पोखराको विमान दुर्घटनामा पत्रकार त्रिभुवन पौडेलको निधन

खबर खुराक
खबर खुराक १ माघ २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं:  पत्रकार त्रिभुवन पौडेलको निधन भएको छ। पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा पत्रकार पौडेलको निधन भएको हो। स्वर्गीय पौडेल पोखरा हटलाइन दैनिकका प्रकाशक/सम्पादक थिए।

केहीदिन अघि काठमाडौं आएका पौडेल आज पोखरा फर्किएका थिए। पोखरा फर्कनेक्रममा उनी सवार विमान सेती खोंचमा दुर्घटनामा परेको थियो। विमानमा पत्रकार पौडेलसँगै ५३ नेपाली र १५ विदेशी नागरिक सवार थिए।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रहेका पौडेलको निधनले महासंघ स्तब्ध र शोकमग्न भएको महासंघले जनाएको छ। नेपाल पत्रकार महासंघका उपलब्ध केन्द्रीय समितिको आकस्मिक बैठकले १३ दिनसम्म केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ।

सोमबार महासंघका केन्द्र, प्रदेश र सबै शाखा कार्यालय बन्द गर्ने तथा १३ दिनसम्म शोकसभा बाहेकका कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय भएको महासचिव रोशन पुरीले जानकारी दिए। सोमबारदेखि १३ दिनसम्म केन्द्रीय कार्यालयलगायत प्रदेश र शाखा कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय भएको पुरीले बताए।

प्रतिक्रिया दिनुहोस्