सीप छ, बजार छैन

खबर खुराक
खबर खुराक ८ माघ २०७९, आईतवार
6 Min Read
Aa

कमलामाई । सिन्धुलीको दुधौली नगरपालिका–३ खुट्टेपानीकी सगरवत्ती कुमर (दनुवार) सँग मान्द्रो बनाउने सीप छ । बनाएको मान्द्रो बिक्री गर्ने बजार छैन । सात वर्षअघि सम्म मान्द्रो बेचेर भएको आम्दानीले उहाँको घरायसी व्यवहार टर्दै आएको थियो । अहिले घरखर्चका लागि ऋण गर्नुको विकल्प छैन । आम्दानीको स्रोत केही नभएपछि ऋणको भारी बोकेरै भए पनि व्यवहार धान्नु परेको उनले बताइन् ।

मान्द्रोको ठाउँका पछिल्लो समय प्लास्टिकका सामग्रीले प्रभाव जमाएको छ । सस्तो र सहज रुपमा पाउन थालेपछि मान्द्रो बनाउने पेसा सङ्कटमा परेको छ । जङ्गलमा पहिलाको जसरी बाँस पाइँदैन । मुस्किलले ल्याएर बनाइएको मान्द्रो नबिक्ने समस्या रहेको उनले सुनाइन् । सगरवत्तीले भनिन्, मान्द्रो बिक्री हुन्छ भने फेरि बुन्न सुरु गर्नेछु ।’’ केही वर्षअघि सम्म चुरे क्षेत्र प्रवेश गर्ने बित्तिकै बाँस पाइन्थ्यो । बिहानको खाना खाएर निस्कियो भने खाजा खाने बेलामा बाँसको भारी लिएर आइन्थ्यो । मान्द्रो किन्न ग्राहक घरै आउँथे । बिक्री नहुने समस्या थिएन । त्यतिबेला दिनकै पाँच सय कमाई हुने उनी बताउछिन्, “त्यो पैसाले घरायसी सबै खर्च टर्थो ।’’

“एनिस, ओनिस करब ऋणै हप्छो, उही जुमा त मान्द्रो बेचिक खर्च टर्तो, ऋण नइरहोक”, केही शब्द नेपाली र धेरै शब्द दनुवारी भाषामा बेलिविस्तार लगाउँदै उनले भनिन्, “आजकाल ऋणै करपर्तो, ऋण बढ्ल खाली ।” अर्थात् यताउता गर्न ऋणै लिनुपर्ने बाध्यता भएको उनको दुखेसो छ । “त्यो बेला मान्द्रो बेचेको पैसाले खर्च टर्थो, ऋण थिएन । अहिले जे गर्नुपर्दा पनि ऋणै गर्नुपर्छ, ऋण बढेको बढ्यैँ”, उनले भनिन् ।

सगरवत्तीको पाँचजनाको परिवार छ । श्रीमान् दुई लाख ऋण गरेर साउदी गएका छन् । दुई वर्ष बितिसक्दा पनि विदेश जाँदाको ऋण तिर्न सकेका छैनन् । तीन सन्तानको पालनपोषणलगायत घरायसी खर्च टार्न उनलाई यतिबेला धौधौ छ । जङ्गलमा खेर गइरहेका बाँसको चोयाबाट घर व्यवहार धान्दै आएकी उनको हातमा अरू काम गर्ने सीप छैन । पढाइलेखाइ पनि छैन । अहिले घरपरिवार चलाउन ज्याला मजदुरी गर्नुपर्ने बाध्यता छ ।

सगरवत्तीले मात्रै होइन, दनुवार समुदायका अधिकांश महिलाको आम्दानीको स्रोत मान्द्रो बनाउने नै थियो । “गाउँका मानुक सभेले बुन्तो नी, आभे छोड्लासे”, (पहिला गाउँका सबै महिलाले बनाउँथे, अहिले सबैले छोडे) सोम्नी दनुवारले भनिन् । उनले पनि तीन सन्तानको पढाइलेखाइ र घरायसी खर्च मान्द्रो बेचेरै जुटाउने गरेकी थिइन् । उनले भने, “श्रीमान्ले जङ्गलबाट बाँस ल्याइदिनु हुन्थ्यो । चोया आफैं काट्थे । मान्द्रो बनाउँथे । ग्राहक घरैमा आउँथे”, १० वर्षअघिको समयलाई सोम्नीले यसरी सम्झिइन् ।

दिनमा पाँचवटासम्म मान्द्रो बुन्ने गरेको बताउने उनले शुक्रबार भिमानमा लाग्ने हाटमा घरायसी सामान, लत्ताकपडा किन्न पनि मान्द्रो बोकेर जाने गरेको सुनाए। “पहिला गाउँभरिका महिला मान्द्रो बुन्थे । भिमान बजार समूहमा जान्थ्यौँ । मान्द्रो बेच्यौँ, चाहिएको सामान किनेर ल्याउँथियौँ”, उनले भनिन्, “त्यतिबेला जति वटा लगे पनि घर फर्काएर ल्याउन पर्दैनथ्यो । अहिले बिक्री नै हुँदैन, धेरैले मान्द्रो बुन्न छोड्दै गएका छन्, मैले पनि छाडेँ ।”

