मानवअधिकार छोडौं, जैविक अधिकार खोजौं

खबर खुराक
खबर खुराक ३ माघ २०७९, मंगलवार
11 Min Read
Aa

मानवअधिकारको विश्व घोषणापत्र जारी भएको ७८ वर्ष भयो । यो घोषणापत्रको पूरकका रूपमा यो बीचमा थुप्रै महासन्धि जारी भए । तर विश्वभर मानवअधिकार उल्लंघनका घटना कम भएनन् ।

बरु युद्ध, गरिबी, लैंगिक विभेद, साम्प्रदायिक अतिवाद र निरंकुशता जस्ता परिघटनामा मानवअधिकार कुण्ठित भइरह्यो । मानवअधिकारको नाम जप्दा–जप्दै सिंगो प्रकृति र पर्यावरण ध्वस्त भयो ।

किन यस्तो भयो ? आज यो सवालको जवाफ खोज्न जरूरी भएको छ । तर आजका ‘मानवअधिकारवादी’ यस्ता विषयमा संवेदनशील देखिंदैनन् । ‘मानवअधिकार’ शब्द जति मोहक छ, यसभित्रको अवधारणा उति नै अप्राकृतिक र अमानवीय छ । वास्तवमा मानवअधिकारको अवधारणामै खोट थियो । जसका कारण ‘मानवअधिकारको घोषणापत्र’ ले मानवअधिकारको रक्षा गर्न सकेन । प्रकृति र पर्यावरणको पनि रक्षा गर्न सकेन ।

उत्कृष्टताको भ्रम

मानवअधिकारको अवधारणा यस्ता मानिसले तयार गरे, जो मानव जातिलाई उत्कृष्ट प्राणी मान्दथे । यिनीहरू मानिसको बुद्धिप्रति गर्व गर्दथे । बुद्धिका सहाराले मानिसले संसारका सबै रहस्य थाहा पाउन सक्छ भन्ने विश्वास गर्दथे ।

उनीहरूको धारणामा अधिकारका कुरा केवल मानव जातिका लागि मात्र सान्दर्भिक छन्, गैरमानव जीवनलाई यी कुरा असान्दर्भिक छन् । वनस्पति र गैरमानव जीव केवल मानिसको ‘उपभोग्य वस्तु’ हुन् ।

मानवअधिकारको अवधारणा यस्तै धारणा राख्ने मानिसले तयार गरे । यसकारण ‘मानवअधिकार’ ले महत्व पायो, ‘गैर मानवअधिकार’ ले पाएन । हिजो शास्त्रीय विज्ञानको युगमा यस्तो धारणालाई स्वाभाविक मान्न सकिन्थ्यो । आजको आधुनिक विज्ञानको युगमा स्वाभाविक मान्न सकिन्न । कारण, आधुनिक विज्ञानले मानिसलाई उत्कृष्ट प्राणी मान्दैन ।

आधुनिक विज्ञानका विधा भन्दछन्– मानिस कुनै पनि अर्थमा उत्कृष्ट प्राणी होइन । ब्रह्माण्ड यति विराट छ, त्यसको तुलनामा मानिसको बुद्धि अति छुद्र चिज हो । मानिसको बुद्धि संसारका रहस्य जान्न र बुझ्न पर्याप्त छैन । मानवीय बुद्धिले जीवन र जगतको सत्य बोध गर्न कहिल्यै सक्दैन । बुद्धिले सत्य जस्तै लाग्ने भ्रम (माया) मा मानिसलाई अल्मल्याउँछ ।

हामी आम मानिस यस्तै भ्रम (माया) मा बाँचिरहेका हुन्छौं । यसकारण हामी गैरमानव जीवभन्दा भिन्न छैनौं । हाम्रो चेतनामा रहेको ‘माया’ ले नै ‘मानिस उत्कृष्ट छ, पशु–पक्षी निकृष्ट छन्’ भन्ने भ्रमपूर्ण धारणा पैदा गर्दछ । यथार्थमा मानव र गैरमानव, दुवै जीवनमा तात्विक अन्तर छैन । दुवैको जीवन उस्तै हो ।

