कृषि उत्पादन वृद्धिसँगै बजारसम्मको पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड

खबर खुराक
खबर खुराक ५ माघ २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौं । दक्षिण एसियामा खाद्य सुरक्षाको सुनिश्चितताका लागि कृषि उत्पादन वृद्धिसँगै बजारसम्मको पहुँच सुनिश्चित गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।

काठमाडौंमा आयोजित प्रथम दक्षिण एसियाली कृषि सम्मेलनका क्रममा नीति निर्माता र व्यवसायीहरूले पछिल्लो समय अन्तर्राष्ट्रिय व्यापारमा गैरभन्सार अवरोध बढ्न थालेकाले यसमा सुधार आवश्यक रहेको औँल्याए ।

भारतको सब कन्टिनेन्ट एग्रि फाउन्डेसन, टेफ्ला र नेपाल उद्योग वाणिज्य महासंघले संयुक्त रूपमा आयोजना गरेको उक्त सम्मेलनमा महासंघका अध्यक्ष शेखर गोल्छाले सम्मेलनले नेपाली उत्पादनको बजारीकरणमा सहयोग पुग्ने बताए ।

दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साप्mटा)मा यस क्षेत्रका मुलुकहरूबीच व्यापार विस्तारको अवसर भए पनि कृषिजन्य उत्पादनको निर्यातमा गैरभन्सार अवरोधलगायत समस्या रहने गरेको उनले उल्लेख गरे ।

अध्यक्ष गोल्छाले नेपालको तुलनात्मक लाभ भएका वस्तुहरूको निर्वाध निर्यातका लागि देशभित्र सहुलियत बढाउनुपर्ने र अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच सुनिश्चित गरिनुपर्ने बताए ।

श्रीलंकाका व्यापार एवं खाद्य सुरक्षामन्त्री नलीन फर्नान्डोले यस क्षेत्रमा ४० प्रतिशत सिमान्तकृत किसान रहेकाले उनीहरूको उत्पादन वृद्धि र बजार सुनिश्चितताका लागि पहल गर्नुपर्ने बताए ।

कृषि क्षेत्रको निर्यात लागत निक्कै महँगो भएको र यहाँका धेरै देशहरूमा खुद कृषिजन्य वस्तु आयात रहेको भन्दै उनले खाद्य सुरक्षा सुनिश्चिततामा विशेष प्रयास आवश्यक रहेको बताए । दक्षिण एसियाले संयुक्त रूपमा प्रयास गर्दा यहाँको खाद्य सुरक्षा सुनिश्चितता र किसानको आय वृद्धिमा सहयोग पुग्ने विश्वास पनि मन्त्री फर्नान्डोले व्यक्त गरे ।

दुबई मल्टि कमोडिटिस सेन्टरका कार्यकारी अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत अहमत विन सुलेयमले दक्षिण एसियाले दुबईको बजारबाट फाइदा लिन सक्ने बताए । कृषि बजार विस्तारका लागि ब्लकचेनलगायत प्रविधिमा आधारित व्यापारको उपयोग गर्न सकिने पनि उनले उल्लेख गरे ।

यस्तै, उद्योगसचिव डा. तोयानारायण ज्ञवालीले सम्मेलनका क्रममा हुने छलफलले निर्यात एवं लगानी र्‍मा सहयोग पुग्ने बताए । उनले सम्मेलनमा लगानीलाई बढी प्राथमिकता दिनुपर्ने बताए । लगानी बढ्दा निर्यात र्‍ र आयात प्रतिस्थापनमा सहयोग पुग्ने उनले बताए ।

उनले साफ्टाअन्तर्गत सबै मुलुकले फाइदा लिन संवेदनशील सूचीमा रहेका वस्तुहरू घटाउनुका साथै गैरभन्सार अवरोध हटाउनुपर्नेमा जोड दिए ।

ज्ञवालीले दक्षिण एसियाले प्रविधिको उपयोग बढाउनुका साथै व्यापार अवरोध हटाउन सके कृषि क्षेत्रमा दक्षिण एसिया विश्वकै महाशक्ति हुनसक्ने बताए ।

सम्मेलनमा १२ देशका करिब ४०० जना सहभागी छन् । सम्मेलन शुक्रबार (भोलि)सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्