संकटमा हाम्रो कृषि जैविक विविधता

खबर खुराक
खबर खुराक २ माघ २०७९, सोमबार
15 Min Read
Aa

जैविक विविधताको दृष्टिले नेपाल धनी मुलुकको सूचीमा पर्छ। क्षेत्रफलमा सानो भए पनि नेपालमा विश्वका ३.२ प्रतिशत वनस्पति र १.१ प्रतिशत प्राणीजन्य विविधता उपलब्ध छ। तथापि अन्यत्र जस्तै नेपालमा पनि कृषि जैविक विविधता ह्रास हुने क्रम तीव्रतर बन्दै गएको छ। नेपालमा समग्र कृषि जैविक विविधता ५० प्रतिशत र बालीका रैथाने जातहरू ४० प्रतिशत मासिइसकेको छ।

पछिल्लो समय अत्यधिक चिसो/तातो, अतिवृष्टि/अनावृष्टि लगायत कारण सिर्जित प्रकोपजन्य घटनाको बढ्दो दर र युद्ध, द्वन्द्व, बसाइसराइ लगायतका अन्य घटना परिघटनाहरूको कारण विश्व आक्रान्त छ। यसको अतिरिक्त भावी दिनहरूको बारेमा गरिएका केही पूर्वानुमानहरू वास्तवमै अत्यासलाग्दा छन्।

संयुक्त राष्ट्रसंघका अनुसार माटोको मरुभूमीकरण हुने क्रम यथावत् रहेमा अबको करिब ६० वर्ष मात्र कृषि उत्पादन सम्भव हुनेछ। पृथ्वीमा जीवजन्तु तथा वनस्पतिको सम्भावित छैटौं सामूहिक विलुप्तता (मास एक्सटिन्सन) को भविष्यवाणी त्यत्तिकै अत्यासलाग्दो छ। विश्व प्रसिद्ध भौतिकशास्त्री स्टेफन हकिङ्गसको पृथ्वीको आयु १०० वर्ष बाँकी रहेकोले अरु ग्रहमा मानव बसोबासको विकल्पमा काम गर्नुपर्ने बारेको भनाइले हामीलाई झस्काइरहेकै छ।

यी भविष्यवाणीका बारेमा मतैक्य नभए पनि अवस्था सामान्य नभएको बारेमा भने विश्व प्रायः एकमत नै देखिन्छ। उल्लेखित घटना र गरिएका पूर्वानुमान वा भविष्यवाणीहरूमा कुनै न कुनै रूपमा जलवायु परिवर्तन र जैविक विविधता ह्रास प्रमुख कारक तत्वको रूपमा रहेका पाइन्छन्।

पृथ्वीमा जीवनसँग प्रत्यक्ष सम्बन्धित रहेकाले यी दुई समस्याको कारण मानव अस्तित्व नै संकटमा पर्दै गएको बारे विश्वव्यापी रूपमा चासो र चिन्ता बढ्दै गएको पाइन्छ। यस लेखमा जैविक विविधता अन्तर्गतको उप क्षेत्र कृषि जैविक विविधताको बारे चर्चा गरिनेछ।

सामान्य अर्थमा कृषि महत्वको जीवजन्तु र वनस्पतिजन्य विविधता र विभिन्नतालाई कृषि जैविक विविधताको रूपमा बुझ्ने गरिन्छ। यस्तो विविधता आनुवंशिक (जेनेटिक), प्रजाति र पारिस्थितिक (इकोसिस्टम) तहमा विद्यमान वा बाँडिएका हुन्छन्। कृषि बाली, घाँसे बाली, पशुपन्छी, जलचर, कृषि महत्वका कीरा र सूक्ष्म जीव गरी ६ प्रकारका कृषि जैविक विविधताहरू विद्यमान रहेका छन्।

साथै बाली र पशुपन्छीका जंगली नातेदारहरू पनि कृषि जैविक विविधताभित्र पर्छन्। कृषि जैविक विविधता आनुवंशिक स्रोतहरूको वातावरण, खेतीपाती व्यवस्थापन प्रणाली, कृषकका खेतीपातीका अभ्यासहरू, ज्ञान तथा सीप र संस्कृति एवं परम्पराहरू बीचको सदियौंदेखिको अन्तरक्रियाको उपज हो।

