय तथा विभिन्न कार्यक्रममा गाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्