१८ माघ काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गृह मन्त्रालयबारे यसअघिको सहमति कायम हुनुपर्ने बताएका छन् । बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा भएको भेटवार्ताका क्रममा उनले रवि लामिछानेलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न दबाब दिएको स्रोतले जनाएको छ ।
“गृहमन्त्रीमा पूर्वसहमति कायम हुनुपर्छ । रवि लामिछानेलाई गृहमन्त्री बनाउनुपर्यो भन्ने कुरा राख्नुभएको छ,” स्रोतले भन्यो ।
सर्वोच्च अदालतको फैसलापछि पद गुमाएका लामिछाने पुनः गृहमन्त्री बन्नका लागि प्रयासरत छन् । उनले हिजो प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीसित छुट्टाछुट्टै भेटेका थिए ।
सत्ता गठबन्धनलाई अघि बढाउन ओली राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई तत्काल गृहमन्त्री बनाउनुपर्ने पक्षमा छन् । प्रधानमन्त्री प्रचण्डले सर्वोच्चको फैसलाको पूर्णपाठ नआउँदासम्म गृहमन्त्री आफैँसँग राख्ने बताइसकेका छन् ।
स्रोतका अनुसार प्रचण्ड–ओलीबीच आजको भेटवार्तामा राष्ट्रपति पदको निर्वाचनका विषयमा पनि छलफल भएको थियो । ओलीभन्दा अगाडि आजै बिहान प्रधानमन्त्रीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले भेटवार्ता गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्