शीर्ष नेतृत्वभित्र हुर्किएको विकृतिका असर

खबर खुराक
खबर खुराक ६ माघ २०७९, शुक्रबार
10 Min Read
Aa

नेपाली राजनीति लामो समयदेखि निम्न पूँजीवादी जडतामा जेलिंदै आएको छ । यो जडताग्रस्त पार्टीका नेताहरूमा अर्काको मनको तराजु मात्र तौलने बानी परेको छ । उनीहरू एकपटक आफ्नो अन्तरमनको तराजुतर्फ फर्केर हेर्दैनन् ।

हरेक दिन चासो उसले के गर्छ ? के भन्छ ? कहाँ जान्छ ? हाम्रो ध्यान अरूको चियोमा मात्र जान्छ । आफ्नो मनभित्र कहिल्यै चियाउँदैनौं । म के गर्दैछु, कसको हितमा गर्दैछु । कहाँबाट खर्च गर्दैछु के खाँदैछु जीवनको लागि खाँदैछु कि जिब्रोको लागि ? केमा खर्च गर्दैछु ? राष्ट्रको लागि गर्दैछु कि फगत आफ्नो नामको प्रचारको लागि ? हामी अन्तर समीक्षामुखी नभएर बाह्यमुखी भएका छौं । समस्या सुल्झाउने भन्दा समस्या छिरोलेर अस्तव्यस्त बनाउनेतर्फ गइरहेका छौं ।

आफूलाई समग्रतामा हेर्न र बुझ्न नसक्दा नेपालको राजनीतिक नेतृत्व सधैं द्विविधामा छ । हाम्रो पार्टी ठिक कि माओवादी ठिक, कांग्रेस ठिक कि जसपा ठिक, प्रचण्ड ठिक कि माधव नेपाल ठिक, शेरबहादुर ठिक कि रामचन्द्र ठिक ? पार्टी केबाट चल्छ ? महाधिवेशन के हो, पारित दस्तावेजहरू केका लागि हुन् ? यसबारे कहिल्यै गम्भीर छलफल भएन । न त महाधिवेशनको निर्देशनकै पालना भयो ।

यो प्रवृत्तिको विकासले द्विविधा सर्वत्र फैलियो । राज्यमा द्विविधा, दलमा द्विविधा, व्यक्तिमा द्विविधा, विदेशी शक्तिलाई हेर्ने सवालमा द्विविधा । यी द्विविधाले २००७ सालदेखि हालसम्म कुनै पनि विचारधारा बोक्ने दलको एकीकृत निर्माण हुन सकेन, गुटमा विभाजित भए । महाधिवेशन, सम्मेलन गुटका मञ्च बने । गुटमा छलफल गरेर निष्कर्ष मञ्चमा लैजाने । आफ्नो कुरो माने स्वीकार्ने नमाने विरोध गर्ने । आ–आफ्ना गुटले आफ्नै गुटका नेता छान्ने ।

माथि चर्चा गरिएका विषय हाम्रो देशको राजनीतिभित्र देखिएका सामाजिक संस्कारका नफेरिएका जडवत् समस्या हुन् । यी समस्याको समाधान गर्न यसको पात र टुप्पो मात्र केलाएर पुग्दैन । यी समस्या पछाडिका सामाजिक संस्कार र संस्कृतिका क्षेत्रहरूबाट मानिसको मन–मस्तिष्कमा परेको प्रभावलाई राम्ररी केलाएर तिनको उचित आलोचना र शिक्षाको क्षेत्रमा आमूल रूपान्तरण गर्न सकिएन भने सय वर्षसम्म पनि समाज ठिंगुरिएर रहनेछ ।

के हुन् हाम्रो सामाजिक–राजनीतिक क्षेत्रमा देखापरेका निम्न बुर्जुवा संस्कार र संस्कृतिका ज्वलन्त प्रमाण ? यसलाई हामी यसरी सूत्रबद्ध गर्न सक्छौं :
१. पद र सम्मान प्राप्तिको भोक । यसमा मर्यादा क्रम, सत्ता, सम्पत्ति र शक्ति प्राप्तिको भोक एवं अहंकार पर्दछन् ।