कृषि जैविक विविधताको बहुआयामिक महत्व रहेको छ। यो हाम्रो खाद्य सुरक्षा र पोषणको मूल आधार हो। हामीले दैनिक उपभोग गर्ने विभिन्न प्रकारका भोजन वा आहारको स्रोत कृषि जैविक विविधता नै हो। पृथ्वीमा ५ हजार ५०० भन्दा बढी वनस्पतिजन्य प्रजातिहरू खानयोग्य पाइएका छन्। तीमध्ये करिब २०० प्रजातिको उपभोग बढी मात्रामा हुने गरेको छ।

विभिन्न बाली र पशुपन्छीजन्य उत्पादनले विविधतायुक्त खानाको उपलब्धता बढाई स्वस्थ र निरोगी जीवनको लागि आवश्यक विभिन्न पोषणको साथै औषधिजन्य पदार्थको आपूर्ति पनि गरिरहेका हुन्छन्। १० देखि १६ प्रतिशत उत्पादन नोक्सानी रोग कीराको कारण हुने गरेको सन्दर्भमा कृषि जैविक विविधता कृषकहरूको लागि रोग कीरा नियन्त्रणको सुलभ तरिका पनि हो। कृषि जैविक विविधता कायम गरिएमा लाभदायक कीराको संख्या बढ्ने र तिनले हानिकारक कीरा खाई त्यस्ता कीराहरूको संख्यालाई सन्तुलनमा राख्न मद्दत पुग्ने हुन्छ।

त्यसैगरी खेतीपातीमा विभिन्न प्रकारका बाली एवं बिरुवाको मिश्रण कायम गरेमा रासायनिक विषादिको प्रयोग नगरिकनै रोग कीराको फैलावट र तिनबाट हुने बाली नोक्सानी कम गर्न मद्दत पुग्छ। यसबाट मानव स्वास्थ्य र वातावरणको लागि हानिकारक कीटनाशक विषादिको प्रयोग कम गर्नमा मद्दत पुर्‍याई कृषकको खेती खर्च बचतमा समेत मद्दत पुर्‍याउँछ।

कृषि जैविक विविधताले माटो स्वस्थ राख्न र यसलाई पुनर्जीवित गर्नमा पनि मद्दत पुर्‍याउँछ। विभिन्न बालीहरूको लागि विभिन्न प्रकारको माटो, खाद्यतत्व र चिस्यान आवश्यक पर्ने हुँदा बाली विविधीकरण र बाली चक्र अपनाउँदा माटोको स्वस्थता एवं गुणस्तर कायम गर्नमा मद्दत पुग्छ। यसैगरी कृषि जैविक विविधताले परागसेचनमा सहयोग गरी ८० प्रतिशत भन्दा बढी बालीहरूको उत्पादनमा प्रत्यक्ष योगदान पुर्‍याइरहेको मौरी, भँवरा, पुतलीलगायतका विभिन्न परागसेचक किटहरूको लागि वासस्थानको व्यवस्था र प्रजनन तथा फैलावटमा सहयोग पुर्‍याउँछ।

यति मात्र होइन कृषि जैविक विविधताले साना तथा सीमान्तकृत कृषकहरूलाई विभिन्न बाली उत्पादनको अवसर प्रदान गर्छ। सुख्खा, खडेरी, अतिवृष्टि जस्ता प्रतिकूल मौसमी अवस्थाको कारण मूख्य बालीहरूको उत्पादन नहुने वा घट्ने हुन्छ। यस्तोमा अन्य वैकल्पिक बालीको उत्पादन लिन सकिने अवस्थाको सुनिश्चित गर्छ।

त्यसैगरी कृषि जैविक विविधताले कार्बन पृथकीकरण (सेक्यूस्ट्रेसन), प्रदूषण नियन्त्रण, दूषित पानी र हानिकारक रसायनहरूलाई फिल्टर गर्ने लगायतका सेवा पनि उपलब्ध गराउँछ। समग्रमा कृषि जैविक विविधताले विभिन्न पारिस्थितिक सेवा प्रदान गरी पारिस्थितिक सन्तुलन कायम गर्नमा योगदान पुर्‍याउँछ। त्यसैले यो हाम्रो जीवनको अभिन्न अंग हो।

