पोखरामा महिला तथा पुरुष भलिबल प्रतियोगिता आजदेखि

खबर खुराक
खबर खुराक ८ माघ २०७९, आईतवार
2 Min Read
Aa

पोखरा । पोखरामा आइतबारदेखि शुरु हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लव च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

नेपालको राष्ट्रिय खेल भलिबलको विकास गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्यसहित टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा प्रतियोगिता सञ्चालन हुनेछ ।

आयोजक टाइगर ग्रुपले आज पोखरा रङ्गशालामा पत्रकार सम्मेलन आयोजना नगरी प्रतियोगिताको सबै तयारी सकिएको जनाएको छ । प्रतियोगिताको उद्घाटन खेलमा महिलातर्फ न्यू डायमण्ड र नेपाल आर्मी भिड्ने टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।

उनका अनुसार आइतबार मध्याह्न पुरुषतर्फ त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एपिएफ क्लबका बीच खेल हुनेछ । तेस्रो खेल आयोजक पुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिसका बीच हुनेछ ।

प्रतियोगितामा महिलातर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, सशस्त्र प्रहरीको एपिएफ क्लब र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लबले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी पुरुषतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी, सेन्ट जोशेफ वाज स्पोर्टस् क्लब श्रीलङ्का, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, एपिएफ क्लब र आयोजक गण्डकी प्रदेशको टिमको सहभागिता रहने छ ।

प्रतियोगितालाई थप आकर्षक बनाउन र दर्शकलाई सहज खेल हेर्ने अवसर प्रदान गर्ने गरी यसपटक विशेष प्रकारको प्यारापिट निर्माण गरिएको र प्रतियोगितालाई अन्तर्राष्ट्रियस्तरको बनाउन ‘एलइडी स्क्रिन’ राखिएको अध्यक्ष शर्माले जानकारी दिए ।

उनले भने, “दर्शकहरूलाई सहज खेलको अवलोकन तथा मनोरञ्जन प्रदान गर्न अस्थायी प्यारापिट बनाएका छौँ । वृद्धवद्धाका लागि छुट्टै कुर्सीको व्यवस्था गर्नेछौँ ।”

आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशि दोब्बर बनाएकोे छ । महिला-पुरुष दुवैतर्फ च्याम्पियन टोलीलाई रु पाँच-पाँच लाख र उपविजेता टिमलाई समान नगद रु दुई लाख ५० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

तृतीय हुने टोलीलाई रु एक लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजारसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिता संयोजक देवेन्द्र केसीले दिए ।

महिला तथा पुरुषतर्फ उत्कृष्ट एक-एक खेलाडीले जनही समान नगद रु २५-२५ हजार प्राप्त गर्नेछन् । हरेक विद्याका उत्कृष्ट पाँच खेलाडी र प्रशिक्षकलाई रु दश-दश हजार र ट्रफीसहित सम्मान गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्