Ad imageAd image

अब अनलाइनबाटै सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्न सकिने

खबर खुराक
खबर खुराक ८ माघ २०७९, आईतवार
2 Min Read
Aa

काठमाडौं । सर्वोच्च अदालतमा अब चाँडै नै अनलाइनमार्फत् मुद्दा दर्ता गर्न सकिने भएको छ । शुक्रबार ‘न्यायपालिकामा सूचना प्रविधिको अवस्था तथा फैसला कार्यान्वयन सम्बन्धी सफ्टवेयर’को उद्घाटन गर्दै कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले अनलाइनबाटै सर्वोच्चमा मुद्दा दर्ता गर्न सकिने प्रणाली कार्यान्वयनमा ल्याउन लागेको जानकारी दिए ।

”अनलाइन मुद्दा दर्ताका विषयमा अध्ययन भई कार्यान्वयनको तयारीमा छौं,” उनले भने ।

त्यस्तै अदालतमा ‘कोर्ट रुम टेक्नोलोजी’को प्रयोग गर्ने प्रयास भइरहेको र पेसी अटोमेसनका लागि सफ्टवेयर लगायतको पूर्वाधार तयार गरिरहेको पनि उनले उल्लेख गरे ।

अदालतहरुमा रहेका अभिलेख मिसिलहरुलाई डिजिटाइजेशन गर्न सुरु गरिएको कार्कीले बताए । ”अदालतहरुमा हाल रहेका करिब ३६ लाख मुद्दाका मिसिल कागजहरुको स्क्यान गरी विद्युतीय अभिलेखमा प्रविष्ट गर्ने सोच रहेको छ,” उनले भने ।

- Advertisement -
Ad image

”त्यसो हुन सकेमा मिसिल कागजातहरु सुरक्षित रहने र ती कागजातहरुमा कुनै पनि अदालत तथा माथिको अदालतबाट पनि सहज रुपमा मिसिल कागजात प्राप्त गर्न सक्ने अवस्था रहन्छ । यसले माथिल्लो अदालतले मिसिल मगाउन लाग्ने समय तथा लागत वचत भई समयमै न्याय सम्पादन हुनसक्ने, सरोकारवालले आफ्नो नजिकको अदालतमा गएर आफ्नो मिसिलमा रहेको फैसला लगायतका कागजातका प्रतिलिपि प्राप्त गर्नसक्ने अवस्था सिर्जना गर्दछ,’ उनले अगाडि भने ।

शुक्रबार सार्वजनिक भएको ‘न्यायपालिकामा सूचना प्रविधिको अवस्था तथा फैसला कार्यान्वयन सम्बन्धी सफ्टवेयर’मा कैद, जरिवाना लगायतको लगत सजिलो गरी राख्न सकिने, फैसलाको लगत एकमुष्ट हेर्न सकिने, मुद्दामा भएको जफत सम्बन्धी विवरण राख्न सकिने लगायत सुविधा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्