१६ माघ काठमाडौं :प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डबीच भेटवार्ता भएको छ। अमेरिकाको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री नुल्याण्डसहितको प्रतिनिधिमण्डल प्रचण्ड भेट्न सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेको हो। नुल्यान्डको टोलीमा नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन पनि सहभागी थिए।
भेटमा नेपाल-अमेरिका सम्बन्ध,दुई पक्षीय सहयोग र आपसी हितलगायत विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।
दुई दिने नेपाल भ्रमणका लागि उपविदेशमन्त्री नुल्यान्ड आइतबार साँझ काठमाडौं आइपुगेकी हुन्। उनले नेपालपछि भारत,श्रीलंका र कतारको भ्रमण गर्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि उपविदेशमन्त्री न्युलान्डले उपप्रधानमन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन,परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालसँग भेट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। यस्तै,कांग्रेस सभापति शेरबहादुर देउवा,एमाले अध्यक्ष केपी शर्मा ओली,एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटघाटको कार्यक्रम छ।
नेपालको संस्कृतिलगायत विषयमा पनि छलफल हुनेछ। उनले अमेरिकाले नियमित दिँदै आएको सहयोग यूएसएआईडी र नेपालले ती क्षेत्रमा गरेको प्रगतिका विषयमा पनि समीक्षा र अपडेट लिने जनाइएको छ। अमेरिकाले नेपालको पुनर्निर्माणमा गरेको सहयोग र ललितपुरको पाटनमा रहेका सांस्कृतिक सम्पदास्थलको अवलोकन गर्ने कार्यक्रम छ।
यसपटक अमेरिकी टोलीमा उपसहायक मन्त्री नेन्सी ज्याक्सन र अमेरिकी विदेश मन्त्रालयकी म्यारी फ्रेङ्गाकिस छन्। उनीहरू सोमबार भारत जाने तालिका छ। नुल्यान्ड सन् २०२१ अप्रिलदेखि अमेरिकी विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपमन्त्रीका रूपमा कार्यरत छिन्। त्यसअघि उनी वासिङ्टन डीसीमा रहेको विश्वव्यापी रणनीतिक सल्लाहकार र व्यावसायिक कूटनीति फर्म अबल्राइट स्टोनब्रिज समूहकी वरिष्ठ सल्लाहकार थिइन्।
प्रतिक्रिया दिनुहोस्