संकटमा कृषि जैविक विविधता

प्रकृतिमा केही मात्रामा स्वाभाविक प्राकृतिक रूपले जैविक विविधता ह्रास हुने र सो स्थानमा केही नयाँ सृजना हुन्छ। मानवजन्य कारणले समग्र जैविक विविधता र त्यसमा पनि कृषि जैविक विविधतामा ह्रास हुने क्रम तीव्र रूपले बढ्दै गएको पाइन्छ। एक अनुमान अनुसार पछिल्लो एक सय वर्षमा ७५ प्रतिशत जैविक विविधता नाश भएको अनुमान छ।
त्यस्तै अर्को अनुमान अनुसार वासस्थान विनाशको कारण मात्र वर्षेनि करिब ५० हजार प्रजाति लोप हुँदै गएका छन् भने करिब १० लाख प्रजाति लोप हुने खतरामा रहेका छन्। यथास्थितिमा ५० प्रतिशत कृषि आनुवंशिक स्रोत लोप हुने सम्भावना रहेको विभिन्न अध्ययनले देखाएका छन्।

कृषि जैविक विविधता ह्रासका लागि धेरै कारण जिम्मेवार छन्। जीव एवं वनस्पतिको वासस्थान नष्ट हुनु वा टुक्रिनु, मिचाहा प्रजातिको अतिक्रमण बढ्नु, जलवायु परिवर्तन, भू–उपयोगमा परिवर्तन, प्राकृतिक स्रोतको अत्यधिक दोहन, वन विनाश, अव्यवस्थित शहरीकरण, असन्तुलित रासायनिक मल र विषादि एवं ठूला मेशिनरीको प्रयोगमा आधारित सघन खेती प्रणाली, अत्यधिक चरिचरन, वन–डढेलो प्रमुख कारण हुन्।

यीमध्ये पनि पछिल्लो समयमा जलवायु परिवर्तनको कारण कतिपय जीवजन्तु तथा बिरुवा/वनस्पतिको वासस्थान नष्ट हुने, खानाको स्रोत खुम्चिने र प्रजननको लागि अनुकूल अवस्थाको उपलब्धतामा असर पर्न गई तिनीहरूको अस्तित्व नै संकटमा पर्दै गएको अध्ययनहरूले देखाएका छन्। पहिल्यै अस्तित्वको संकट झेलिरहेका बिरुवा एवं जनावरहरू जलवायु परिवर्तनको कारणबाट थप प्रभावित भइरहेका छन्।

जैविक विविधताको दृष्टिले नेपाल धनी मुलुकको सूचीमा पर्छ। क्षेत्रफलमा सानो भए पनि नेपालमा विश्वका ३.२ प्रतिशत वनस्पति र १.१ प्रतिशत प्राणीजन्य विविधता उपलब्ध छ। तथापि अन्यत्र जस्तै नेपालमा पनि कृषि जैविक विविधता ह्रास हुने क्रम तीव्रतर बन्दै गएको छ। एक अनुमान अनुसार नेपालमा समग्र कृषि जैविक विविधता ५० प्रतिशत र बालीका रैथाने जातहरू ४० प्रतिशत मासिइसकेको छ।

हामी के गर्न सक्छौं ?

नेपालमा कृषि जैविक विविधताको महत्व र यसको संरक्षण र दिगो उपयोगको आवश्यकतालाई दृष्टिगत गरी विभिन्न नीतिगत व्यवस्थाहरू गरिएका छन्। नेपालको संविधान २०७२ मा राज्यको नीतिमा यसलाई समावेश गरिएको छ भने संघ, प्रदेश र स्थानीय गरी तिनै तहको अधिकार सूचीमा जैविक विविधतालाई समावेश गरिएको छ।

त्यसैगरी राष्ट्रिय कृषि जैविक विविधता नीति २०६३ (पहिलो संशोधन २०७१) पनि कार्यान्वयनमा ल्याइएको छ। नेपाल जैविक विविधता सम्बन्धी महासन्धि (सीबीडी); यस अन्तर्गतकै नागोया प्रोटोकल र खाद्य तथा कृषिको लागि वनस्पतिजन्य आनुवंशिक स्रोत सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि (आईटीपीजीआरएफए) लगायतको पक्ष राष्ट्र समेत रहेको छ।

