१९ माघ काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दैछ। बैठक अपराह्न चार बजेलाई बोलाइएको महासचिव देव गुरुङले बताए।
गुरुङले अन्नपूर्णसँग भने, ‘आज संसद सचिवालयले सांसदका लागि अभिमुखीकरण कार्यक्रम राखेको रहेछ। त्यो कार्यक्रम सकिए लगत्तै स्थायी कमिटी बैठक बस्छ। अभिमुखीकरण कार्यक्रम ४ बजेसम्म भएकाले त्यसपछि पार्टी कार्यालयमा बस्नेगरी स्थायी कमिटी बैठक डाकिएको छ।’
बैठकमा पार्टीक आन्तरिक गतिविधि, संगठन सुदृढीकरणलगायतका विषयमा छलफल हुने गुरुङले बताए।
स्थायी कमिटी सदस्य पम्फा भुसालले पनि बैठक पार्टी र संगठनलाई मजबुद बनाउन केन्द्रित हुने बताइन्। अन्नपूर्णसँग भुसालले भनिन्, ‘बैठक पार्टीको आन्तरिक गतिविधि, संगठन सुदृढीकरणलगायतका विषयमा केन्द्रित हुन्छ। बाँकी स्थायी कमिटी सदस्यहरूले उठाएका विषयलाई पनि सम्बोधन गर्ने काम हुन्छ।’
यसअघि बुधबारलाई बोलाइएको स्थायी कमिटीको बैठक आन्तरिक गृहकार्य नपुगेको भन्दै आजसम्मलाई स्थगित गरिएको थियो। माओवादी केन्द्रले पार्टीका नेताको कार्यविभाजन, जिम्मेवारी हेरफेर, सरकारमा पार्टीको भूमिका लगायतका विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको हो।
मंगलबारको पदाधिकारी बैठकले नेताको जिम्मेवारी बाँडफाँटको जिम्मा अध्यक्ष, उपाध्यक्षलाई दिने निर्णय गरेको थियो।
महासचिव देव गुरुङ नेतृत्वको कार्यदलले नेताको कार्यविभाजन गर्ने जिम्मेवारी पाएको थियो। कार्यदलले नीतिगत विषय मात्रै राखेर प्रतिवदेन तयार पारेकाले त्यसबारे ठोस निर्णयको अधिकार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपध्यक्ष कृष्णबहादुर महरालाई दिइएको छ।
प्रतिक्रिया दिनुहोस्