२. अधिकभन्दा अधिक मान अधिकभन्दा अधिक धन र ठूलो पद लिएर त्यसलाई निरन्तर आफूसँगै राख्ने प्रयत्न नेपालका आजका दलका नेताहरूको मनस्थिति ।

३. सीमित क्षमता र असीमित संग्रहको इच्छा नै वर्तमान नेतृत्वभित्र रहेको समस्याको जड हो ।

४. आज तिनै साथीहरू सबैभन्दा बढी असन्तुष्ट छन् जोसँग सबैभन्दा ठूला घर छन् । जसले राज्य र पार्टीको अनधिकृत सुविधा लिएका छन् । यी साथीहरू सिङ्गो पार्टी र देशका सम्पूर्ण कार्यकर्ता माथि हैन आफ्ना वरिपरि घुम्ने थोरै ज्ञान र कमजोर मनस्थिति भएका मानिसमाथि भरोसा गर्छन् । अध्ययनशील, सत्यवादी र आम पार्टी कार्यकर्तालाई उपेक्षा गर्छन् ।

५. केही साथीको काम नेताहरूको घरदैलो धाएर यताका कुरा उता, उताका कुरा यता ल्याएर कान भर्ने भएको छ । उनीहरू वातावरणलाई सधैं विषाक्त बनाउँछन् । नेता लडाएर आफ्नो स्वार्थपूर्ति गर्ने बानी उनीहरूमा परेको छ । यिनीहरूले प्रशंसाका भोका नेतालाई कोलमा गोरु घुमाए झैं घुमाइरहेका छन् ।

माथि चर्चा गरिएका गलत चिन्तन, व्यवहारबाट आफ्नो राजनीतिक दलभित्र प्रवेश गरेका समाजका कुसंस्कारबाट उत्पन्न स्वभावलाई नहटाएसम्म दलहरूले सही ढंगबाट पार्टी परिचालन र समाज रूपान्तरण गर्न सम्भव देखिंदैन । यसको लागि राजनीतिक संगठनभित्र कार्यकर्तामा देखापरेका सामाजिक संस्कृतिबाट उत्पन्न संस्कारगत स्वभावहरूबारे पार्टी नेतृत्व स्पष्ट हुनुपर्छ । कार्यकर्तालाई म कस्तो समाजमा छु, मेरो समाजको राजनीतिक, सामाजिक र सांस्कृतिक स्तर के हो ? मैले विस्थापित र स्थापित गर्न खोजेको कुरा के हो ? मैले चाहेको समाज स्थापना गर्न कस्तो संगठन चाहिन्छ ? भन्नेबारे स्पष्ट हुनु जरूरी छ ।

संगठन भनेको के हो ?
१. संगठनको ढाँचा तहगत हुन्छ । केन्द्रदेखि गाउँ र वडासम्म कमिटीहरू हुन्छन् ।

२. हरेक कमिटीमा पद हुन्छ, जिम्मेवारी हुन्छ कामको बाँडफाँड हुन्छ । कामको जिम्मा पूरा गर्ने कमिटीका सदस्यको पदीय मर्यादा हुन्छ ।

३. संगठनमा विधि, नियम हुन्छन् । बोलीचाली र साथीहरूसँगका व्यवहारदेखि बस्ने, खाने र राजनीतिक मर्यादासम्मको पालना हुन्छ । केपी ओली नेतृत्वको एमालेमा यी साङ्गठनिक मर्यादाका राजनीतिक, सामाजिक, सांस्कृतिक मूल्य–मान्यता सबै भताभुङ्ग भए । ‘भावी भूलबाट बच्न विगतका भूलबाट सिक’ भनिन्छ । आजका समाजवादी पार्टीका कार्यकर्ताले ओलीकालमा भएका राजनीतिक, सांगठनिक विधि–पद्धतिका भुलहरूबाट पाठ सिक्नै पर्छ ।