कृषि जैविक विविधताको महत्वलाई दृष्टिगत गरी यसको संरक्षण गर्ने दिशामा तीनै तहका सरकारहरूबाट विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएका छन्। यस क्रममा रैथाने कृषि जैविक विविधताको परस्थानीय संरक्षणको लागि नेपाल कृषि अनुसन्धान परिषदअन्तर्गत राष्ट्रिय जीन बैंकको पनि स्थापना भएको छ।

यस जीन बैंकमा नेपालका ७७ वटै जिल्लाबाट संकलन गरिएका ३०० भन्दा बढी बालीहरूको १४ हजारभन्दा बढी रैथाने जातहरू संरक्षित छन्। कृषकको खेतबारीबाट लोप भए पनि यहाँ संरक्षित रैथाने जातहरू सय वर्षसम्मका लागि सुरक्षित रहने भएकाले पुनः प्रयोग गर्न सकिन्छ।

यसको अलावा स्थानीयस्तरमा क्रियाशील सामुदायिक बीउ बैंक तथा कृषक समूह/सहकारी तथा स्थानीय उपभोक्ताहरूका संस्थाहरूमार्फत पनि कृषि जैविक विविधता संरक्षण लक्षित विभिन्न कार्य हुँदै आएका छन्। यसको अलावा संघीय सशर्त वित्तीय हस्तान्तरणमार्फत प्रदेश र स्थानीय तहहरूबाट कार्यान्वयन हुने गरी कृषि जैविक विविधता संरक्षण कार्यक्रम नामक अलग्गै कार्यक्रम समेत कार्यान्वयनमा ल्याइएको छ।

कृषि जैविक विविधता संरक्षणमा स्थानीय समुदाय र व्यक्ति स्वयंको अहं भूमिका हुन्छ। कृषि जैविक विविधता संरक्षणमा विभिन्न सरकारको सहयोगमा स्थानीय समुदायले गर्न सक्ने केही व्यावहारिक कार्यहरू हुन्छन्। आफ्नो वरपर रहेका एवं लोपोन्मुख रैथाने जातको खोजी गरौं। पहिचान, संकलन गरी यथास्थान र खेतबारी तथा घरगोठमा संरक्षण गर्ने तथा लोपोन्मुख जातलाई संरक्षणको लागि राष्ट्रिय जीन बैंकमा पठाऔं।

रैथाने बाली संरक्षण र दिगो स्थानीय बीउ प्रणाली स्थापना गर्नको लागि सामुदायिक बीउ बैंकहरूको स्थापना गरौं। त्यस्ता बीउ बैंकका सदस्यहरूले रैथाने जातका बीउ उत्पादन गरी समुदाय भित्र र बाहिर प्रसार गर्ने साथै आवश्यकता अनुसार राष्ट्रिय बीउविजन समितिमा दर्ता गरौं। स्थानीय बाली एवं रैथाने जातको सामुदायिक दर्ता रजिष्टर कायम गरी दर्ता वा सूचीकृत गरौं। कृषि महत्वको जीवजन्तु तथा बोटबिरुवा र वनस्पतिको वासस्थान विनाश हुन नदिई संरक्षण गरौं। यस्ता कामका लामो सूची बनाउन सकिन्छ।

खेतीपातीको तौरतरिकामा परिवर्तन गरी एकल बालीको मात्र खेती नगरी बहुबाली लगाउने अर्थात् बाली विविधीकरण गर्नुपर्छ। पशुपन्छी पालनसहितको मिश्रित खेती प्रणाली अपनाउँदा पनि जैविक विविधताको संरक्षण गर्न सकिन्छ।

सकेसम्म कम खनजोत गरी खेती गरिने संरक्षण कृषि पद्धति अपनाउने र माटोमा नाइट्रोजनलगायतका खाद्य तत्व उपलब्ध गराउने तथा जमिनलाई ढाकी राख्न छापो बाली लगाउने अभ्यासलाई बढोत्तरी गर्नुपर्छ।

नाइट्रोजन, फस्फोरस र पोटासयुक्त रासायनिक मलको प्रयोग आवश्यक मात्रामा मात्र सन्तुलित रूपमा गर्नुपर्छ। रासायनिक मल र विषादिको विकल्पमा प्राङ्गारिक एवं जैविक मल र वानस्पतिक एवं जैविक विषादि प्रयोग गर्नुपर्छ।

