पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले विमानस्थल सञ्चालनसँगै उत्साहित भएका पर्यटन व्यवसायी माघ १ को घटनापछि भावात्मक र व्यावसायिकरुपमा समेत दुखी भएको बताउँछन् । उनले भने, “अहिले पोखराको पर्यटन क्षेत्र सुस्ताएको छ । पर्यटकीय सिजनका लागि बुकिङ गरिएका कतिपय होटलमा बुकिङ रद्द भइरहेका छन् ।” उनले हवाई उडान सुरक्षित, भरपर्दो र विश्वसनीय बनाउनुपर्ने साथै सडक पूर्वाधारमा पनि राज्यले विशेष ध्यान दिनुपर्ने बताए ।
होटल सङ्घ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले विमान दुर्घटना हुनु अघिल्लो दिनसम्म लेकसाइडका होटलमा ३०/४० प्रतिशत बुकिङ रहेको दुर्घटनापछि झरेर १०/१५ प्रतिशतमा पुगेको बताए । “ विस्तारै चलायमान हुँदै गरेको पर्यटन क्षेत्र जहाज दुर्घटनापछि पुनः सुस्ताएको छ । सडक पूर्वाधार राम्रो छैन त्यसैले अधिकांशले हवाईमार्ग प्रयोग गरेर घुम्न आउने गर्थे दुर्घटनासँगै हवाई मार्ग प्रयोग गर्न पर्यटक तयार देखिएका छैनन्”, उनले भने । उनका अनुसार लेकसाइड र ड्याम साइडमा पर्यटकीयस्तरका सात सय र पोखरा आसपास गरी १२ सय पर्यटकीयस्तरका होटल छन् ।
जहाज दुर्घटनाको असर पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा पनि देखिएको छ । सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले सङ्ग्रहालयमा दैनिक सिजनको बेला १५ सयदेखि दुई हजार आन्तरिक, बाह्य, विद्यार्थी अवलोकनका लागि आउने गरेको र सामान्य अवस्थामा पनि पाँचसयको हाराहारीमा आउने गरेको तथ्याङ्क अहिले घटेको जानकारी दिइन् । उनले बाह्य पर्यटक नआए पनि आन्तरिक पोखरा र आसपासबाट आउने विद्यार्थी एवं अन्य पर्यटक पनि नआएको उनको भनाइ छ ।
माघ १ मा काठमाडौँबाट पोखरा उडेको यति एयरलाइन्सको जहाज सेतीको खोंचमा दुर्घटना हुँदा जहाजमा सवार सबैको निधन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्