१३ माघ काठमाडौं । नेपाल प्रहरीको सर्भर ह्याक गरी लिक भएका संवेदनशील डेटाकाे लिङ्क बन्द भएकाे छ । बुधबार टेकपानाले प्रहरीको डेटा डार्क वेबमा उपलब्ध भएकाे समाचार प्रकाशित गरेपछि उक्त साइटकाे लिंक बन्द गराइएकाे प्रहरीले जनाएकाे छ ।
प्रहरी प्रधान कार्यालयका प्रवक्ता नायब प्रहरी महानिरीक्षक पोषराज पोखरेलले डेटा लिक भएका साइटको लिङ्क ‘डाउन’ पारिएको जानकारी दिए ।
“डेटा लिक भएका साइटहरू बन्द गरेका छौं,” उनले टेकपानासँग भने, “ह्याकरले विभिन्न साइटमा डेटा कपी गरेर राखेको हुनसक्ने भएकाले हाम्राे प्राविधिक टाेली अझै पनि यसमा काम गरिरहेकाे छ ।”
लिक भएको डेटा संवेदनशील नभएकाे उनले दाबी गरे ।
”प्रचारमा आएजस्तो ती डेटा संवेदनशील थिएनन् । दुरुपयोग हुने अवस्था थिएन,” उनले भने, ”जति लिक भएको देखिएको थियो, त्यो हामीले डाउन गरिसक्यौं ।”
गत सेप्टेम्बर २१ मा २.३४ जीबी फाइल साइजको प्रहरीको डेटा ‘ब्रिच फोरम’ र ‘हाइड्रा मार्केट’ गरी दुई डार्क वेब प्लेटफर्ममा भेटिएकाे थियाे ।
एक साइबर सुरक्षा जानकारका अनुसार नेपाल प्रहरीले आन्तरिक प्रयोजनका लागि ईमेलमा सञ्चार गरेका संवेदनशील विवरणसहितका डेटा ती प्लेटफर्ममा लिक भएकाे थियाे । यस्तो डेटाका माध्यमबाट नेपाल प्रहरीको नेटवर्कभित्र प्रवेश गर्ने र उक्त निकायको अन्य अकाउन्टमा फिसिङ आक्रमण हुनसक्ने सम्भावना रहेको उनकाे भनाइ थियाे ।
प्रतिक्रिया दिनुहोस्