पाल्पा, १६ माघ । तानसेन नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई अपाङ्गता समावेशी विकासबारे तालिम दिइएको छ ।
द एसिया फाउण्डेसनको सहयोगमा अपाङ्ग महासंघ नेपालले उनीहरूलाई तालिम दिइएको हो । नेपाल नेत्रहिन संघका केन्द्रीय महासचिव शिशिर खनालले सहजीकरण गनुभएको थियो । अपाङ्गताको परिभाष वर्गिकरण, प्रकार र परिचयपत्र, अपाङ्गता सम्बन्धी अवधारणा तथा अवरोध, परिमार्जित अवधारणा, अपाङ्गता भएका व्यक्तिको अधिकार, समावेशी शिक्षाको अवधारण, दीगो विकासका लक्ष्य र अपाङ्गताका सवालमा स्थानीय तहको भूमिकाबारे उहाँले बताउनुभएको थियो ।
तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले स्थानीय तहमा बन्ने नीति नियम तर्जुमा गर्दा अपाङ्गता भएको व्यक्तिको अधिकारलाई प्रथामिकता दिने बताउनुभयो । उनीहरूको जिविकोपार्जमा सहयोग पुग्ने गरी बजेट तथा कार्यक्रमको व्यवस्था मिलाउने छु। कार्यालयको सेवा सुविधालाई अपाङ्गतामैत्री बनाउँदै लैजाने श्रेष्ठले प्रतवद्धता गर्नुभयो ।
अपाङ्गता भएका व्यक्तिलाई मानवमैत्री बनाउने गरी नगर सरकारले काम गर्ने उपप्रमुख प्रतीक्षा सिंजालीले बताउनुभयो । तानसेन नगरपालिकाले ब्रेल लिपिमा बजेट तथा कार्यक्रम पुस्तिका निकालेको छ । अपाङ्गता भएका व्यक्तिलाई नगरपालिकाको बजेट र कार्यक्रममा पहुँच पु¥याउन यसरी ब्रेल लिपिमा पुस्तिका छाप्ने काम गरेको उहाँले बताउनुभयो ।
वडा नम्बर ७ का वडाध्यक्ष तथा कार्यपालिका अन्तर्गत सामाजिक विकास समितिका संयोजक प्रदीप खनालले नगर भित्रका अपाङ्गता भएका व्यक्तिको तथ्यांक संकलन गरेर उनीहरूको अवस्था आधारमा कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
सृजनशील अपाङ्ग स्वावलम्बन केन्द्र तानसेका सन्दीप भट्टराईले अझैपनि स्थानीय सरकारले अपाङ्गता भएका व्यक्तिको हितमा प्रभावकारी कार्यक्रम सञ्चालन गर्न नसकेको बताउनुभयो । तानसेन नगरपालिकाले केही उदाहरणीय काम गर्न थालेको छ । सबै स्थानीय तहले अपाङ्गताको क्षेत्रमा काम गर्ने नीति निर्देशिका निर्माण गरेर अगाडि बढ्न आवश्यक रहेको उहाँले बताउनुभयो ।
द एसिया फाउण्डेसका लुम्बिनी प्रदेश संयोजक चुरामणी पोखरेलले आफूहरूले तानसेन नगरपालिकासँग सहकार्य गरेर अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा काम गर्दै आएको बताउनुभयो । द एसिया फाउण्डेसको सहयोगमा तानसेन नगरपालिका भित्रका अपाङ्गता भएका व्यक्तिको हितमा विगत केही वर्षदेखि रचनात्मक काम गर्दै आएको छ ।
दुइदिने कार्यक्रममा सिर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्रले समन्वय गरेको थियो । दुइ दिनसम्म चलेको तालिममा अपाङ्गता समन्वय समितिका सदस्यको पनि सहभागिता रहेको थियो ।
सोही अवसरमा अपाङ्गता भएका व्यक्तिको क्षेत्रमा काम गर्ने गरी तानसेन नगरपालिकाले भावी योजना तय गरेको छ ।
अपाङ्गता भएका व्यक्तिहरूको विश्लेषणात्मक अभिलेखिकरण गर्ने, नयाँ भौतिक संरचना बनाउँदा अपाङ्गमैत्री बनाउने, नगरपालिकामा कर्मचारी राख्दा अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिने, प्रत्येक आर्थिक वर्षका बजेट पुस्तिकालाई ब्रेल लिपि र ठूला छापामा प्रकाशन गर्ने कार्यलाई निरन्तरता दिने योजना तय गरेको छ ।
यस्तै जिविकोपार्जनका लागि अपाङ्गता भएका व्यक्ति र परिवारका लागि आर्थिक आयआर्जनसम्बन्धी कार्यक्रममा प्राथमिकता दिने, नगरपालिकाको कार्यालयमा सहायता कक्ष र सांकेतिक दोभासेको व्यवस्था गर्ने, सहायक सामग्री वितरण कार्यलाई निन्तरता दिने, अपाङ्गता भएका व्यक्तिलाई निशुल्क स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने गरी भावी योजना तय गरिएको नगरउपप्रमुख प्रतीक्षा सिंजालीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्