दुई साताअघि अपहरण : फिरौती नबुझाउँदा दाजुभाइको हत्या

खबर खुराक
खबर खुराक ८ माघ २०७९, आईतवार
2 Min Read
Aa

जनकपुरधाम । जनकपुरधामका दुई युवक भारतमा मृतावस्थामा फेला परेका छन् । जनकपुरधाम उपमहानगरपालिकाका २१ वर्षीय रोहित साह र २२ वर्षीय विष्णु साहको शव भारतको सीतामढीको बेला थानास्थित पर्सामा फेला परेको हो ।

उनीहरूका शव खाल्डो खनी गाडिएको अवस्थामा फेला परेको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिए । उनका अनुसार दुई साताअघि उनीहरू अपहरणमा परेको भन्दै प्रहरीमा खबर गरिएको थियो ।

मृतकका परिवारले भारत पुगेर शव पहिचान गरेका छन् । उनीहरू दुवै एकै परिवारका हुन् । रोहित नातामा विष्णुको दाइ थिए ।

केही दिनअघि रोहित विष्णुलाई लिएर भारतको सीतामढीको बेला परिहारस्थित आफन्तको घरमा गएका थिए । त्यहीँबाट उनीहरू सम्पर्कविहीन भएका थिए ।

करिब दुई साताअघि सम्पर्कविहीन भएको केही दिनपछि फिरौती रकम माग गर्दै परिवारलाई फोन आएको मृतकका आफ्न्त देवनारायण साहले बताए । उनका अनुसार भारतीय नम्बरबाट फोन आएको थियो ।

अपहरणकारीले सुरुमा ५० लाख रुपैयाँ फिरौती मागेका थिए । पछि फिरौती रकम २० लाखसम्म बुझाउन दबाब दिएका थिए । परिवारले उनीहरूसँग कुरा गराउन भन्दा अपहरणकारीले मानेका थिएनन् ।

पछि अपहरणकारीले विष्णुको आवाज रेकर्ड गरेर उनको परिवारलाई पठाएका थिए । त्यसपछि विष्णुको परिवारले फिरौती रकम जोहो गर्दै प्रहरी र नेता गुहारेका थिए ।

फिरौती रकम बुझाउने भनिएपछि अपहरणकारीले सर्लाहीको मलंगवा नाकामा बोलाएका थिए । तर, बैंक बन्द भएका कारण पैसा झिक्न नपाउँदा एक दिन ढिलो हुन गएको आफ्न्त देवनारायण बताउँछन् ।

उनका अनुसार त्यसपछि अपहरणकारीको मोबाइल स्वीच अफ गरिएको थियो । त्यसको चार दिनपछि साहद्वयको को शव फेला परेको हो ।

प्रतिक्रिया दिनुहोस्