साधारण उदाहरणबाट पनि यो कुरा बुझ्न सकिन्छ । जस्तो कि, बुद्धिका आधारमा मानिसलाई उत्कृष्ट प्राणी मान्ने हो भने सुँघेर थाहा पाउन सक्ने क्षमताका आधारमा कुकुरलाई पनि उत्कृष्ट प्राणी भन्नु पर्‍यो । टाढासम्म देख्न सक्ने क्षमताका आधारमा चिललाई पनि यसै भन्नु पर्‍यो । उफ्रिन सक्ने क्षमताका आधारमा उपियाँलाई पनि उत्कृष्ट प्राणी भन्नु पर्‍यो ।

तर यसो भन्नु ठिक होइन । किनकि, यस्ता गुण प्राणी विशेषका विशिष्ट गुण मात्र हुन्, उत्कृष्टताको परिचायक होइनन् । मानिसको बुद्धि पनि यस्तै विशिष्ट गुण मात्र हो, उत्कृष्टताको परिचायक होइन । यो संसारमा कोही पनि उत्कृष्ट जीव छैन । सबै प्राणीको जीवन उस्तै हो ।

प्राणीहरू बीचमा उत्कृष्टता–निकृष्टताको धारणा नै असान्दर्भिक कुरा हो । अमूक प्राणीलाई उत्कृष्ट मान्ने वित्तिकै यो संसारमा त्यो प्राणीको मनपरी सुरु हुन्छ । आजसम्म भएकै यही हो । यसकारण मानवअधिकारको अवधारणा उपयुक्त छैन ।

क्षमताको भ्रम

मानवअधिकारको अवधारणा ल्याउने पात्रहरूको अर्को भ्रम, यिनीहरू अरू प्राणीको तुलनामा मानिससँग विशेष क्षमता छ भन्ने मान्दथे । मानिसभित्र आफ्नो भलो–कुभलो छुट्याउन सक्ने क्षमता हुन्छ । सभ्यता र संस्कृति निर्माण गर्न सक्ने क्षमता हुन्छ । अरू प्राणीमा यो क्षमता हुँदैन । यसकारण अधिकारको धारणा केवल मानिसमा लागू हुन्छ । उनीहरूमा यस्तो धारणा थियो ।

यो पनि भ्रमपूर्ण धारणा नै हो । यथार्थमा मानिस ‘अरूभन्दा क्षमतावान’ प्राणी नै होइन । यो संसारमा सबैभन्दा कमजोर बच्चा मानिसको नै जन्मन्छ । मानिसको बच्चा आफैं खान र हिंड्न सक्ने हुन कम्तीमा वर्ष दिन लाग्छ । तर पशुपक्षीको बच्चा जन्मिएको केही घण्टामै आफैं हिंड्न र खान सक्ने हुन्छन् ।

मानिसको बच्चा हुर्कन अस्पताल, डाक्टर र औषधि जरूरी हुन्छ । हुर्किएपछि उसलाई स्कुल कलेज जरूरी हुन्छ । तब बल्ल ऊ जीवनको इलम सिक्न सक्ने बन्दछ । तर जंगलमा पशुपक्षीका बच्चा विना अस्पताल, डाक्टर र औषधि पनि जन्मन्छन्, हुर्कन्छन् । विना स्कुल, कलेज, जीवनको इलम सिक्छन् र आफ्नो प्रजातिको रक्षा गर्न सक्षम बन्दछन् ।

मानिसका बच्चाले पनि यो धर्तीमा गर्ने भनेको जम्माजम्मी यति नै हो, अर्थात् आफ्नो प्रजातिको रक्षा । तर मानिसका बच्चालाई नियम कानुनले बाँध्न अनिवार्य हुन्छ । अर्ति–उपदेश दिनुपर्ने हुन्छ । अभक्ष खान, अशुभ कर्म गर्नबाट बचाउनु÷रोक्नुपर्दछ । हातमा ‘शिक्षा’ को डिग्री हुन्छ । तर सुख बढाउने भ्रममा मानिसको बच्चा सभ्यता, संस्कृति र पर्यावरण नै मास्न उद्यत हुन्छ । अन्ततः उसले आफ्नै प्रजातिप्रति घात गरिरहेको पनि थाहा पाउँदैन ।

