काठमाडौं : बुटवल पावर कम्पनी लिमिटेडको ३०औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सञ्चालक समितिका अध्यक्ष पद्म ज्योतिको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभाले सेयरधनीलाई आव २०७८÷०७९ को खुद मुनाफा तथा सञ्चित नाफाबाट चुक्ता पुँजीको ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने तथा पाँच प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ।
सरकारको आंशिक लगानी रहेका कारण कम्पनी ऐन २०६३ बमोजिम सरकारको स्वीकृति लिएर सेयरधनीलाई नगद लाभांश यथाशक्य छिटो वितरण गरिने जनाइएको छ। बोनस सेयर जारी भएसँगै कम्पनीको चुक्ता पुँजी रु. ३ खर्ब ४० अर्ब ९० करोड ६४ हजार ६ सय कायम हुनेछ।
कम्पनीले सञ्चालन गर्दै आएका ९.४ मेगावाटको आँधीखोला र १२ मेगावाटको झिमरुक जलविद्युत् केन्द्र नियमित रूपमा सञ्चालन भइरहेका छन्। सहायक तथा सम्बद्ध कम्पनीमार्फत सञ्चालित ४ मेगावाटको खुदी जलविद्युत् केन्द्र र ६० मेगावाटको खिम्ती प्रथम जलविद्युत् केन्द्रको सञ्चालन सुचारु रूपमा हुँदै आएको छ। खिम्ती प्रथम जलविद्युत् केन्द्रको स्वामित्वको आधा हिस्सा जुलाई २०२० देखि नेपाल विद्युत् प्राधिकरणमा गएको छ। लमजुङ जिल्लास्थित ३० मेगावटकोे न्यादी जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भई २०७९ वैशाख २७ देखि सञ्चालनमा आएको छ।
नेपाल विद्युत् प्राधिकरणबाट निर्माण हुनुपर्ने प्रसारण लाइन निर्माणमा ढिलाइ भएका कारण आयोजनाले वैकल्पिक प्रसारण लाइन निर्माण गरी विद्युत् आपूर्तिको व्यवस्था गरिएको छ। यद्यपि, प्राधिकरणले वर्षायाममा सबै विद्युत् नलिएका कारण सो आयोजनालाई मार्का पर्न गएको छ।
३७.६ मेवाको काबेली ए जलविद्युत् आयोजनाको स्थानीय रूपमा वित्तीय लगानी जुटाएर निर्माणकार्य पुनः सुचारु गर्नका लागि तयारी भइरहेको छ। तीन चिनियाँ लगानीकर्तासँगको संयुक्त लगानीमा मस्र्याङ्दी नदीमा निर्माणको चरणमा रहेका आयोजनामा १३५ मेगावाटको मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना, १३९.२ मेगावाटको तल्लो मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजना र ३२७ मेगावाटको माथिल्लो मस्र्याङ्दी दोस्रो जलविद्युत् आयोजना, क्यासकेड अर्ध जलाशययुक्त अवधारणामा ( ६०१ मेगावाट) अगाडि बढाउने क्रममा छन्।
मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजनाको निर्माणकार्य चालू आवभित्रै सुरु हुनेछ। त्यस्तै ७.९ मेगावाटको चिनोखोला जलविद्युत् आयोजना पनि निर्माणको तयारीमा छ। १६० मेवाको मुगु कर्णाली जलविद्युत् आयोजना र ७ मेवाको झिमरुक सौर्य आयोजना पनि सम्भाव्यता अध्ययनकै क्रममा छन्।
प्रतिक्रिया दिनुहोस्