१७ माघ काठमाडौं: सेयर बजार निरन्तर ओरालो लागेको छ। साताको दुई दिन आइतबार र सोमबार निरन्तर घटेको सेयर बजारमा आज पनि दोहोरो अंकको गिरावट आएको हो।
कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक १४.६८ र सोमबार ४१.०१ अंकले ओरालो लागेको थियो।
यसदिन नेप्से परिसूचक १५.७० अंकले घटेर २१११.६८ विन्दुमा पुगेको छ।
२५९ कम्पनीको ७५ लाख ५३ हजार २३५ कित्ता सेयर २ अर्ब ८२ करोड ४५ लाख ४० हजार ४०६ रूपैयाँमा कारोबार भयो। अघिल्लो कारोबार दिन ३ अर्ब ३० करोडको सेयर किनबेच भएको थियो।
आज ५७ कम्पनीको मूल्य बढ्दा १४८ को मूल्य ओरालो लागेको हो। बाँकी ११ कम्पनीको मूल्य स्थिर रह्यो।
यस्तै सेन्सेटिभ इण्डेक्स २.३६ अंकले घटेर ४००.६२ मा अडिएको छ।
कारोबारमा आएका १३ उपसमूहमध्ये १२ को सूचक घटेको छ भने १ को मात्रै बढ्यो। इन्भेस्टमेन्ट,लाइफ इन्स्योरेन्स र माइक्रो फाइनान्सको सूचक १ प्रतिशत बढिले घट्यो। हाइड्रो पावरको भने ०.०२ प्रतिशतले सूचक बढेको हो।
आज एउटै मात्रै कम्पनीको मूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भयो। आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको हो।
यसदिन कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको १९ करोड बढि मूल्यको सेयर किनबेच भयो।
यस्तै लुम्बिनी जनरलको १४ करोड र गुराँस लाइफ इन्स्योरेन्सको ७ करोड मूल्य बराबरको सेयर खरिदबिक्री भयो।
प्रतिक्रिया दिनुहोस्