किन बढ्न सकेन ‘ब्रेन डेथ’पछि अंगदान गर्ने दर ?

खबर खुराक
खबर खुराक २ माघ २०७९, सोमबार
7 Min Read
Aa

काठमाडौँ । मस्तिष्क मृत्यु ‘ब्रेन डेथ’ भएका व्यक्तिको अंग प्रत्यारोपण गर्न सकिने कानुन आएको ६ वर्ष वितेको छ । तर, यस बीचमा न्यून सङ्ख्यामा अंग प्रत्यारोपण भएको देखिन्छ ।

मानव अंग प्रत्यारोपण (नियमित तथा निषेध) ऐन, २०५५ संशोधनसँगै अंगदान गर्न सहज भए पनि ‘ब्रेन डेथ’ भएका जम्मा ४ जनाबाट मात्र अंग प्रत्यारोपण गरिएको छ । यस अवधिमा ‘ब्रेन डेथ’ भएका ४ जनाबाट ८ जनाको मिर्गौला प्रत्यारोपण गरिएको छ भने दुई जनाको कलेजो प्रत्यारोपण गरिएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बताए ।

६ वर्षको अवधिमा  प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत्यु भएका २२ जनाको परिवारले फोन गरेर जानकारी दिएका थिए । २२ स्थानबाट फोन कल आए पनि जसमा १६ जनाका परिवारले अंगदान गर्न अस्वीकार गरेको उनले बताए ।

डा श्रेष्ठ भन्छन्, ‘दुःखको बेलामा यस्तो कुरा गर्न आउने ? भनेर परिवारका आफन्तहरुले फर्काउनु भयो, चित्त दुखाउनु भयो ।  जसमध्ये दुईवटा परिवारले बाहिरबाट अन्य आफन्त आउँदै हुनुहुन्छ, उहाँहरू आएपछि  निर्णय गरौंला भन्नुभयो ।’ जबकि आफन्तहरु यहाँ आउन ढिलाइका कारण अंग निकाल्न नमिल्ने भएको थियो ।

काठमाडौँमा मात्रै वर्षमा हजार जनाको ब्रेन डेथ 

काठमाडौँमा मात्रै औसतमा वार्षिक एक हजार जनाको मस्तिष्क मृत्यु भए पनि जनचेतना अभावका कारण अंगदान गर्न  अघि नसर्दा  समस्या भएको निर्देशक डा श्रेष्ठको जिकिर छ ।

‘ब्रेन डेथ’ भएका व्यक्तिबाट अंग झिक्नु सजिलो काम नभएको उनी सुनाउँछन् । यस विषम परिस्थितिमा परिवारलाई चिकित्सकले मस्तिष्कको मृत्यु भइसकेको छ । कुनैपनि हालतमा फर्किन सक्नुहुन्न, तपाईंहरुले चाहेको खण्डमा यो यो अंगदान गर्न सकिन्छ भनेर बुझाएर मात्रै झिक्न सकिन्छ । खरानी अनि माटोसँगै मिल्ने अंगले अन्य व्यक्तिलाई बचाउन सकिन्छ भनेर बुझाउन सकेमा प्रत्यारोपण गर्न सकिने उनको भनाइ छ ।

निर्देशक डा. श्रेष्ठले नेपालमा मात्रै नभएर विश्व भर नै ‘ब्रेन डेथ’ पछि अंगदान कम हुने गरेको जानकारी दिन्छन्  ।

उनी भन्छन् ‘यो समय भनेको एकदम दुःखको समय हो । यस बेला परिवारका सदस्य शोकमा हुन्छन् । ‘ब्रेन डेथ’ भएको भनेर जानकारी दिएपनि सबैले अंगदान गर्न मान्दैनन् ।’

मिर्गौला निकालेको २४ घण्टासम्म सुरक्षित 

‘ब्रेन डेथ’ भएका व्यक्तिको परिवारले सहमति जनाएमा मात्रै अंग झिक्न मिल्छ । मिर्गौला निकालेको २४ घण्टासम्म सुरक्षित राख्न सकिन्छ । यस्तै, कलेजो झिकेको १० देखि १२ घण्टासम्म तथा मुटु र फोक्सो ४ देखि ६ घण्टासम्म सुरक्षित राखेर प्रत्यारोपण गर्न सकिने निर्देशक डा श्रेष्ठ बताउँछन् ।

२२ सयले गरे अंगदानको घोषणा  

नेपालमा करिब तीन करोड जनसङ्ख्या छ । तर अंगदानका लागि २२ सय जनाले मात्रै नाम लेखाएका छन् । यस ६ वर्षको अवधिमा अंगदानको घोषणा गर्ने पूर्व प्रधानमन्त्री, स्वास्थ्यमन्त्री, नेपाल सरकारका उच्च ओहोदाका कर्मचारी, कलाकारलगायत केहीले मात्रै घोषणा गरेका छन् । निर्देशक श्रेष्ठका अनुसार आफ्नो स्वेच्छाले मेरो मृत्युपछि मेरा अङ्गहरू प्रत्यारोपण गर्छु भन्ने अत्यन्त कम छन् ।

