Ad imageAd image

मनोज पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद सजाय

खबर खुराक
खबर खुराक २३ माघ २०७९, सोमबार
3 Min Read
Aa

२३ माघ काठमाडौं । जिल्ला अदालत काठमाडौंले मानव बेचबिखनको मुद्दा लागेका मोडल ग्लोबल भिजाज कन्सल्टेन्सीका सञ्चालक मनोज पाण्डेलाई ७ वर्ष कैद सजाय सुनाएको छ।

न्यायाधीश दीपक ढकालको इजलासले सात वर्ष कैद सजाय र पीडितलाई ७५ हजार क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।

पाण्डेमाथि आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको थियो। पाण्डे त्यो बेला सौन्दर्य प्रतियोगिता गरेको मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन्। त्यतिबेला उनले किशोरी बलात्कार गरेको आरोपमा अहिले आएर मुद्दा दर्ता गर्न कानुनी अड्चन थियो। बलात्कार घटनाको उजुरी  १ वर्ष भित्रै दिनुपर्ने कानुन भएकाले आठ वर्षपछि बाहिर आएको यो घटनामा बलात्कार मुद्दा चलाउन मिलेको थिएन।

त्यसपछि  सरकारी वकिलले मानव बेचविखन र बाल यौन दुर्व्यवहारमा मुद्दा चलाएको थियो। यो घटनापछि बलात्कारका घटना उजुरी दर्ता गर्ने हदम्याद हटाउनुपर्ने माग उठेको थियो। व्यवस्थापिका संसदले बलात्कारमा उजुरी गर्ने म्याद बढाएर २ वर्ष पुर्याएको छ।

- Advertisement -
Ad image

पाण्डेले मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई आमाबुवाको अनुमतिबिना एउटा ठाउँ भनी अर्को ठाउँ बोलाएर बलात्कार गरेको र अरूलाई समेत बलात्कार गर्न लगाएको भन्दै सरकारी वकिलले मानव बेचबिखन र बाल यौन दुराचार  मुद्दा लगाएको थियो।

प्रहरीले जेठ ७ गते स्वयम्भुबाट पाण्डेलाई पक्राउ गरेको थियो। उनी अहिले पनि पुर्पक्षका लागि थुनामै छन्।

जिल्ला परिसर काठमाडौंले अनुसन्धान सकेर गएको जेठ २७ गते आफ्नो प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। पाण्डेद्वारा सञ्चालित मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीले विद्यार्थीहरूलाई विदेश पठाउने र मिस नेपालजस्ता सुन्दरी प्रतियोगिता तथा कार्यक्रम आयोजना गर्छ।

मिस ग्लोबल पनि यही कन्सल्टेन्सीले आयोजना गरेको हो।

मिस ग्लोबल प्रतियोगितामा आफू छानिएपछि आयोजक कन्सल्टेन्सीका सञ्चालक पाण्डेले आफूलाई सफलताको पार्टीका लागि बानेश्वरस्थित एभरेस्ट होटलमा बोलाएको युवतीले बताएकी थिइन्।

आफू त्यहाँ पुग्दा सञ्चालकबाहेक कोही नभएको उनले भनेकी थिइन्।

उनका अनुसार, किन कोही नभएको भनेर सोध्दा ती सञ्चालकले ‘तिमी अलि छिटो आयौ, एकछिन बस, पाँच-छ बजेबाट पार्टी सुरू हुन्छ’ भनेका थिए।

एकछिन बसेपछि उनले किशोरीलाई लेमोनेड खान दिए। त्यसपछि कोठामा लगेर बलात्कार गरेको उनले भनेकी थिइन्। घटनाबारे कसैलाई बताए फोटो र भिडिओ सार्वजनिक गरिदिन्छु भनेर धम्क्याएको उनले बताएकी थिइन्।

पाण्डेलाई सरकारी वकिलले १० देखि १५ वर्ष कैद सजाय र ५० हजारदेखि १ लाख रूपैयाँ क्षतिपूर्ति माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो।

प्रतिक्रिया दिनुहोस्