४. जहाँ राजनीतिक संगठन हुन्छ त्यहाँ सिनियर जुनियरको मर्यादाक्रम हुन्छ । तिनीहरूको मर्यादाक्रम छुट्याउने पनि विधि र प्रक्रिया हुन्छ । त्यो सामूहिक छलफलबाट समझदारीमा तोकिन्छ या निर्वाचनको विधिबाट । तर, नेपालका राजनीतिक दलहरूभित्र यो विधि–पद्धतिको कसरी ठाडो उल्लङ्घन हुन्छ भन्ने कुरा चितवनको एमाले महाधिवेशनमा पदाधिकारी छनोटमा देखिएको नेताको मनपरीले देखाएको छ । यहाँका पार्टीहरूभित्र हिन्दुको शिव संस्कृतिको ‘चाप्लुसे सर्वपुज्यन्ते कर्मनिष्ठे बहिष्कृताम्’ भन्ने संस्कार स्थापित गरेको छ ।

५. संगठनमा मूल्यांकन हुन्छ भनेपछि मूल्यांकनका आधार पनि हुन्छन् । सामान्यतः मूल्यांकनका आधार व्यक्तिको कार्यदक्षता, निरन्तरता, मिल्न–मिलाउन सक्ने क्षमता, अध्ययनशीलता, सिद्धान्त र राजनीतिक प्रशिक्षण गर्न र कुरा बुझाउन सक्ने क्षमता हुनसक्छन् ।

६. जुनियरले सिनियर हुन कति खुड्किला पार गर्नुपर्छ ? कति दक्षता हासिल गर्नुपर्छ ? संसारभर यसको मूल्य–मान्यता छ । यो कुरा राज्यमा र संगठनमा पनि छ । तर, नेपाल जस्तो पिछडिएको अर्थतन्त्र भएको मुलुकमा राजनीतिक र सांस्कृतिक स्तर पिछडिएको हुनाले यहाँका राजनीतिक नेताहरू पिछडिएकै दिमागबाट यो मूल्य–मान्यताको उल्लङ्घन गर्छन् ।

७. सिनियर, जुनियरको भेद र पद विभाजनको विधि नभएको संगठनका नेता चाप्लुसको कानफुके शैलीबाट प्रभावित हुन्छ । परिश्रम र ज्ञानको मूल्यहीन हुने त्यस्तो संगठनको विनाश अनिवार्य छ ।

माथि बताइएका सांगठनिक, वैचारिक, विधिपद्धति तथा कार्यशैलीका लामो कालदेखि आदतको रूपमा जमेर बसेका समस्यालाई हटाउने कसरी ? यो एउटा जटिल र गम्भीर प्रश्न छ । स्वयं राजनीतिक दलहरू यस आदतबाट मुक्त हुन चाहन्छन् भने उनीहरूले माथि बताइएका कमजोरीहरूको आफू र आफ्नो संगठनभित्र जाँच–पड्ताल गर्नुपर्छ र तल उल्लेखित विषयमा पार्टीव्यापी कार्यकर्ता प्रशिक्षण चलाउनुपर्छ ।

१. संगठन मानिसले संचालन गर्छ, त्यसैले संगठन बदल्न मानिस बदलिनुपर्छ ।

२. संगठनमा नेतृत्वले समस्या हैन समाधान दिनुपर्छ ।

३. नेतृत्व दिनेले नीति, भिजन, योजना, मिसन र आचरण दिन सक्नुपर्छ । नेतृत्वले माथिका पाँच कुरा कार्यकर्तालाई दिन सक्नुपर्छ भने कार्यकर्ताले आफूभित्र पाँचै कुरा लागू गर्न सक्नुपर्छ ।

४. कार्यकर्ता स्वावलम्बी बन्नुपर्छ । उसले आफ्नो र पार्टीको स्वाभिमानलाई उँचो राख्नुपर्छ । नैतिकवान, समाधानमुखी, सक्रिय र क्रियाशील हुनुपर्छ ।

५. कार्यकर्ताले आफ्ना समस्या नेताको टाउकोमा हाल्नुहुन्न नेताले कार्यकर्ताको टाउकोमा थोपर्नुहुन्न ।

६. कमिटीभित्रका निर्णयहरूको पालना गर्ने परिपाटी बसाउनुपर्छ ।

७. विचार र काम गर्ने तरिका, सोच र व्यवहार संस्थामुखी हुनुपर्छ । संस्थालाई केन्द्रमा राख्नुपर्छ ।