मस्तिष्क मृत्यु हुँदा मिर्गौलालगायत अंगदान, प्रत्यारोपणबारे शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले विभिन्न अभियान सञ्चालन गरिरहेको छ । ‘कुनै चाडपर्व, विभिन्न समारोहमा स्टल राख्छौँ । त्यहाँबाट मञ्जुरीनामा फारम भराउँछौँ ।’ उनले भने, ‘जसले अंगदान गर्नुभएको छैन, तिनले पनि  भवितव्य परेको खण्डमा परिवारको सदस्यबाट मञ्जुरीनामा लिएर मात्रै अंगदान गर्न सक्नु हुन्छ ।’

अन्धविश्वासले अंगदान गर्ने घटे

निर्देशक डा. श्रेष्ठले अंगदानबारे जानकारी भए पनि नेपालमा सामाजिक सांस्कृतिक मान्यताका कारण दानका लागि अग्रसर नहुने सुनाउँछन् । शिक्षित परिवारमा पनि अंगदान नमानेका धेरै उदारहण छन् ।

डा श्रेष्ठ भन्छन्, ‘अंगदान गर्दा अर्को जन्ममा पूर्ण अंगसँगै जन्मिदैनन् भन्ने अन्धविश्वासका कारण पनि दान गर्न मान्दैनन् । धार्मिक मान्यताअनुसार दाहसंस्कार गर्दा अंगदानका कारण शरीर नराम्रो अवस्थामा पुग्छ भनेर  ब्रेन डेथ भएका परिवार डराउँछन् ।’

‘ब्रेन डेथ’ हुँदा अङ्गहरू दान गर्न सकिन्छ भन्नेबारे चेतनाको अभावले समस्या सिर्जना भएको उनको ठहर छ ।

मेडिकल क्षेत्रमा पनि त्रास 

‘ब्रेन डेथ’ बारे मेडिकल क्षेत्रका व्यक्तिलाई जानकारी भए पनि  व्यावहारिक ज्ञानको कमी हुँदा बेला बेलामा समस्या सिर्जिन्छ । यस विषयमा सैद्धान्तिक ज्ञान हासिल गरेर पास भए पनि व्यावहारिक ज्ञान न्यून हुँदा मेडिकल क्षेत्रका व्यक्तिहरू ‘ब्रेन डेथ’ भएका व्यक्तिबाट अंग प्रत्यारोपणमा डराउने अवस्था रहेको डा श्रेष्ठले बताए ।

‘ब्रेन डेथ’ पछि प्रत्यारोपण प्रक्रिया अत्यन्त संवेदनशील हुनुका साथै प्राविधिक रूपले पनि चुनौती रहेको डा श्रेष्ठको बुझाइ छ । उनी भन्छन्, ‘धेरैजसोमा व्यवहारिक ज्ञान नभएकाले अलि हच्किने, कानुनी झन्झट हुने हो कि भनेर पनि डराउँछन् ।’ ‘ब्रेन डेथ’ बारे एकैरातमा बुझाउन सम्भव छैन ।

आत्मनिर्भर हुन सकिने

नेपालमा दुर्घटनाका कारण वर्षमा औसत २ हजार जनाको ज्यान जाने गर्छ । काठमाडौँमा मात्रै वर्षमा एक हजार जनाको ‘ब्रेन डेथ’ हुने गर्छ । अकस्मात दुर्घटनामा परी ‘ब्रेन डेथ’ भएकाहरुबाट अंगदानमार्फत् प्रत्यारोपण गरिएमा नेपाल अंग प्रत्यारोपणमा समस्यै नहुने अस्पतालका निर्देशक डा श्रेष्ठको भनाइ छ ।

हरेक वर्ष नेपालमा तीन हजार मिर्गौलाको माग छ । यस्तै, कलेजो एक हजार आवश्यक पर्छ । यसरी दुर्घटनामा परी मृत्यु भएका अंगदान गर्न पाएमा कलेजोमा पूर्ण रुपमा आत्मनिर्भर हुने उनले बताए ।

हवाई उडान भएको ठाउँबाट ‘ब्रेन डेथ’ भई अंगदानका लागि सम्पर्क गरेमा प्रत्यारोपण केन्द्र पुग्न सक्ने अस्पतालका निर्देशक डा.श्रेष्ठले बताए । ‘कसैको ‘ब्रेन डेथ’ भएमा प्लेनसम्म जाने अवस्था रहेमा तत्काल पुगेर अंगदान गरेको खण्डमा काम हामी काम गर्न सक्छौँ ।’

जस्तै कुनै व्यक्तिको ‘ब्रेन डेथ’ मानौँ विराटनगरमा भएको छ भने शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको समन्वय इकाइलाई सम्पर्क गरेमा विशेषज्ञहरू त्यहाँ तुरुन्तै पुग्ने उनले बताए ।

शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रलाई अंग प्रत्यारोपणका लागि भनेर तोकिएको छ । यस्तै, कुनै अस्पतालमा ‘ब्रेन डेथ’ भयो भने यस इकाईलाई सम्पर्क गर्न सकिन्छ । अंग निकालिसकेपछि त्यो अंग कसले पाउने  भनेर  त्यसको मापदण्ड अनुसार तोकिएको संस्थामा पठाउन सकिन्छ । यदि त्यहाँ प्रत्यारोपण हुने सम्भावना नभए शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रले प्रत्यारोपण गर्ने डा श्रेष्ठ बताउँछन् ।

अंगदान पुण्यको काम हो । मस्तिष्क मृत्यु भएमा अंगदानका लागि शहीद धर्मभक्त प्रत्यारोपण केन्द्रको समन्वय इकाई ०१–६६१४७०९ मा चौबीसै घण्टा सम्पर्क गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्