आइतवार पोखरामा दुर्घटनामा परेको यती एयरलाइन्सको ९ एनएसी एटीआर ७२ नामक विमानका दुई पाइलटमध्ये एक थिइन्, अञ्जु खतिवडा ।
क्याप्टेन कमल केसीसँगै विमान उडाइरहेकी खतिवडा मोरङको विराटनगर–५ को चाँदनी चोककी हुन् ।
दुःखद् संयोग के परेको छ भने उनका श्रीमानको पनि २९ जेठ २०६३ मा यती एयरलान्सकै विमान दुर्घटनामा मृत्यु भएको थियो ।
जुम्ला विमानस्थलमा भएको उक्त दुर्घटनामा अञ्जुका श्रीमान् को–पाइलट दीपक पोखरेलसहित ९ जनाले ज्यान गुमाएका थिए ।
अञ्जुका श्रीमानको मृत्युपछि उनले आफैं पाइलट बन्ने र श्रीमानको सपना साकार पार्ने अठोट गरिन् । श्रीमानको मृत्युको करीब ४ वर्षपछि अञ्जु अमेरिकाबाट पाइलट कोर्स पूरा गरेर नेपाल फर्किएकी थिइन् ।
नेपाल आएपछि यती एयरलाइन्समा नै आबद्ध भएकी अञ्जु एक वर्ष पहिले मात्रै क्याप्टेन बनेकी थिइन् ।
नेपाल भित्रिएको सबैभन्दा ठूलो र शहरी क्षेत्रका विमानस्थलमा मात्रै अवतरण गर्ने एटीआर ७२ जहाजबाट उडान थालेकी अञ्जु आइतवार भएको यतीकै जहाज दुर्घटनामा परिन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार दुर्घटनास्थलमा ६८ जनाको शव भेटिएको छ । अन्य ४ जनाको खोजी कार्य जारी छ ।
नेपाली सेनाको हेलिकप्टर उडाउने उनका श्रीमान पोखरेल यती एयरमा आबद्ध भएर को–पाइलट बनेका थिए ।
उनी यतीको विमान दुर्घटनामा परेको १६ वर्षपछि अञ्जु पनि दुर्घटनामै परिन् । श्रीमान र श्रीमती दुवै पाइलट पेशामा लाग्नु र एउटै कम्पनीको विमान दुर्घटनामा पर्नु अचम्मको संयोग भएको अञ्जुका एक आफन्तले बताए ।
अञ्जुले प्राथमिक शिक्षा विराटनगरमै सकेर स्नातक तहसम्मको अध्ययन भारतबाट गरेकी थिइन् । अञ्जु र दीपकको २२ वर्षकी छोरी छिन् ।
उनले पाइलट भइसकेपछि काठमाडौंका सुवास केसीसँग दोस्रो विवाह गरेकी थिइन् । व्यापारिक पृष्ठभूमिका केसीपट्टिबाट ७ वर्षीय छोरा रहेको अञ्जुका ती आफन्तले बताए ।
छोरीले सानैमा बुवा र छोराले सानैमा आमा गुमाएको घटनाले आफूलाई दुःखी बनाएको ती आफन्तले बताए ।
प्रतिक्रिया दिनुहोस्