पशुपक्षीको संसारमा यस्तो बिल्कुलै हुँदैन । उनीहरूलाई कसैले अर्ति–उपदेश दिनुपर्दैन । नियम–कानुनले बाँध्नु पनि पर्दैन । उनीहरू कहिल्यै अभक्ष खाँदैनन् । अशुभ कर्म पनि गर्दैनन् ।

चित्रकला र इन्जिनियरिङ नसिकाए पनि आफ्नो प्रजातिको परम्परा अनुसारको गुँड बनाउन जान्दछन् । प्रजातिको परम्परा अनुसारको खानेकुरा खाएर–ख्वाएर आफ्नो प्रजातिको रक्षा गर्न जान्दछन् । जस्तोसुकै संकट परोस्, पशुपक्षीले कहिल्यै आफ्नो प्रजातिको घात गर्दैनन् । यसरी हेर्दा त मानव भन्दा गैरमानव प्राणी क्षमतावान छ भन्नु पर्‍यो ।

तर यसो भन्नु पनि गलतै हुन्छ । कारण, यो संसारमा कुनै प्राणी क्षमतावान र कुनै क्षमताहीन भन्ने नै हुँदैन । सबै प्राणी आ–आफ्ना स्वभावका हुन्छन् । प्राणी विशेषका स्वभावलाई तुलना गर्न मिल्दैन । सबै जीव–जगत मौलिक र सार्वभौम छन् । यसकारण सबै प्राणी उत्तिकै महत्वका छन् । मानव र गैरमानव दुवै जीव उत्तिकै क्षमतावान छन् । यस अर्थमा मानवअधिकारको अवधारणा एकाङ्गी छ ।

विभाजनमुखी पद्धति

मानवअधिकारको अवधारणा शास्त्रीय चिन्तनको उपज हो । यसमा पाश्चात्य विज्ञानको एरिस्टोटलियन परम्पराले काम गरेको छ । एरिस्टोटल भन्थे रे– संसार ‘विपरीत तत्व’ ले बनेको छ । ‘विपरीत तत्व’ आपसमा कहिल्यै मिल्न सक्दैनन् । जस्तो कि, अँध्यारो र उज्यालो बीचमा कहिल्यै मिलन हुँदैन ।

मानिसले जीवनमा ‘विपरीत तत्व’ मध्ये कुनै एकलाई स्वागत र अर्कोलाई निषेध गर्नुपर्दछ । प्रकृतिले बिमारी पैदा गर्दछ, त्यसकारण प्रकृतिसँग लड्नुपर्दछ । प्रकृतिमाथि विजय हासिल गर्नुपर्दछ ।

‘पुनर्जागरणकाल’ का दार्शनिक रेने डेकार्टले एरिस्टोटलको यही पद्धति पक्रिएर मन र शरीर (माइण्ड र म्याटर) को विभाजन गरे । उनको विचारमा मन भनेको ‘सोच्ने अंग’ (थिंकिंग थिंग) र शरीर भनेको ‘विस्तारित अंग’ (एक्सटेन्डेड थिंग) हो । यी दुई आपसमा स्वतन्त्र र अलग चिज हुन् ।

केही समयपछि अर्का वैज्ञानिक सिमोन लाप्लासले ‘वैज्ञानिक निर्धारणवाद’ को सिद्धान्त ल्याए । उनले हरेक परिघटनालाई कार्य र कारणमा विभाजन गर्न सकिन्छ भने । यसैलाई ‘वैज्ञानिक निर्धारणवाद’ को सिद्धान्त भनियो । यो सिद्धान्तले हरेक परिघटनालाई कार्य र कारणमा, प्रधान र गौणमा विभाजन गर्न सिकायो । प्रधान भन्नाले कारण तत्व र गौण भन्नाले कार्य तत्व ।

यस प्रकारको विभाजनमुखी पद्धतिले समग्र चिन्तन प्रणालीलाई नै एकांगी बनाइदियो । तब ‘समग्र’ बाट ‘अंश’ को विभाजन, ब्रह्माण्डबाट कणको विभाजन, पदार्थबाट चेतनाको विभाजन, शरीरबाट मनको विभाजन, ‘स्थान’ बाट ‘समय’ को विभाजन गर्ने परम्परा विकास भयो ।

