रवि लामिछानेको जवाफ– म नेपाली होइन भने विदेशी रहेको प्रमाण पेस गर्न सक्नुपर्छ

खबर खुराक
खबर खुराक २ माघ २०७९, सोमबार
2 Min Read
Aa

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सांसद पदको योग्यता सम्बन्धी रिटमा लिखित जवाफ पेस गरेका छन् । लामिछानेको तर्फबाट शुक्रबार सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरिएको हो ।

जवाफमा लामिछानेले २०७० फागुन १० मा अमेरिकाको नागरिकता प्राप्त गरेको र सो नागरिकता २०७५ जेठ ५ मा त्यागेको स्वीकार गरेका छन् । उनले २०७०मा अमेरिकाको नागरिकता लिँदा नेपालको नागरिकता त्याग नगरेको हुँदा नागिकरता पुनः प्राप्ति सम्बन्धी प्रावधान पूरा गर्न नपर्ने भएको उल्लेख गरेका छन् ।

अन्तरिम आदेशका लागि छलफलमा उनका कानुन व्यवसायीले बहस गरेजस्तै उनले आफ्नो लिखित जवाफमा नागरिकता पुनः प्राप्तिको प्रक्रियामा जानु नपर्ने जिकिर लिएका छन् । उनले आफ्नो नागरिकता सम्बन्धी विवाद करिब पाँच वर्ष अघि नै उत्पन्न भई त्यही बेला निरुपण भएको समेत जनाएका छन् ।

“म लिखितजवाफकर्ता अमेरिकाबाट फर्केपछि न्युज–२४ मा सिधा कुरा जनतासँग भन्ने कार्यक्रममा आवद्ध भई उक्त कार्यक्रम सञ्चालन गर्ने क्रममा करिब ५ वर्ष अघि मेरो नेपाली नागरिकता सम्बन्धमा प्रेस काउन्सिलमा उजुरी पर्दाको क्रममा मैले तत्काल अमेरिकी राहदानी र नागरिकता त्यागेको सूचना मिति २०७५।०३।०६ मा अध्यागमन विभागमार्फत नेपाल सरकार, गृहमन्त्रालयमा पेस गरेको थिएँ,” जवाफमा उल्लेख छ ।

लामिछानेले जवाफमा प्रतिनिधिसभा सदस्य वा नेपालको राजनीतिक दलको सदस्य हुन नेपाली नागरिक हुन पर्ने व्यवस्था स्वीकार्दै आफू नेपाली नागरिक नै रहेको र नेपालको नागरिकता त्याग नगरेको हुँदा, पुनः प्राप्तिको प्रक्रियमा जानु नपर्ने भन्दै रिट खारेज गर्न माग गरेका छन् ।

संवैधानिक इजलासमा रहेको लामिछानेविरुद्धको रिटमा ११ गते लाई अन्तिम सुनुवाएको पेसी तोकिएको छ ।

उनले जवाफमा कुनै पनि व्यक्ति नागरिकताबिना रहन सक्छ भन्ने सभ्य समाजले सोच्न पनि नसक्ने बताएका छन् ।

“प्रस्तुत विवादमा निर्विवाद तथ्य के हो भने मैले अमेरिकाको नागरिकता त्यागी सकेको र मेरो साबिककै नेपाली नागरिकता पुनः कायम रहेको छ । तसर्थ, म नेपाली नागरिक होइन भनी प्रश्न उठाउने निवेदकले म विदेशको नागरिक रहेको प्रमाण सम्मानित अदालतमा पेश गर्न सक्नुपर्छ अन्यथा मजस्तो नागरिकको निजी जीवन, म र मेरो देशको सम्बन्धनलाई जोड्ने मेरो नागरिकताको बारेमा झुठो आरोप लगाउन मिल्ने होइन,” लामिछानेले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्