निजी जग्गामा किन डोजर चलाएको ? महानगरले दिन सकेन जवाफ !

खबर खुराक
खबर खुराक ५ माघ २०७९, बिहीबार
4 Min Read
Aa

काठमाडौं । शंखमूलस्थित साहेल महर्जनको निजी जग्गामा काठमाडौं महानगरको नगरप्रहरीले बिनाप्रमाण डोजर चलाएपछि उनी प्रमाण माग्दै बागदरबार पुगेका छन् । डोजर चलाउने बेला नगरप्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले ‘प्रमाण चाहिए महानगर कार्यालयमा आउनू’ भनेका थिए ।

तर, महानगरका कार्यालय धाउँदा पनि साहेलले निजी जग्गामा डोजर चल्नुको कारण पाएका छैनन् । उनको १२ रोपनी जग्गा काठमाडौं महानगरपालिका वडा नम्बर ३१ स्थित शंखमूलमा छ ।

नगरप्रहरीले सडक चौडा गर्नुपर्ने भन्दै गत पुस २८ गते नगरप्रहरीले जग्गा घेरबार गरेको पर्खालमा डोजर चलाएको थियो । साहेलले त्यतिबेला डोजर रोक्न पनि खोजेका थिए । तर नगरप्रहरीले माथिको आदेश आएको भन्दै जबरजस्ती पर्खाल भत्काइदिएको थियो ।

जग्गाधनी साहेलले नगरप्रहरीसँग पर्खाल भत्काउनुको कारण र प्रमाण मागेका थिए । तर, नगरप्रहरी प्रमुख एसपी पाण्डेले ‘प्रमाण चाहिने भए महानगर कार्यालय जानू’ भन्दै जवाफ दिएका थिए ।

एसपी पाण्डेको जवाफपछि उनी बागदरबार पुगे । कार्यालयले प्रमाण उपलब्ध गराउन नसकेपछि उनले मेयर बालेन शाहलाई भेट्ने खोजे । तर, बालेनले भेट गरेनन् ।

“एसपी पाण्डेले भनेअनुसार बुवा र आफन्तसँग महानगर कार्यालय पुगेका थियौँ । कार्यालयबाट कुनै पनि प्रमाण पाएनौँ । त्यहाँका कर्मचारीहरूले सबै प्रमाण राजु पाण्डेले बोकेर हिडेको छ भन्दै जवाफ दिए । त्यसपछि बालेनलाई भेट्न गएँ । तर उनले भेट्न मानेनन,” पीडित साहेलले भने ।

नगरप्रहरी बलको नेतृत्व गरिरहेका एसपी पाण्डेले गम्भीर लापरबाही गर्ने गरेको साहेलको आरोप छ । नगरप्रहरीको नेतृत्व सम्हालेका नगरप्रहरी एसपी प्रमाणसहित फिल्डमा नआउँदा आफूले महानगरबाट आधिकारिक प्रमाण नपाएको उनले बताए ।

“महानगरको एसपीजस्तो पदमा रहेर त्यस्तो गैरजिम्मेवार जवाफ दिने हो । निजी जग्गामा डोजर चलाउँदा प्रमाण साथमा हुनुपर्छ कि पर्दैन ? कानुनी राज्यमा बसेर यसरी नेतृत्व तहले नै स्थानीयको निजी सम्पत्तिमाथि डोजर चलाएर विचलित बनाउने हो ? गैरजिम्मेवार विवादित एसपीको जवाफबारे कसले बोलिदिने ?,” उनले भने ।

पीडित साहेलका अनुसार महानगरको डोजर चलाएको जग्गा उनकी आमाको नाममा छ । महानगरबाट प्रमाण नपाएपछि साहेलले महानगरसमक्ष लिखित निवेदनसमेत पेस गरेका थिए । तर, उनले निवेदनको पनि जवाफ पाएका छैनन् ।

महानगरले दलालहरूसँगको मिलेमतो गरेर निजी जग्गामा हत्याउने प्रयास गरेको उनको आरोप छ । बिना प्रमाण निजी जग्गामा डोजर चलाएको भन्दै उपत्यकाव्यापी सडक विस्तार संघर्ष समितिले माघ १५ गते माइतीघर मण्डलामा आन्दोलन गर्ने तयारी गरेको छ ।

नगरप्रहरीले एकतर्फी मात्रै साइट क्लियर गरेकाले स्थानीय झनै आक्रोशित भएका छन् ।

समितिका संयोजक सुमन सायमीका अनुसार निजी जग्गामा डोजर चलाउने बालेनको कदमविरुद्ध साहेलको न्यायका लागि शान्तिपूर्ण प्रर्दशन गरिनेछ । महानगरले स्थानीयमाथि गरेको ज्यादती सम्पत्तिको हकविपरीत रहेको पनि उनले बताए ।

०४६ सालमा गाइडेड लाइन डेभलपमेन्ट (जीएलडी) अन्तर्गत सो क्षेत्रमा सडक विस्तार गर्ने योजना बनाइएको थियो । तर, जीएलडी लागु गर्ने अधिकार महानगरपालिकाको क्षेत्रधिकारभित्र नपर्ने सायमीको भनाइ छ । उनका अनुसार आफैँ दुई–तीन वर्षमै जीएलडी निष्क्रिय भएर जाने हुन्छ ।

बिनाप्रमाण, बिनाआधार, बिनासूचना आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएर महानगरले डोजर आतंक मच्चाएको स्थानीयको आरोप छ ।

तर, नगरप्रहरी प्रमुख एसपी पाण्डे महानगरको निर्णय अनुसार नै आफूहरूले साइट क्लियर गरेको दाबी गर्छन् । आफूहरूले प्रमाणसहित सो क्षेत्रमा काम गरेकाले महानगरको कुनै पनि गल्ती नरहेको दाबी नगरप्रहरी बलको छ ।

“जीएलडी प्रक्रिया अन्तर्गत नै साइट क्लिएर गरेका हौँ । हाम्रो कुनै रिसइबी होइन,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्