यस्तै चिन्तन पद्धति सामाजिक क्षेत्रमा विस्तार हुँदा लोक र नायक, व्यक्ति र समाज, वर्ग र जाति, नैतिकता र अनैतिकता, सुशासन र कुशासन, राष्ट्र र अन्तर्राष्ट्र आदि तत्वका बीच विभाजन ल्याउने परम्परा विकास भयो ।

यस्तै परम्पराले मानव र गैरमानवबीच पनि विभाजन पैदा गर्‍यो । मानवलाई प्रधान, उत्कृष्ट र क्षमतावान मानियो । गैरमानवलाई गौण, निकृष्ट र क्षमताहीन मानियो । मानवअधिकारको अवधारणा यस्तै चिन्तन पद्धति भित्रबाट पैदा भयो ।

आजको विज्ञानले यो कुरा मान्दैन । आधुनिक विज्ञान भन्छ– प्रकृतिमा विभाजन छैन, अन्तरसम्बन्ध छ । मानिस स्वयं प्रकृति हो । मानिसको प्रकृतिसँगको सम्बन्ध संघर्षको होइन, सहकार्यको हो ।

प्रकृतिका कुनै पनि तत्व ‘स्वतन्त्र’ छैनन् । प्रकृतिमा देखिने जस्तोसुकै विविधतालाई ‘विपरीत तत्व’ मान्न मिल्दैन । ती सबै परिपूरक र अन्तरसम्बन्धित छन् । पदार्थ र चेतना, सजीव र निर्जीव, शरीर र मन, कण र तरंग, समग्र र अंश, ब्रह्माण्ड र परमाणु, मानव र गैरमानव आदि सबै तत्व परिपूरक सञ्जालमा बाँधिएका छन् ।

यस कारण यो संसारमा मानवजाति मात्रको भलो हुने कुनै उपाय छैन । भलो हुँदा सबैको हुन्छ । कुभलो हुँदा पनि सबैको हुन्छ । मानव जातिको भलो गर्ने हो भने गैरमानवको पनि भलो सोच्नुपर्‍यो । गैरमानव जातिको भलो नसोच्ने हो भने मानव जातिको पनि कुभलो नै हुन्छ । यसको सार, मानवअधिकारको धारणा एकाङ्गी छ । हामीले एकाङ्गी होइन, सर्वाङ्गी बन्नुपर्दछ ।

विकल्प : जैविक अधिकार

‘मानवअधिकार’ अवधारणाको विकल्प ‘जैविक अधिकार’ को अवधारणा हो । ‘जैविक अधिकार’ को पहिलो अर्थ, अधिकारको धारणा प्रकृतिका सबै तत्वका लागि सान्दर्भिक छ भन्ने हो ।

दोस्रो, संसारलाई पदार्थ र चेतना, सजीव र निर्जीव, मानव र गैरमानव भनेर भेद गर्नु सान्दर्भिक छैन, सबै चिज सचेतन र जिउँदो छन् भन्ने हो । तेस्रो, अब ‘मानवअधिकार’ र ‘गैरमानवअधिकार’ का कुरालाई विना भेदभाव एकै दस्तावेजमा समेट्नुपर्दछ भन्ने हो ।

‘जैविक अधिकार’ को अवधारणाले ‘मानवअधिकार’ र ‘गैरमानवअधिकार’ को धारणालाई परिपूरक मान्दछ । मानवअधिकारको साथमा पशुको अधिकार, पक्षीको अधिकार, खोलाको अधिकार, हिमालको अधिकार, जंगलको अधिकार, हावाको अधिकार, पानीको अधिकार, माटोको अधिकार आदि धारणालाई अभिन्न मान्दछ ।

अब हामीले अधिकार सम्बन्धी प्रचलित अवधारणा सच्याउनुपर्दछ । विश्व सम्मेलनद्वारा ‘मानवअधिकार’को अवधारणालाई ‘जैविक अधिकार’ को धारणाले प्रतिस्थापित गर्नुपर्दछ । ‘जैविक अधिकार’ का वैश्विक मापदण्ड र सूचक निर्धारण गर्नुपर्दछ । यसका मुलुकसापेक्ष अलग–अलग मापदण्ड र सूचक पनि निर्धारण गर्नुपर्दछ । तब मात्र मानव र गैरमानव दुवैको भलो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्