त्यस्तै कृषि वन प्रणाली अपनाउँदा पनि जैविक विविधताको संरक्षणमा मद्दत पुग्छ। एकीकृत शत्रुजीव व्यवस्थापन (आईपीएम) पद्धति, प्राङ्गारिक खेती, पर्यावरणीय कृषि, एकीकृत खेती जस्ता प्रकृतिमैत्री खेतीपातीको प्रणाली वा अभ्यास अवलम्बन गरेमा कृषि जैविक विविधता संरक्षण र दिगो उपयोगलाई बल मिल्नेछ।

सम्बन्धित सरकारी निकाय, शैक्षिक संस्थाहरू र यस क्षेत्रमा क्रियाशील गैरसरकारी निकाय एवं संघसंस्थाको पनि यसमा उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ। कृषि सम्बद्ध सरकारी फार्म केन्द्रहरूले पनि कृषि आनुवंशिक स्रोतहरूको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्न सक्छन्।

वर्तमानमा पनि त्यस्ता फार्म केन्द्रहरूमा केही न केही संरक्षण लक्षित क्रियाकलापहरू भइरहेकै छन्। तथापि आगामी दिनमा आफ्नो कार्यक्षेत्रभित्रका आनुवंशिक स्रोतहरूको पहिचान गरी संरक्षण गर्न फिल्ड जीन बैंक तथा वन क्षेत्रको राष्ट्रिय निकुञ्ज जस्तै कृषि वंशाणु आरक्षस्थल स्थापना गर्न सक्छन्। यसको अतिरिक्त कृषि अनुसन्धान केन्द्रहरूले स्थान विशेषमा उपलब्ध रैथाने जातको खोजी र संरक्षण एवं उपयोग गरी स्थान विशेषको लागि जातीय विकास गर्न सक्छन्।

शैक्षिक संस्थाहरूले कृषि जैविक विविधता सम्बन्धी कोर्स सञ्चालन गर्ने; पाठ्यक्रममा समावेश गर्ने र यस सम्बन्धी अध्ययन अनुसन्धान कार्य गर्न सक्छन्। केही गैरसरकारी निकायहरू स्थानीय समुदायसँगको सहकार्यमा कृषि जैविक विविधता संरक्षण कार्यमा विगतदेखि नै संलग्न छन्। त्यस्ता निकायहरूले कृषि जैविक विविधताको महत्व बारे स्थानीय समुदायलाई सुसूचित गराउने, तिनको क्षमता विकास गर्ने र नीतिगत तहमा बहस एवं पैरवी गर्ने कार्य गर्न सक्छन्। त्यस्तै विश्वविद्यालय, कलेज, विद्यालय आदि र व्यक्तिगत फार्म वा जमिनमा पनि संरक्षण लक्षित गतिविधि सञ्चालन गर्न सकिन्छ।

कृषि जैविक विविधता संरक्षण सार्वजनिक हित वा महत्व (पब्लिक गुड) को विषय भएकोले यसमा सरकारहरूले लगानी बढाउने; सहजीकरण गर्ने र आम नागरिक र सरोकारवालाहरूलाई उत्प्रेरित गर्ने लगायतका भूमिका निर्वाह गर्नुपर्ने हुन्छ। संवैधानिक व्यवस्था र व्यावहारिकताको दृष्टिकोणबाट पनि स्थानीय तह यस कार्यको लागि बढी उपयुक्त स्थानमा रहेकाले बढी जागरुक र क्रियाशील हुनुपर्ने देखिन्छ।

स्थानीय तहहरूले सामुदायिक बीउ बैंकहरूको स्थापना गरी संरक्षण कार्यमा लाग्न स्थानीय समुदायलाई उत्प्रेरित एवं सहयोग गर्न सक्छ। विभिन्न प्रकारका फिल्ड जीन बैंक र कृषि वंशाणु आरक्षस्थल स्थापना गर्ने वा गर्न लगाउने काम पनि गर्न सकिन्छ। संरक्षक कृषकलाई सम्मान र पुरस्कृत गरेर हौसला दिन सक्छौं।

