Ad imageAd image

१७ रक्सी पसल विभागको फन्दामा

खबर खुराक
खबर खुराक १६ माघ २०७९, सोमबार
3 Min Read
Aa

१६ माघ काठमाडौं आन्तरिक राजस्व विभागले गरेको अनुगमनमा देशभरका बजारमा अन्तःशुल्क छली गरेका रक्सी छ्यापछ्याप्ती पाइने खुलेको छ। विभागले गरेको अनुगमनमा देशका विभिन्न स्थानका मदिरा पसलले अन्तःशुल्क नतिरेको मदिरा बेच्ने गरेको पाइएको हो।

विभागका अनुसार डेढ दर्जन मदिरा पसलमा १८ लाख रुपैयाँ बराबरको राजस्व छली गरेको मदिरा पाइएको छ। ती मदिरा कुनैमा अन्तःशुल्क स्टिकर टाँसिएको छैन भने कुनैमा नक्कली स्टिकर टाँसिएको छ। अवैध उत्पादन र आयात भएका मदिरा पनि अनुगमनका क्रममा बरामद भएको विभागले जनाएको छ। विभागले मदिरासँगै नक्कली अन्तःशुल्क प्रयोग गरिएका सुर्तीजन्य पदार्थ पनि बरामद गरेको छ।

पाँचथर, झापा, काठमाडौं, ललितपुर र कास्कीका आन्तरिक राजस्व कार्यालयले गरेको अनुगमनमा १७ वटा पसलमा अन्तःशुल्क छलेका वस्तु पाएको हो। अन्तःशुल्क छलेको आरोपमा पसल सञ्चालकलाई थुनामा राखी अनुसन्धानको काम अघि बढाएको विभागले जनाएको छ।

विभागले अनुगमनको क्रममा फिदिमको दिपा एन्ड पवन स्टोर्सबाट १८ बोतल र एक क्वार्टर २५ युपीको सिक्किमे गोल्ड नाम गरेको मदिरा बरामद गरेको छ। यसैगरी दमकको जवानी कोल्ड सेन्टर र अपेक्षा कोल्ड सेन्टरबाट २–२ थान भारतीय ब्रान्डका मदिरा बरामद गरिएको छ। आन्तरिक राजस्व कार्यालय, दमकले सोमिया सप्लायर्सबाट बिल नभएका अन्तःशुल्क छलेको भारतीय ब्रान्डको दूधजन्य वस्तु पनि बरामद गरेको छ।

- Advertisement -
Ad image

भद्रपुरको रुद्र कोल्ड सेन्टरबाट ३ सय ८८ बोतल सिक्किमे रम बरामद हुँदा पसल सञ्चालक रुद्रबहादुर विष्टलाई गिरफ्तार गरी अनुसन्धान अघि बढाइएको छ। भद्रपुरकै झरना कोल्ड स्टोरमा ६७ बोतल र हिमाली कोल्ड सेन्टरमा १ सय ७१ बोतल सिक्किमे रम पाइएपछि सञ्चालकद्वय महेन्द्र बर्देवा र धनकुमार थुलुङ विभागको फन्दामा परेका छन्।

भद्रपुरकै पुरी किराना पसलबाट १८० किलो सुर्ती बरामद गरी सञ्चालक गंगाप्रसाद पुरी र स्तभ्य स्टोर्सबाट ५५ किलो खैनी बरामद गरी सञ्चालक भुवन कार्कीलाई गिरफ्तार गरिएको छ। पुरी किराना पसलबाट अन्तःशुल्क छलेका बिँडी पनि बरामद गरिएको छ।

राजधानीमा पनि बिल नभएको तथा अन्तःशुल्क नटाँसिएको मदिरा पाइएको छ। आन्तरिक राजस्व कार्यालय, महाराजगन्जको  अनुगमनले जिउ हिङ स्याङ होटल एन्ड रेस्टुरेन्टबाट १६ बोतल अवैध चिनियाँ मदिरा बरामद गर्यो। आन्तिरक राजस्व कार्यालय, ललितपुर–१ को अनुगमनबाट हान युयान कल्चर फुडमा किङहुवा फेन्जो नामको ४ र लुझाओ लाओजिआओ नामको साढे ६ बोतल चिनियाँ मदिरा पाइएको छ।

पोखराको म्याग्दी प्रोभिजन सपले विदेशी मदिरा कारोबारको अनुमति नलिइ बेचिरहेको अवस्थामा ४ बोतल रोबर्टसन वाइन, ३ बोतल ओल्ड मन्क, ३ बोतल पालासियो वाइन र १ बोतल रेड लेबल बरामद भएको छ। यसैगरी क्याप्टेन बास्तोला वाइन सपबाट स्टिकर नटाँसिएको १६ बोतल र ७६ क्वार्टर रोयल स्टाग तथा ७ बोतल ओल्ड मन्क बरामद गरिएको छ।

पोखराकै पञ्चकोसी वाइन हाउसबाट अन्तःशुल्क स्टिकर टाँस नगरेको ३ थान सुपर पावर ब्रान्डको सुर्ती र ११ क्वाटर रोयल स्टाग रक्सी बरामद भएको छ। पोखरामा सनिस हाउसबाट स्टिकर नटाँसेको २ बोतल रोयल स्टाग पनि बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस्