वास्तवमै मान्छे तनावबाट मुक्त रहन सक्छ ?

खबर खुराक
खबर खुराक २ माघ २०७९, सोमबार
6 Min Read
Aa

कसरी रक्तचाप जस्ता दीर्घरोगबाट छुट्कारा पाउने ? मुटुरोग विशेषज्ञहरु भन्छन्, ‘पटक्कै तनाव नलिएर ।’

कसरी डिप्रेसनबाट मुक्त हुने ? मनोविज्ञहरु भन्छन्, ‘जरादेखि नै तनाव हटाएर ।’

कसरी जीवन सुखमय बनाउने ? आध्यात्मिक गुरुहरु भन्छन्, ‘सम्पूर्ण तनावबाट मुक्त रहेर ।’

तन र मनलाई पिरोल्ने एउटै कुरा छ, तनाव । सबैको उही सुझाव छ, ‘तनावबाट मुक्त रहनुपर्छ ।’ तर के मान्छे वास्तवमै तनावरहित रहनसक्छ ? के मान्छेले आफूले चाहेअनुसार तनाव हटाउन सक्छ ?

जीवनमा तनाव नै नहुने भन्ने हुँदै हुँदैन । अतः सामान्य तनाव हुनु स्वभाविक हो । तर यसको पनि आफ्ना सीमा छन् । जब तनाव असीमित हुन थाल्छ, तब मान्छेमा समस्याको घेरामा पर्न थाल्छन् । समस्या अनेक छन्, शारीरिक, मानसिक, सामाजिक, पारिवारिक ।

तनावलाई अंग्रेजीमा ‘स्ट्रेस’ भनिन्छ । अहिले तनावलाई ‘स्ट्रेस’ र ‘डिस्ट्रेस’गरेर दुईवटा भागमा बढिएको छ । केही काम गर्दा त्यो काम बिग्रिएर मनमा छटपटी हुनु भनेको तनाव ‘स्ट्रेस’ हो । त्यो तनावले हामीलाई मानसिक र शारीरिक रुपमा नै समस्या भयो भने त्यो डिस्ट्रेस हो । लामो समय स्ट्रेस भयो भने त्यो डिस्ट्रेस हुन्छ ।

कुनै व्यक्तिलाई सामान्य तनाव भएको छ भने ऊ एकछिन आत्तिन्छ र केही समयपछि शान्त हुन्छ । तर तनाव बढी भयो भने त्यो तनावले मानसिक मात्र होइन, शारीरिक लक्षणहरु पनि देखाउन थाल्छ । तनाव सबैलाई हुन्छ, त्यो तनावलाई कसरी व्यवस्थापन गर्ने त्यो कुरा बढी महत्वपूर्ण हो ।

किन हुन्छ तनाव ?

तनाव हुने मुख्य कारण हाम्रो सोचाइ हो । कुनै कुरालाई बारम्बार सोचिरहने र त्यो कुरालाई नकारात्मक तरिकाले हेर्न थालियो भने तनाव हुन्छ ।

भर्खरैको विमान दुर्घटनाले पनि धेरैलाई तनाव भइसकेको छ । हवाईजहाज चढ्न हुँदैन दुर्घटना हुन्छ भन्ने सोचाइ आइसक्यो  । आज मात्र होइन, भोलि–पर्सि पनि हवाईजहाज चढ्दा डर लाग्ने हुन्छ । त्यो सोचाइले गर्दा नै हुने तनाव हो ।

हाम्रो खानपानले पनि हामीलाई तनाव दिइरहेको हुन्छ । हामीेले केही चिल्लो खानेकुरा खायौं जसले गर्दा एसिडिटी भयो र केही समयपछि कसैलाई भेट्नुपर्ने छ भने तनाव हुन्छ ।

वातावरण कस्तो छ त्यसले पनि मानिसलाई तनाव दिइरहेको हुन्छ । वरपरको वातारण हिंसाले भरिएको छ भने त्यो वातावरणमा बस्ने व्यक्तिलाई तनाव हुन्छ । तनाव हुने अर्को कारण भनेको साथी संगत हो । साथी एकदमै नकारात्मक सोच भएको छ, हरेक कुरामा निराश हुन्छ भने साथीको संगत गर्ने व्यक्तिलाई पनि तनाव हुन्छ ।

यी बाह्य कारण भए । शरीरभित्रको हलचलले पनि तनाव बढाउँछ । शरीरमा ‘डोपामाइन’ र  सिरटोनिन हर्मोनको कमी हुँदा तनाव हुन्छ । तनावले गर्दा मधुमेह, उच्च रक्तचाप जस्ता दीर्घरोगहरु निम्तिन्छ भने लामो समयदेखि मधुमेह उच्च रक्तचापको औषधि सेवन गरिरहेकाहरुमा तनाव एकअर्कासँग सम्बन्धित छन् ।

कतै म तनावग्रस्त त छैन ?

हामी त प्रयास गर्छौं, तनाव लिंदै नलिने । तर कहिलेकाहीं थाहै नपाई तनावग्रस्त भइसक्छौं । यस्तो स्थितिमा हाम्रो पूर्ववत् दिनचर्या बदलिन थाल्छ । हामीलाई खेल्न, हाँस्न, कुरा गर्न झर्को लाग्न थाल्छ । हामीलाई कुनै कुरामा ध्यान केन्द्रित गर्न कठिन हुन थाल्छ ।

थकान महसुस हुन थाल्छ, निद्रा लाग्दैन, खानामा अरुचि हुन थाल्छ । यो स्थिति बढ्दै जाँदा ढाड दुख्ने, कपाल झर्ने जस्ता समस्या पनि थपिन्छ । अनि थपिन्छ डिप्रेसन र एन्जाइटी पनि । यस्तो स्थितिमा आइपुग्नुअघि नै हामीले बुझ्नुपर्छ, संसारमा सबैलाई तनाव छ । र, तनाव व्यवस्थापनका विधिहरु पनि छन् । सम्भव भएसम्म हामीले आफैंलाई सम्हाल्ने र सकारात्मक मानसिकता बनाउने अभ्यास प्रभावकारी हो ।

तनाव व्यवस्थापन कसरी गर्ने ?

तनावलाई चटक्कै हटाउने कुनै सर्वव्यापी सूत्र छैन । तर तनाव व्यवस्थापन गर्ने विभिन्न विधि छन् । महत्वपूर्ण कुरा त के भने तनाव अरुले हटाइदिने होइन । तनावलाई व्यवस्थापन गर्न आफू नै जागरुक र अग्रसर हुनुपर्छ ।

तनाव सबैलाई हुन्छ तर कसैले यसलाई चर्को रुपमा लिन्छन् कतिले सामान्य । यो मान्छेको विवेक र धैर्यतामा पनि भर पर्छ । खासमा त बुद्धिमान मानिसहरु त्यस्ता काम नै गर्दैनन्, जसले तनावको स्थिति ल्याउँछ । यदि तनाव भइहाल्यो भने पनि त्यसलाई व्यवस्थापन गर्ने तौर तरिका अपनाउँछन् ।

जस्तो, मनलाई सकारात्मक र खुसी बनाउन कोशिश गर्ने । राम्रो कुरामा ध्यान मोड्न खोज्ने । मनोरञ्जनमा आफूलाई भुलाउन खोज्ने । प्रकृतिमा रमाउन खोज्ने । त्यसबाहेक पनि गहिरो सास लिने, ध्यान गर्ने, व्यायाम गर्ने । रचनात्मक काममा लाग्ने ।

पाचन प्रणालीलाई हाम्रो दोस्रो दिमाग पनि भनिन्छ हामीले कस्तो खाना खान्छौं त्यसले शारीरिक रुपमा मात्र होइन, मानसिक रुपमा पनि असर गर्छ । त्यसैले स्वस्थ तथा पोषिलो खाना खानुपर्छ । तनाव भएका व्यक्तिले ताजा फलफूल र हरियो सागसब्जी खानुपर्छ । यसले शरीरमा भिटामिन, प्रोटिन, आइरनको कमी हुने छैन र तनावमा कमी आउनेछ ।

एक ठाउँमा बसिरहँदा तनाव भयो भने ठाउँ परिवर्तन गर्दा केही मात्रामा भए पनि तनाव व्यवस्थापन हुन्छ । तनाव भएको बेला नुहायो भने पनि केही मात्रामा तनाव कम हुन्छ । कसैलाई लामो समयदेखि तनाव भइरहेको छ भने जीवनशैली नै परिवर्तन गर्नुपर्छ । राम्रो खानपान, व्यायाम, ध्यान र काम नै परिवर्तन पनि गरेर पनि तनाव व्यवस्थापन हुन सक्छ ।

आराम र मनोरञ्जनको लागि समय छुट्याउने र परिवारसँग आफ्नो कुरा सेयर गर्दा पनि तनाव व्यवस्थापन हुन्छ ।

जब हाम्रो दैनिक जीवनमा यो तनावले हामीलाई सताउन थाल्छ, तब मात्र समस्या आउँछ। सधैं तनावमा रहने व्यक्तिले उपचारका लागि कसैसँग सल्लाह गर्नुपर्छ। याद गर्नुहोस् कि यो लाज मान्न केहि छैन। यो पागलपन वा कुनै रोग होइन, तर यो कुनै पनि व्यक्तिलाई जुनसुकै बेला लाग्न सक्छ।

प्रतिक्रिया दिनुहोस्