पाल्पा, १३ माघ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका ४ विर्घामा रहेको मातृभूमि सामुदायिक पुस्तकालयको नवनिर्मित अत्याधुनिक भवनको उद्घाटन गरिएको छ ।
एक कार्यक्रमकाबीच पूर्व मन्त्रिपरिषद् अध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले बिहिबार उद्घाटन गर्नुभएको हो । सरस्वती पूजाको अवसर पारेर उद्घाटन गरिएको हो ।
भवनको उद्घाटन गर्दै रेग्मीले पढ्न पाउने मानिसको नैसर्गिक अधिकारको सम्मान गर्दै पुस्तकालयले यस क्षेत्रका आमजनताको चेतना वृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो । किताबमा लगानी गर्न नसक्नेका लागि ज्ञानमा पहुँच पु¥याउने काम सामुदायिक पुस्तकालयले गर्छ । विद्याको महत्व बुझ्नेले पुस्तकालयको सदुपयोग गर्ने उहाँले बताउनुभयो । यस पुस्तकालयलाई प्रयोग गरेर ज्ञानमा वृद्धि गरी असल र सक्षम नागरिक बन्न उहाँले आग्रह गर्नुभयो । यसलाई आधुनिक सूचना प्रविधिसँगै विकास गर्न रेग्मीले सुझाउनुभयो ।
पूर्व अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले अत्याधुनिक पुस्तकालय बनेकोमा खुशी व्यक्त गर्दै पुस्तकालय व्यवस्थापन र सञ्चालनका लागि प्रभावकारी ऐन कानुनको आवश्यकता रहेको बताउनुभयो ।
शान्ति भोलेन्टियर एशोसियसनका नेपाल निर्देशक हिरोको हागिहाराले नेपालका लागि जापानीज राजदुतको शुभकामना सन्देश सुनाउँदै आगामी दिनमा समेत पुस्तकालयसँग सहकार्य गर्न आफूहरु तयार रहेको बताउनुभयो ।
रिड नेपालका अध्यक्ष भोला श्रेष्ठले सबै उमेर समुहलाई लक्षित गरेर रिड मोडलमा बनाइएको हुँदा पुस्तकालयबाट सबै लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।
गण्डकी प्रदेशसभा सदस्य निर्मला थापा र कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले पुस्तकालयको थप विकास र व्यवस्थापनका निम्ति आफूहरुले अभिभावकीय भूमिका निर्वाह गर्ने बताउनुभयो ।
शिक्षा मन्त्रालयका उपसचिव यादवचन्द्र निरौला, किरण पुस्तकालयका अध्यक्ष शशी पन्थी, कालीगण्डकी गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष अध्यक्ष यादव प्रसाद पाण्डेय लगायतले शुभकामना दिनुभएको थियो ।
पुस्तकालय संञ्चालक समितिका अध्यक्ष राजेन्द्र पाण्डेको सभाध्यक्षमा भएको कार्यक्रममा पुस्तकालयको स्थापना, सञ्चालन र व्यवस्थापनमा योगदान पु¥याउने संस्थापक, पूर्व कार्यसमिति, वर्तमान कार्यसमिति, सल्लाहकार समिति र कर्मचारीलाई सम्मान गरिएको थियो ।
जापान सरकारको सहयोगमा शान्ति भोलेन्टियर एसोसियसन, रिड नेपाल र स्थानीय समुदायको संयोजनमा भवन निर्माण भएको हो । १ करोड ८१ लाख १८ हजार ९२९ रुपैयाँ ७० पैसा बराबरको लगानीमा भवन निर्माण भएको सचिव नारायण प्रसाद पाण्डेले बताउनुभयो । पुस्तकालय भवनमा पुस्तकालय कक्ष, वालकक्ष, महिला कक्ष, सूचनासंचार तथा प्रविधि कक्ष, श्रव्यदृश्य कक्ष, विपद् जोखिम न्यूनीकरण कक्ष, प्रौढ कक्ष र सामूदायिक सभाहल रहेको छ ।
पुस्तकालयका सल्लाहकार डिल्लीराज पाण्डेयले स्वागत गर्नुभएको कार्यक्रममा पुस्तकालयका सचिव नारायण पाण्डेयले पुस्तकालयको प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन गौरव पाण्डेले गर्नुभएको थियो ।
कार्यक्रममा पहिलो नेपाली तारा एवम् वरिष्ठ गायक दीपक लिम्बूको साङ्गीतिक प्रस्तुति रहेको थियो । साथै स्थानीय मगर समुदायको मौलिक संस्कृति झल्किने झाँकी तथा स्थानीय भजनकृतन समेत प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्