रैथाने जातको बीउको प्रसार र बजारीकरणमा सहयोग र सहजीकरण पनि अर्को महत्वपूर्ण काम हो जसले जैविक विविधता संरक्षणमा सहयोग पुग्छ। स्थानीय पाठ्यक्रममा कृषि जैविक विविधता सम्बन्धी विषयको पठनपाठन गर्ने गराउने व्यवस्था गर्न सकिन्छ। विविधतामा आधारित रैथाने कृषि उपजहरूको मूल्य अभिवृद्धि तथा बजारीकरणमा जोड दिनुपर्छ। कृषि जैविक विविधताको अवस्था बारे अध्ययन गरी सोको आधारमा संरक्षण र उपयोगको रणनीति तयार गर्ने लगायतका क्रियाकलापहरू सञ्चालन गर्न सक्छन्।

राष्ट्रिय कृषि जैविक विविधता वर्ष र राष्ट्रिय कृषि जैविक विविधता दिवस

कृषि जैविक विविधताको महत्व र यसको संरक्षणको आवश्यकताबारे सचेतना बढाई आम कृषक र सरोकारवालाहरूलाई रैथाने कृषि जैविक विविधताको संरक्षण र दिगो उपयोगमा सक्रिय रूपमा लाग्न उत्प्रेरित गर्नु सरकारको दायित्व हो। यही उद्देश्यले नेपाल सरकारले २०७९ साललाई राष्ट्रिय कृषि जैविक विविधता वर्षको रूपमा मनाउने घोषणा गर्‍यो। सोही अनुरूप जीवन तथा वातावरणको लागि कृषि जैविक विविधता नाराका साथ विभिन्न कार्यक्रम गरी यो वर्ष मनाइँदैछ।

साथै नेपाल सरकारबाट निर्णय भए बमोजिम यसै वर्षबाट प्रत्येक वर्षको माघ १ गतेलाई राष्ट्रिय कृषि जैविक विविधता दिवसको रूपमा मनाउन सुरु गरिएको छ। यस दिवसको अवसर पारेर माघको पहिलो सप्ताहभरि नै कृषि जैविक विविधताको महत्वबारे सचेतनामूलक गतिविधि सञ्चालन गर्ने योजना बनाइएको छ।

कृषि जैविक विविधतामा आधारित विभिन्न समुदायको मौलिक खाद्य संस्कृति र खाद्य परिकारको पहिचान गरी महत्व उजागर गर्ने काम पनि सरकारले प्राथमिकतामा राखेको छ। खाद्य एवं पोषण सुरक्षा र जीविकोपार्जनमा कृषि जैविक विविधताको महत्वबारे बहस एवं अन्तरक्रियाको आयोजना गर्ने र कन्दमूल तथा रैथाने खाद्य परिकार मेला आयोजना गर्ने लगायतका क्रियाकलापहरू सञ्चालन गरिनेछ।

ह्रासोन्मुख अवस्थामा रहेका रैथाने कृषि जैविक विविधताको संरक्षण र दिगो उपयोगमा ध्यान पुर्‍याउन नसकेमा कृषि पारिस्थितिक प्रणालीमा नै नकारात्मक असर पर्न गई समग्र खाद्य एवं कृषि प्रणाली नै जोखिममा पर्न सक्ने देखिएको छ। आजको आवश्यकता प्रकृतिमैत्री भविष्यको हो। यसको सुरुवात हाम्रो भान्सा र खानाको टेबलबाट सुरु हुन्छ।

एकै प्रकारको खानाको साटो विविधतायुक्त खानाको सेवन गर्ने अभ्यास गरेमा हाम्रो पोषण र स्वास्थ्यमा सकारात्मक प्रभाव पर्नुको साथै जैविक विविधता, वातावरण र माता पृथ्वीको स्वास्थ्यको लागि समेत लाभकारी हुनेछ।

प्रकृतिसँगको टुटेको हाम्रो सम्बन्धलाई पुनः जोडेर धर्तीलाई भोलिका पुस्ताको लागि बस्न योग्य बनाउने अभियानमा आफ्नो सम्पूर्ण सामर्थ्यले जुट्न यो दिवसले हामी सबैलाई प्रेरणा देओस्। प्रथम राष्ट्रिय कृषि जैविक विविधता दिवसको सबैमा हार्दिक शुभकामना !

लेखक कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव हुन्।

अनलाइनखबरबाट।।।।

प्रतिक्रिया दिनुहोस्