मान्द्रोको व्यापार नभएपछि आफ्नो व्यक्तिगत खर्च जुटाउनै सकस भएको उनले बताइन् । उनीसँग आकर्षक मान्द्रो बनाउने, थरीथरीका डालो बनाउने सीप छ । गर्दै आएको पेसा सङ्कटमा परेपछि घरेलु जाँड, रक्सी उत्पादन गरेर बेच्न थालेकी सोम्नी उपयुक्त कामको खोजीमा छिन् । “जाँड, रक्सी उधारो माग्छन्, दियो पैसा उठाउन सकिँदैन । व्यवसाय घाटामा गएको छ । केही इलम पाउन पाए गर्थें”, उनले भनिन् ।

दनुवार समुदायको परम्परागत तथा पुख्र्यौली मान्द्रो बनाउने पेसाको विकास तथा संरक्षणसमेत हुन नसकेका कारण धेरैको रोजीरोटी नै गुम्ने अवस्था आएको छ ।  स्थानीयस्तरमा पाइने बाँस तथा निगालोको प्रयोग गरेर दुधौली नगरपालिकाका दनुवार समुदायका महिलालाई मान्द्रो बुन्ने सीपले आत्मनिर्भर बनाएको थियो । दुई–चार पैसाका लागि श्रीमान् तथा अन्य परिवारका सदस्यसँग हात फैलाउनु पर्ने बाध्यता थिएन । पराम्परागत तरिकाबाटै उत्पादन गरिँदै आएको यस्तो पेसा व्यवसायले बजारीकरण र प्रचारप्रसारसमेत नपाउँदा लोप हुँदै गएको छ ।

बाँसको चोयाबाट आकर्षक बुट्टेदार मान्द्रो बनाउने सीप भएकी मुन्डी कुमर (दनुवार) ले नजिकै गाउँ बाँस पाउन छाडेकाले आफूलाई ओछ्याउनसमेत प्लास्टिकको किनेर ल्याएको बताइन् । उनले भनिन् “नौ वर्षअघिसम्म मान्द्रो बेचेर महिनाको १५ देखि २० हजारसम्म कमाउँथे । अहिले बाँस पाउनै मुस्किल छ, मान्द्रो बनाउने सीप मात्र भएर के गर्नु ?”

ग्रामीण क्षेत्रमा आम्दानीको राम्रो स्रोत बनेका बाँसका सामग्री बनाउने पेसा अहिले सङ्कटमा छन् । बाँसको सामग्री निर्माण गर्न कठिनाइ हुने र यसको बजार व्यवस्थापनसमेत नहुँदा दनुवार समुदायका महिलाले पुर्खौंदेखि गर्दै आएको पेसा लोप हुने अवस्थामा पुगेको दनुवार जागरण समिति सिन्धुलीका सदस्य सुकुमलाल कुमर (दनुवार) ले बताए । “दनुवार समुदायको पुख्र्यौली पेसा लोप हुँदै गएको छ । नयाँ पिँढीमा सीप हस्तान्तरण हुन सकेको छैन । सीप पुस्तान्तरण हुन नसक्दा पनि पेसा लोप हुन थालेको हो”, उनले भने ।

पहिला दुधौलीका महिलाले बनाएका मान्द्रो काठमाडौँ र तराईका जिल्लाहरुमा निर्यात हुने गरेको उनलाई जानकारी छ । अहिले स्थानीय बजारमा समेत प्लास्टिकका बिछ्याउने सामग्रीले प्रभाव बढेको उनले बताए । बजारमा प्लास्टिकका सामग्रीको उत्पादन सस्तो र सहज रुपमा पाउन थालेपछि ग्रामीण क्षेत्रमा निर्माण गरिएका यस्ता सामग्रीले बजार पाउन सकेका छैनन् । स्थानीय सरकारले दनुवार समुदायको परम्परागत पेसाको संरक्षण, प्रवद्र्धन र विकासका लागि पहल गर्नुपर्ने आवश्यकता देखिएको उनको भनाइ छ ।

प्लास्टिकका सामग्रीको बढ्दो प्रयोग र बाँसका सामग्री बनाउने पेसा अँगाल्ने युवा पुस्ताको कमीका कारणले पनि यो व्यवसाय सङ्कटमा परेको दनुवार समुदायको बाहुल्यता रहेको दुधौली नगरपालिकाका उपप्रमुख चन्द्रकिशोर थारूको धारणा छ । यो पेसासँगै बाँसको चित्रा, डोको, थुन्से, नाङ्लो, मान्द्रो, भकारीे जस्ता सामग्रीको उत्पादनसमेत अत्यन्तै न्यून हुने गरेका उनले बताए ।

प्रतिक्रिया दिनुहोस्