विद्युत् चुहावट घट्यो

खबर खुराक
खबर खुराक ५ माघ २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ।

प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत् चुहावट घटाएर सात दशमलव ४९ प्रतिशतमा झारेको छ।

नियमितरुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैरप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको अभियानबाट प्राधिकरणले गत वर्षको मङ्सिरसम्मको वितरणतर्फको सञ्चित चुहावटको तुलनामा यस वर्ष एक दशमलव ७४ प्रतिशत बिन्दुले घटाइएको छ।

गत वर्ष मङ्सिरसम्मको वितरणतर्फको विद्युत् चुहावट नौ दशमलव २३ प्रतिशत थियो। गत आर्थिक वर्ष २०७८/७९ मा वितरणतर्फको समग्र विद्युत् चुहावट १० दशमलव ८६ प्रतिशत थियो।

चालू आवको मङ्सिरसम्ममा वितरण प्रणालीमा चार अर्ब १४ करोड ७५ लाख युनिट विद्युत् प्राप्त भएकामा तीन अर्ब ८३ करोड ६७ लाख युनिट विद्युत् बिक्री भएको छ।

३१ करोड सात लाख ७९ हजार युनिट विद्युत् चुहावट भएको छ। मङ्सिरसम्म प्रसारण लाइनतर्फको चुहावट चार दशमलव ५६ प्रतिशत छ।

प्रसारण र वितरणतर्फ गरी मङ्सिरसम्ममा समग्र प्रणालीको विद्युत् चुहावट १२ दशमलव शून्य पाँच प्रतिशत छ। गत असारसम्ममा समग्र प्रणालीको विद्युत् चुहावट १५ दशमलव ३८ प्रतिशत थियो।

प्रणालीमा रहेको विद्युत् चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ। प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत् चुहावटलाई १४ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई आठ दशमलव पाँच प्रतिशतमा झार्ने लक्ष्य राखेको छ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले करिब सात वर्षअघि वितरणतर्फको चुहावट झण्डै २२ प्रतिशत रहेकामा अहिले घटाएर सात दशमलव ४९ प्रतिशतमा झार्न सफल हुनु ठूलो उपलब्धि भएको जानकारी दिए।

प्राविधिक र गैरप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई अझै सशक्त र प्रभावकारी बनाएर चुहावटलाई लक्ष्यभन्दा अझै कम बनाउने गरी सम्पूर्ण टोली परिचालन गरिएको कार्यकारी निर्देशक घिसिङले उल्लेख गरे।

हुकिङलगायतबाट हुने विद्युत् चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारवाही, ओभरलोड भएका सबस्टेसन र फिडर लाइनको सुदृढीकरण तथा नयाँ सबस्टेशनको निर्माण, कन्डक्टर, ट्रान्सफर्मर फेर्नेलगायतका काममा गरिएको ठूलो लगानीको नतिजा देखिएको उनको भनाइ छ।

जाडोमा पहाडी र गर्मीमा तराई क्षेत्रमा प्राविधिक चुहावट केही बढ्नसक्ने उल्लेख गर्दै घिसिङले यसलाई ध्यान दिँदै चुहावटलाई वाञ्छित सीमाभन्दा तल झार्ने गरी काम भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्