काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा राना मगरलाई उपसभामुखमा उम्मेदवार बनाउने निर्णय गरेको छ। स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले रानालाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए।
राना समानुपातिक सांसद् हुन्। सत्ता साझेदार दलभित्र उपसभामुख स्वतन्त्र पार्टीलाई दिने समझदारी भएको थियो।
झापामा जन्मिएकी राना बन्दी सहायता नेपाल नामक संस्थाकी संस्थापक अध्यक्ष हुन् । उनले काठमाडौंलगायत देशका विभिन्न जिल्लामा कैदीबन्दीका रूपमा रहेका आमाबुवाका छोराछोरीको लालनपालन तथा शिक्षामा सहयोग गर्दै आएकी छन्।
सन् २०१७ मा बीबीसीले रानालाई १०० प्रभावशाली तथा प्रेरणादायी महिलाको सूचीमा पनि राखेको थियो।
रानाको संस्थाले १२ वटा बालगृह, २ वटा विद्यालय, ४ वटा दिवा हेरचाहका साथै विभिन्न सामाजिक काम गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस्