Ad imageAd image

राष्ट्रपति रनिङ शिल्ड सुरु

खबर खुराक
खबर खुराक १७ माघ २०७९, मंगलवार
1 Min Read
Aa

१७ माघ भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले पहिलो पटक राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु गरेको छ। प्रतियोगितामा तेक्वान्दो, उसु, एथलेटिक्स, कराते, भलिबल र कबड्डी खेल समावेश गरिएका छन्।

प्रतियोगितामा ३१ विद्यालयका दुई सय ८९ छात्र र एक सय ८९ छात्राको सहभागिता रहनेछ। राष्ट्रपति रनिङ शिल्डका संयोजक एवं नगरपालिकाका शिक्षा तथा खेलकुद शाखा प्रमुख वीरबहादुर खड्काले विभिन्न कारण यसअघि प्रतियोगिता हुन नसकेकोमा यस वर्षबाट सुरू गरिएको जानकारी दिए। बुधबारसम्म सञ्चालन हुने प्रतियोगिताका लागि नगर खेलकुद समिति, जिल्ला खेलकुद विकास समिति र राष्ट्रिय खेलकुद परिषद्ले सहयोग गरेको जनाइएको छ। खेलकुद विश्वको नयाँ आकर्षण बन्दै गरेको र खेलमार्फत पनि भविष्य बनाउन सकिने जनाउँदै खेलकुदमार्फत चाँगुनारायणको थप परिचय निर्माणका लागि नगरपालिकाले नीति तथा कार्यक्रममै खेलकुदलाई प्राथमिकता राखेको खड्काले बताए।

कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र दाहालले नगरपालिकाको प्रयासको सराहना गरे। उनले विद्यार्थीको सर्वांगिण विकासमा टेवा पुग्ने भएकाले खेलकुदलाई स्थानीय तहले मात्र नभई विद्यालयले समेत प्राथमिकता दिन सुझाव दिए। कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, नगरपालिकाका प्रवक्ता जनक खत्री, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रजित केसीलगायतले शुभकामना दिएका थिए।

प्रतिक्रिया दिनुहोस्