२३ माघ काठमाडौं । नेपाल प्रहरीमा चारजना एआईजीको दरबन्दी विगत केही महिनायता रिक्त छ । तर सरकारले बढुवा प्रक्रिया अगाडी बढाएको छैन ।
प्रहरीमा हाल जनपदतर्फ आठजना एआईजीको दरबन्दी कायम छ । अहिलेका डीआईजीमध्ये एआईजी हुने ब्याचका अधिकारी नै आगामी चैतमा प्रहरीको कमाण्ड सम्हाल्नेछन् ।
अहिले बढुवा गर्दा ब्याचका केही व्यक्तिबीच मात्रै प्रतिस्प्रर्धा हुने भएकाले पनि ढिलो गरी एआईजी बढुवा गर्ने तयारी भएको बताइन्छ । तर सरकारको यो कदमबाट बढुवा सुुचीमा रहेका डीआईजीहरु असन्तुष्ट देखिन्छन् ।
नियमित समयमा बढुवा नगरेर प्रहरी नियमावली मिचिएको छ । नियमावलीमा तीन महिनाभन्दा बढी रिक्त गर्न नहुने व्यवस्था छ । प्रहरीमा साउनदेखि नै एआईजी दरबन्दी रिक्त छ ।
हालका आईजीपी धीरजप्रताप सिंहका ब्याची एआईजीहरु विश्वराज पोखरेल, मुकुन्द आचार्य, अरुण बीसी, रविन्द्रबहादुर धानुक उमेर हदका कारण अवकाश पाइसकेका छन् । उनीहरुको स्थानमा अरुलाई बढुवा गरिएको छैन् ।
बहालवाला एआईजी पूजा सिंहले फागुनमा अवकाश पाउने छन् भने सहकुल थापा, उत्तमराज सुवेदी र दिवेश लोहनीले आगामी चैत १२मा आईजीपी धीरजप्रताप सिंहसंगै अवकाश पाउनेछन् ।
हाल आईजीपीका ब्याची नलप्रसाद उपाध्याय, मोहन आचार्य र मसाउद आलम खाँ डीआईजी छन् । यसबाहेक अन्य जुनयर ब्याचका छन् । जनपदतर्फ २० जना डीआईजीको दरबन्दी कायम छ । सबै डीआईजीहरु एआईजी बन्ने दौडमा छन् ।
आईजीपीका ब्याची डीआईजीहरु एआईजी बनेपनि उनीहरु आईजीपी बन्न पाउने छैनन् । आईजीपी सिंहसंगै उनीहरु अवकाशमा जानेछन् ।
यस्तोमा जुनयर ब्याचका डीआईजी एआईजी बन्न सके आगामी चैतमा आईजीपी बन्ने सम्भावना बलियो हुनेछ ।
डीआईजीहरु बसन्त कुँवर, टेकप्रसाद राई, अशोक सिंह, दीपक थापा, श्यामलाल ज्ञवाली, उमेशराज जोशी, रामदत्त जोशी, दुर्गा सिंह, किरण बज्राचार्य, सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी, टेकबहादुर तामाङ, भीमप्रसाद ढकाल, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, किरण राणा एआईजीको दौडमा छन् । उनीहरुमध्ये एकजना प्रहरीको भावि आईजीपी बन्ने निश्चित छ ।
प्रतिक्रिया दिनुहोस्