८. संस्थालाई केन्द्र भागमा नराखेर व्यक्ति केन्द्र भागमा रहन्छ भने त्यो पार्टी नभएर गुटहरूको मण्डली हुन्छ । जब व्यक्ति केन्द्र भागमा हुन्छन्, त्यहाँ द्वन्द्व बढ्छ र संस्था गुटहरूको मञ्च बन्छ । यस्तोमा त्यो एउटा मोर्चा संगठन मात्र हुन्छ । हाल नेपालमा यस्तै भइरहेको छ ।

९. संस्था गुटहरूको मञ्चमा बदलिएपछि गुटका बोसहरू अलग बैठक गरेर आउँछन् र आफ्नो निर्णय लाद्छन् । आफ्नो कोसिस सफल नहुने देखे संस्था फुटाउने धम्की दिन्छन् ।

१०. एउटा पार्टीभित्र तीन चरित्र बोकेका नेता हुन्छन्– राजनेता, नेता र सरकार (बोस) ।

राजनेताले पार्टीभन्दा माथि उठेर सोच्दछ । राजनेताको पहिलो प्राथमिकता देश र जनता हुन्छ । पार्टी नेताले पहिलो प्राथमिकतामा पार्टीलाई राख्छ । पार्टी बलियो भयो भने देश र जनताको भलो गर्न सक्छु भन्ने उसको बुझाइ हुन्छ । बोसले गुटलाई पहिलो प्राथमिकतामा राख्छ । बोसलाई विचार र सिद्धान्तका मूल्यमान्यतासँग कुनै लेनादेना हुँदैन । उसलाई बलियो गुटमार्फत पार्टी कब्जा गर्ने चिन्ता हुन्छ । यसको लागि ऊ पैसाको जोहो गर्न थाल्छ । पैसाको प्रयोग गरेर आफ्ना वरिपरि विचारहीन मानिसको भीड जम्मा गर्न थाल्छ । जहाँबाट पैसा तान्न सकिन्छ तिनै मानिसहरू उसका प्रिय पात्र हुन्छन् ।

११. यस्तो अवस्थामा पार्टीभित्र नेता र राजनेताले त्याग्न योग्यलाई त्याग्न र ग्रहण गर्न योग्यलाई ग्रहण गर्न सक्नुपर्छ । गुण र दोषको आधारमा प्रमोसन र डिमोसन गर्न सक्नुपर्छ ।

१२. सैद्धान्तिक, राजनीतिक, वैचारिक र कार्यशैलीका व्यावहारिक मापदण्डको आधारमा मूल्याङ्कन गर्न सक्नुपर्छ । अर्गानिक बुद्धिजीवीबाट आएका नेता–कार्यकर्ता र रासायनिक तरिकाबाट आएका कार्यकर्ताका विशेषताको पहिचान गरी कामको जिम्मेवारी छुट्याउन सक्नुपर्दछ ।

१३. महाधिवेशन वा केन्द्रीय कमिटीबाट पारित निर्णयहरू कार्यक्रम र विधानको पालना माथिदेखि तलसम्मका कमिटीमा संगठित सदस्यहरूले कडाइका साथ गर्न सक्नुपर्दछ ।

१४. शीर्ष तहमा बसेर मनपरी गर्ने, उपदेश दिंदै हिंड्ने आचरणलाई कार्यकर्ताले अंकुश लगाउन सकेनन् भने त्यो नेता र कार्यकर्ताको पार्टी नभएर मालिक र दासको झुन्डमा फेरिनेछ । नेपालका कतिपय राजनीतिक पार्टीको भविष्य अन्धकार सुरुङमार्गतिर प्रवेश गर्न लागेको आभास अहिले आफूलाई अब्बल दर्जामा राख्ने केही पार्टीहरूले दिन थालेका छन् ।

१५. अर्गानिक बुद्धिजीवीबाट आएका हरेक पार्टीका कार्यकर्ताहरू साँच्चिकै व्यावहारिक र जनताप्रति उत्तरदायी भएर चल्छन् र राष्ट्रको हित चाहन्छन् भने उनीहरूले आफ्नो दललाई सही धारमा अघि बढाउनु आवश्यक छ । जता पानी बग्छ, त्यतै बहनु ठूलो कुरो हैन । धारको प्रतिकूल नाउ लैजानु सच्चा माझीको परिचय हो ।

अनलाइनखबरबाट ।।

प्रतिक्रिया दिनुहोस्